लमजुङ।
बेसीशहर नगरकप फुटबल प्रतियोगितामा १३ वर्षमुनिका (U-13) दुई खेलाडीको सहभागिताले स्थानीय फुटबलमा नयाँ पुस्ताको सम्भावना उजागर गरेको छ । उमेरले सानै भए पनि ईशान बानियाँ र कपिल गुरुङले नगरकपमा वडाको प्रतिनिधित्व गर्दै अग्रज खेलाडीसँग प्रतिस्पर्धा गरेका हुन् ।
बेसीशहर नगरपालिका–७ बाट ईशान र वडा नं. ८ बाट कपिलले प्रतियोगितामा सहभागिता जनाएका हुन् । दुवैका लागि नगरकप पहिलो अनुभव हो । यसअघि उनीहरु विद्यालयस्तरीय प्रतियोगिता, प्याब्सनका जिल्ला तहका प्रतियोगिता, अन्डर–१३ फुटबल प्रतियोगिता तथा फुटसल प्रतियोगितामा सहभागी हुँदै आएका थिए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठका अनुसार उदाएमान र अग्रज खेलाडी एउटै मैदानमा उत्रिनु गौरवको विषय हो । यसले नयाँ पुस्ताका खेलाडीलाई अनुभवी खेलाडीसँग खेल्ने र उनीहरुबाट अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको उनले बताए ।
प्रतियोगितामा ११ वटै वडाका खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये ४७ वर्ष उमेरसम्मका खेलाडीसमेत मैदानमा उत्रिएका थिए । विभिन्न उमेर समूहका खेलाडीबीचको सहभागिताले नगरकपलाई प्रतिस्पर्धासँगै पुस्ताबीचको अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रुपमा स्थापित गरेको छ ।
राष्ट्रियस्तरको त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना हुँदै आएको बेसीशहरमा स्थानीय खेलाडी उत्पादन र उनीहरुलाई समेटेर प्रतिस्पर्धात्मक टोली निर्माण गर्नु चुनौतीका रुपमा रहेको त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजंग गुरुङले भनाई छ । त्रिवेणी रंगशालासहित फुटबलको पहिचान बोकेको नगरमा स्थानीय प्रतिभाको पहिचान, विकास र संरक्षणमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
नगरकपमा ईशान र कपिलको सहभागिताले बाल खेलाडीलाई सानै उमेरदेखि ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर दिनुपर्ने सन्देशसमेत दिएको छ । स्थानीय तह, जिल्ला तथा नगर खेलकुद समिति र खेलकुदसँग सम्बन्धित सरोकारवालाले नियमित प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न सके स्थानीयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्न सकिने सम्भावना छ ।
राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने बेसीशहरले आफ्नै नगरका खेलाडीलाई पनि राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यसहित खेलकुद विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । नगरकपमा देखिएको नयाँ पुस्ताको सहभागिताले त्यसतर्फको सम्भावनालाई थप उजागर गरेको छ ।








तपाईंको विचार लेख्नुहोस्