काठमाडौँ ।
भारतीय स्ट्यान्डअप कमेडियन तथा डिजिटल कन्टेन्ट क्रिएटर समय रैनाले युट्युबमा नयाँ कीर्तिमान बनाएका छन्। युट्युबमा पैसा तिरेर सदस्यता लिने दर्शकको संख्या १० लाख पुर्याउँदै उनी यस्तो उपलब्धि हासिल गर्ने पहिलो युट्युबर बनेका छन्।
रैनाको यो सफलता सामान्य सब्सक्राइबर संख्याभन्दा फरक छ। युट्युबमा निःशुल्क सब्सक्राइब गर्ने दर्शकबाहेक मासिक शुल्क तिरेर च्यानलको विशेष सदस्य बन्ने दर्शकको संख्या १० लाख नाघेको हो। उनको च्यानलको सदस्यता लिन दर्शकले मासिक ५९ भारतीय रुपैयाँदेखि शुल्क तिर्नुपर्ने व्यवस्था छ।
स्ट्यान्डअप कमेडी र अनौठा प्रस्तुतीकरणका कारण चर्चामा आएका रैनाले ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रमबाट थप लोकप्रियता कमाएका थिए। उक्त कार्यक्रममार्फत उनले विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूलाई सहभागी गराउँदै हास्य तथा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गरेका थिए।
सन् २०२५ मा उक्त कार्यक्रमसँग जोडिएको विवादका कारण उनी चर्चामा आएका थिए। कार्यक्रममा सहभागी एक अतिथिको आपत्तिजनक टिप्पणीपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि रैनाले कार्यक्रमका पुराना एपिसोड हटाउँदै सार्वजनिक रूपमा माफी मागेका थिए।
विवादका बाबजुद दर्शकसँगको सम्बन्ध कायम राख्न सफल रैनाको पछिल्लो उपलब्धिलाई डिजिटल मनोरञ्जन क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले युट्युबमा दर्शकको संख्या मात्र नभई सामग्री मन पराएर आर्थिक सहयोग गर्ने सदस्यको संख्या पनि सिर्जनाकर्ताका लागि आम्दानीको महत्वपूर्ण आधार बन्दै गएको देखाएको छ।
युट्युबको सशुल्क सदस्यता प्रणालीले सिर्जनाकर्तालाई नियमित आम्दानीको अवसर दिन्छ भने सदस्यहरूले विशेष सामग्री तथा अन्य सुविधा प्राप्त गर्न सक्छन्।








तपाईंको विचार लेख्नुहोस्