स्याङ्जा।
गाउँका युवा तथा सक्रिय जनशक्ति शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा सहर पस्ने क्रम बढिरहेका बेला स्याङ्जाको चापाकोट नगरपालिका–६, मोहमीका ६३ वर्षीय जीवनविक्रम शाह (राजा) भने काठमाडौँको सुविधा सम्पन्न जीवन त्यागेर गाउँमै कृषि उद्यममा रमाउनुभएको छ । काठमाडौँको बालुवाटारस्थित घर छाडेर गाउँ फर्किनुभएका शाह अहिले एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फलफूल खेती गर्दै आउनुभएको छ । ढुंगामाटोले बनेका र जस्तापाताले छाएका घर, घरआँगनमा हरियो दुबो, वरिपरि फुलेका रंगीचंगी फूल तथा फलफूलका बोटबिरुवा, माहुरीको भुनभुन आवाज, माथि हरियाली पहाड र तल कलकल बगिरहेको कालीगण्डकी नदी । बीचमा फैलिएको समथर फाँटले मोहमी गाउँलाई प्राकृतिक सुन्दरताले भरिएको स्थानका रुपमा चिनाउँछ । यही सुन्दर वातावरणमा शाहले आफ्नो अधिकांश समय बगैँचाको स्याहार, खेती व्यवस्थापन र उत्पादनको बजारीकरणमा बिताउँदै आउनुभएको छ ।
उहाँलाई कृषि कर्ममा श्रीमती मुन शाहले पनि उत्तिकै साथ दिइरहनुभएको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडीसमेत रहनुभएकी मुनले श्रीमान्को कृषि उद्यममा सहयोग गर्दै आउनुभएको छ । शाहका अनुसार उहाँका जर्मनीबाट ट्रान्सपोर्ट इन्जिनियरिङ उत्तीर्ण छोराले समेत काठमाडौँको सुविधाभन्दा गाउँमै बसेर कृषि कर्मलाई अघि बढाउन प्रेरित गरिरहनुभएको छ । छोराबाट आवश्यक सहयोग र हौसला प्राप्त भइरहेकाले आफूलाई गाउँको जीवनशैली झन् रमाइलो लाग्न थालेको उहाँ बताउनुहुन्छ ।
शाहको परिवारको मोहमीसँग लामो ऐतिहासिक सम्बन्ध छ । विसं १९०३ असोज २ गते काठमाडौँको हनुमानढोका दरबार परिसरमा भएको कोतपर्वपछि उहाँका बुबाका जिजुबुबाहरु विसं १९१३ देखि यसै क्षेत्रमा बसोबास गर्दै आएका हुन् । अध्ययनका लागि विसं २०३३ मा चापाकोटबाट काठमाडौं गएका शाहले लामो समय राजधानीमै बिताउनुभयो । तर विसं २०७५ देखि उहाँ पुनः पुख्र्यौली थलो फर्किएर कृषि व्यवसायमा सक्रिय हुनुभएको छ । कुनै समय चौतरिया भत्ता प्राप्त गर्ने भएकाले ‘राजा’ उपनामले परिचित शाहले विसं २०६२÷६३ सम्म उक्त भत्ता पाउँदै आएको बताउनुहुन्छ । देशमा गणतन्त्र स्थापना भएपछि सरकारले भत्ता दिन बन्द गरेको उहाँको भनाइ छ । विगतमा एक जिल्लाबाट अर्को जिल्लामा जाँदासमेत विशेष सम्मान पाउने शाह विसं २०५४ मा इलाका अध्यक्ष र विसं २०५८ मा जिल्ला विकास समिति स्याङ्जाको सदस्यसमेत हुनुभएको थियो ।
धनकुटाको कृषि देखेर गाउँ फर्किने प्रेरणा
काठमाडौँको व्यस्त जीवन छाडेर कृषि व्यवसायमा लाग्ने सोच शाहमा धनकुटाको भ्रमणपछि विकसित भएको हो । विसं २०७५ मा धनकुटा पुगेर करिब १५ दिन बिताउँदा त्यहाँ भइरहेको व्यावसायिक कृषि अभ्यासले उहाँलाई प्रभावित बनायो । त्यसपछि पुख्र्यौली गाउँ फर्किएर कृषिलाई नै मुख्य कर्म बनाउने निर्णय गर्नुभयो, शाह भन्नुहुन्छ, “म धनकुटा गएको थिएँ । त्यहाँको व्यावसायिक कृषि देखेर लोभ लाग्यो । त्यसपछि काठमाडौं छाडेर स्याङ्जाको चापाकोट फर्किएँ । विसं २०७६ मा श्री अलमदेवी कृषि तथा पशु फार्म दर्ता गरेर व्यावसायिक कृषिमा सक्रिय भएँ ।”
अहिले उहाँको फार्ममा विभिन्न प्रजातिका फलफूल खेती गरिएको छ । करिब दुई सयवटा आँप, ६० वटा लिची, चार सयवटा एभोकाडो, तीन सय बोट अगरहुट, एक सयवटा कागती र ३० वटा पिलरमा ड्रागन फ्रुटका बिरुवा रहेका छन् । यसबाहेक ६० भन्दा बढी विभिन्न प्रजातिका फलफूलका बिरुवा पनि बगैँचामा हुर्किरहेका छन् । फलफूल खेतीसँगै उहाँले २५ घार माहुरीसमेत पाल्नुभएको छ ।
एभोकाडो बिक्रीबाट आम्दानी बढ्दै
शाहको कृषि व्यवसायमा एभोकाडो खेती प्रमुख आम्दानीको स्रोतका रुपमा विकास हुँदै गएको छ । गत वर्ष पाँच क्विन्टल एभोकाडो उत्पादन गरी बिक्री गर्नुभएका शाहले यस वर्ष २६ क्विन्टल बिक्री गरिसक्नुभएको छ । उत्पादित एभोकाडो रामपुर, भिमाद र भैरहवाका बजारमा प्रतिकिलो दुई सय रुपैयाँका दरले बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । बजारको माग र बिक्री व्यवस्थापनमा अहिलेसम्म समस्या नभएको उहाँको अनुभव छ ।
एभोकाडोका अतिरिक्त ड्रागन फ्रुट र मौरीको महसमेत बिक्री हुँदै आएको छ । एउटै फार्ममा विभिन्न कृषि गतिविधि सञ्चालन गरेर आम्दानीका स्रोत विविधीकरण गर्नुभएका शाहले सिँचाइका लागि निर्माण गरेको ३० हजार लिटर क्षमताको पानी ट्याङ्कीमा माछापालनसमेत सुरु गर्नुभएको छ । फलफूल खेती, मौरीपालन र माछापालनलाई एकीकृत रुपमा अघि बढाउँदा उपलब्ध जमिन, पानी र श्रमको उपयोग गर्न सहज भएको उहाँको भनाइ छ ।
सरकारी सहयोगले थप उत्साह
व्यावसायिक कृषिमा सक्रिय शाहलाई नेपाल सरकारको कृषि मन्त्रालय, चापाकोट नगरपालिका र छिमेकी भिमाद नगरपालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरिसकेका छन् । कृषि विकास कार्यालय तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, स्याङ्जाबाट पनि उहाँले प्राविधिक र अनुदान सहयोग प्राप्त गर्नुभएको छ । कृषि क्षेत्रमा सरकारी निकायबाट प्राप्त सहयोगले आफूलाई थप उत्साहित बनाएको शाह बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मलाई जिल्ला र प्रदेशबाट सहयोग भइरहेको छ । उहाँहरुले हजुरलाई के सहयोग चाहिन्छ भनेर सोधिरहनुहुन्छ ।” हाल सञ्चालनमा रहेको बगैँचालाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय बिरुवाको खेती विस्तार गर्ने उहाँको योजना छ । उत्पादन र उत्पादकत्व बढाएर कृषि व्यवसायलाई अझ व्यावसायिक बनाउने लक्ष्यका साथ उहाँ निरन्तर लागिरहनु भएको छ ।
कृषि कर्मले जीवनशैलीमा परिवर्तन
काठमाडौंमा रहँदा मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावित हुनुभएका शाह अहिले दिनभरि बगैँचाको काममा व्यस्त रहनुहुन्छ । नियमित शारीरिक गतिविधि र चिकित्सकको सल्लाहअनुसार जीवनशैलीमा गरेको परिवर्तनले आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँको अनुभव छ । उनले भन्नुभयो, “मलाई अहिले सुगर छैन । बिहानदेखि बेलुकासम्म बगैँचामै हुन्छु ।” कृषि कर्मलाई जीवनको अभिन्न हिस्सा बनाउनुभएका शाहले आफ्नो फार्ममा दुई जनालाई खानबस्नेसहित प्रत्यक्ष रोजगारीसमेत प्रदान गनुभएको छ । यसले उहाँको कृषि व्यवसाय व्यक्तिगत आम्दानीमा मात्र सीमित नभई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने माध्यमसमेत बनेको देखिन्छ ।
गाउँका खेतबारी बाँझिँदै जाने र युवा जनशक्ति रोजगारीका लागि सहर तथा विदेश पलायन हुने क्रम बढिरहेका बेला शाहले देखाएको बाटो गाउँमै सम्भावना खोज्न चाहनेहरुका लागि एउटा उदाहरण बनेको छ । पर्याप्त मेहनत, योजना, प्राविधिक ज्ञान र बजारको पहुँच जुटाउन सके कृषि क्षेत्रबाटै सम्मानजनक आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश उहाँको प्रयासले दिएको छ । काठमाडौँको सुविधा सम्पन्न जीवन छाडेर पुख्र्यौली गाउँमा फर्किनुभएका शाह अहिले आफ्नो बगैँचामै भविष्य खोजिरहनुभएको छ । बाँझो जमिनलाई उत्पादनसँग जोड्ने र गाउँमै उद्यमशीलताको वातावरण निर्माण गर्ने उहाँको प्रयासले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन व्यावसायिक कृषिको महत्वसमेत उजागर गरेको छ ।








तपाईंको विचार लेख्नुहोस्