काठमाडौं।
राइजिङ स्टार्स एसिया कपमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ ।
आइतबार सम्पन्न खेलमा यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरे । उनले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतले ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै मयन यादवले २७ रन बनाउँदा बसिर अहमद १८ रनमा अविजित रहे ।
यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिए भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । यूएईका मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रीत सिंह भाटियाले ३२ रनको योगदान दिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ११ रन मात्र खर्चिएर तीन विकेट लिए । उनले तीन मेडन ओभरसमेत फाले । कुशल भुर्तेलले पनि तीन विकेट लिए । त्यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ विरुद्ध नेपाल ३०६ रनले पराजित भएको थियो । उक्त खेलमा नेपाली टोली २६ रनमै समेटिएको थियो ।
प्रतियोगितामा पहिलो जित निकालेको नेपालले अब मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।








तपाईंको विचार लेख्नुहोस्