काठमाडौं ।
खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका भूषण ठाकरे अहिले करोडपति बनेका छन्। महाराष्ट्रका २८ वर्षीय उनले ‘कौन बनेगा करोडपति’ कार्यक्रममा एक करोड रुपैयाँ जित्दै आफ्नो मात्रै होइन, वर्षौंदेखि संघर्षरत परिवारको जीवनमा समेत नयाँ आशा जगाएका छन्।
महाराष्ट्रको जलगाउँ जिल्लास्थित बलवाडी गाउँका भूषणले केबीसीको मञ्चमा एक करोड रुपैयाँ जितेका हुन्। संघीय लोकसेवा आयोग (यूपीएससी) परीक्षाको तयारी गरिरहेका उनले सात करोड रुपैयाँको अन्तिम प्रश्नको सामना गर्नुभन्दा एक करोड रुपैयाँ लिएर खेलबाट बाहिरिने निर्णय गरेका थिए।
रोचक कुरा के छ भने, पछि उनले सात करोडको प्रश्नको उत्तरबारे गरेको अनुमान सही रहेको थाहा पाए। तर, एक करोड रुपैयाँ जितेकोमा आफूलाई कुनै पछुतो नरहेको उनी बताउँछन्।
बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा भूषणले भनेका छन्, ‘केबीसीले मलाई एक करोड रुपैयाँ जित्ने अवसर दिएको छ। मेरो लागि यो नै पर्याप्त छ। यो रकमले मेरो र मेरो परिवारको जीवन परिवर्तन गर्न सक्छ।’
उनको यो जित केवल आर्थिक सफलतामा सीमित छैन। वर्षौंदेखि मजदुरी गरेर परिवार पाल्दै आएका बुबाआमालाई अब सुखसँग जीवन बिताउने वातावरण बनाउनु उनको मुख्य उद्देश्य बनेको छ।
आमाले छोराको पढाइका लागि गहना बेचिन्
भूषणको परिवारमा उनका आमाबुबा, उनी र कान्छो भाइ गरी चार सदस्य छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनका बुबा सानै उमेरदेखि मजदुरी गर्दै आउनुभएको थियो। परिवार भूमिहीन मजदुरका रूपमा काम गरेर जीविकोपार्जन गर्दै आएको थियो।
भूषणले गाउँकै सरकारी विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरे। त्यसपछि जलगाउँस्थित सरकारी शैक्षिक संस्थाबाट उच्च शिक्षा हासिल गरे। उनले इतिहासमा स्नातकोत्तर गरेका छन् भने हाल राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै यूपीएससी परीक्षाको तयारी गरिरहेका छन्।
उनकी आमाले छोराको पढाइ खर्च जुटाउन घरखर्चबाट थोरैथोरै रकम बचत गरेर सुनका गहना किन्ने र आवश्यक पर्दा ती गहना बेचेर पढाइका लागि पैसा जुटाउने गर्नुहुन्थ्यो।
भूषणका अनुसार आमाले कहिले एक ग्राम, कहिले दुई ग्राम त कहिले तीन ग्राम सुन जम्मा गर्नुहुन्थ्यो। तर, छोराको पढाइका लागि पैसा आवश्यक पर्दा त्यही गहना बेच्नुपर्थ्यो।
उनकी आमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ। उहाँको आठदेखि नौ पटकसम्म शल्यक्रिया भइसकेको छ। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार र घरखर्च व्यवस्थापन गर्न पनि निकै कठिन थियो।
एक करोड रुपैयाँ जितेपछि भूषणको पहिलो प्राथमिकता आमाका लागि गहना किनिदिनु रहेको छ। आफूलाई पढाउन आमाले बेचेका गहना फिर्ता गरिदिने उनको चाहना छ।
‘अब मैले आमाले गरेको त्यागको ऋण ब्याजसहित फिर्ता गर्ने समय आएको छ,’ उनले भनेका छन्।
खल्तीमा २४ रुपैयाँ लिएर मुम्बई पुगे, फर्किँदा १ करोड २४ को मालिक
केबीसीको यात्राबारे भूषणले सुनाएको एउटा प्रसंग झनै रोचक छ। कार्यक्रमको छनोटका लागि मुम्बई जानुपर्ने जानकारी पाउँदा उनको खल्तीमा जम्मा २४ रुपैयाँ मात्र थियो।
तर, केबीसीको आयोजक टोलीले प्रतियोगीको यात्रा तथा बसोबास खर्च व्यवस्थापन गर्ने भएकाले उनलाई मुम्बई पुग्न आर्थिक समस्या भएन।
कार्यक्रममा एक करोड रुपैयाँ जितेपछि उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म मुम्बई जाँदा मेरो खल्तीमा २४ रुपैयाँ थियो, तर फर्किंदा मेरो खल्तीमा एक करोड २४ रुपैयाँ थियो।’
उनका लागि यो रकम केवल पैसाको हिसाब मात्र नभएर वर्षौंदेखिको संघर्षपछि आएको जीवनकै ठूलो परिवर्तनको प्रतीक बनेको छ।
अमिताभ बच्चनलाई अगाडि देख्दा काँपेका थिए भूषण
सानो गाउँमा हुर्किएका भूषणका लागि केबीसीको मञ्चमा पुग्नु र महानायक अमिताभ बच्चनको अगाडि बस्नु आफैँमा ठूलो सपना थियो।
करिब दुई हजार जनसंख्या भएको गाउँमा हुर्किएका उनी ठूला सहरमा धेरै समय बिताएका थिएनन्। आफू केही अन्तर्मुखी स्वभावको भएकाले अमिताभ बच्चनलाई अगाडि देख्दा निकै डर लागेको उनले बताएका छन्।
उनका अनुसार त्यतिबेला मुटुको धड्कन बढेको थियो, खुट्टा काँपिरहेका थिए र पसिनासमेत आएको थियो।
तर, अमिताभ बच्चनले प्रतियोगीहरूसँग सहज वातावरणमा कुराकानी गर्दै उनीहरूको डर कम गरिदिने भएकाले आफू विस्तारै सहज भएको भूषणको भनाइ छ।
२०१६ देखि देखेको सपना २०२६ मा पूरा
भूषणका लागि केबीसीमा पुग्नु आकस्मिक सफलता थिएन। उनले सन् २०१६ देखि नै उक्त कार्यक्रममा सहभागी हुने सपना देखेका थिए।
१८ वर्षको उमेरमा पहिलोपटक केबीसीका लागि आवेदन दिएका उनले सन् २०१६ देखि २०२० सम्म हरेक वर्ष आवेदन दिए। तर, सुरुका वर्षमा अडिसनका लागि समेत बोलाइएन।
सन् २०२१ देखि भने उनी हरेक वर्ष अडिसनका लागि छनोट हुन थाले। विभिन्न चरणका अन्तर्वार्ता दिए पनि अन्तिम प्रतिस्पर्धी बन्न सकेका थिएनन्। करिब एक दशकको निरन्तर प्रयासपछि सन् २०२६ मा उनको सपना पूरा भयो।
बाल्यकालमा आमाबुबासँगै टेलिभिजनमा केबीसी हेर्ने गरेका भूषणलाई कार्यक्रममा सोधिने प्रश्नहरूको उत्तर दिन निकै रुचि थियो। छोराको ज्ञान देखेर उनका आमाबुबाले एक दिन आफ्नो छोरा पनि अमिताभ बच्चनको अगाडि पुग्ने सपना देख्नुभएको थियो।
अन्ततः त्यो सपना साकार भएको छ।
अब आमाबुबालाई मजदुरी गर्न नदिने संकल्प
भूषणका बुबा अहिले ५५ वर्षका हुनुहुन्छ। उहाँले पाँच वर्षको उमेरदेखि नै मजदुरी गर्न थाल्नुभएको थियो। जीवनभर श्रम गरेर परिवार पाल्नुभएका बुबाआमालाई अब आरामदायी जीवन दिन चाहेको भूषण बताउँछन्।
‘अबदेखि म उहाँहरूलाई कडा मेहनत गरेर काम गर्न दिने छैन,’ उनले भनेका छन्।
हाल उनी यूपीएससीको तयारीका लागि परिवारबाट टाढा भुसावलस्थित छात्रावासमा बस्दै आएका छन्। राम्रो सहरमा गएर सुविधासम्पन्न कोचिङ संस्थाबाट तयारीलाई निरन्तरता दिने उनको योजना छ।
एक समय पढाइमा आएको अवरोध र आर्थिक कठिनाइका कारण आफू परिवारमाथि बोझ बनेको महसुस गरेको पनि उनले बताएका छन्। आमाको स्वास्थ्य बिग्रँदा समेत उपचारमा सहयोग गर्न नसक्दा आफूले निकै पीडा महसुस गरेको उनको भनाइ छ।
एक करोड रुपैयाँको जितले अब परिवारको आर्थिक अवस्था सुधार्ने र आफ्नो भविष्य निर्माण गर्ने बाटो खुलेको उनको विश्वास छ।
‘सपना देख्न नछोड्नुहोस्, निरन्तर प्रयास गर्नुहोस्’
भूषणको सफलताले अहिले उनको गाउँमा खुसीयाली छाएको छ। उनी गाउँ फर्किने तयारीमा छन् र स्थानीयवासीले उनको स्वागतको तयारी गरिरहेका छन्।
आफ्नो विगतको संघर्ष सम्झिँदै उनले आफूलाई विगतको भूषणसँग भेट्ने अवसर मिले ‘तिमीले यो गरेर देखायौ, हार नमान, एक दिन अवश्य सफल हुनेछौ’ भन्ने सन्देश दिने बताएका छन्।
संघर्ष गरिरहेका युवाहरूलाई पनि उनले सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर प्रयास गरिरहन आग्रह गरेका छन्।
‘अमिताभ बच्चनको अगाडि बस्ने र एक करोड रुपैयाँ जित्ने मेरो सपना सन् २०१६ देखि नै थियो। आठ–दस दिनअघिसम्म पनि यो मेरो क्षमताभन्दा बाहिरको कुरा जस्तो लाग्थ्यो। तर आज मैले त्यो सपना पूरा गरेको छु,’ उनले भनेका छन्।
भूषणको कथा एउटा सामान्य परिवारको युवाले निरन्तर प्रयास, धैर्य र आत्मविश्वासका साथ आफ्नो सपना पूरा गर्न सक्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।








तपाईंको विचार लेख्नुहोस्