इनम सापकोटाको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन


काठमाडौं ।

आफू र आफ्नो परिवारको जीवन रक्षा तथा आफूमाथि भएको भनिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै इनम सापकोटाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ।

सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगको ललितपुरस्थित कार्यालयमा निवेदन पेस गरेकी हुन्।

निवेदनमा उल्लेख भएअनुसार सापकोटा अध्ययन तथा व्यावसायिक कामको सिलसिलामा भारतको नयाँ दिल्ली जाने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला नियन्त्रणमा लिइएका थिए। गत १४ गते विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा राखेको र १५ गते साँझसम्म विभिन्न व्यक्तिविरुद्ध प्रमाण तथा बयान दिन दबाब र धम्की दिएको उनको दाबी छ।

निवेदनमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा उनका भाइ र छोरासहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख छ।

सापकोटाले आफूले झुटा विवरणमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि १५ गते साँझ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पुर्‍याइएको र भोलिपल्ट बिहान काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित निवासमा खानतलासी गरिएको निवेदनमा जनाइएको छ।

खानतलासीका क्रममा पुरानो ल्यापटप, मोबाइल फोन तथा केही कागजात लगिएको र पछि सुटकेसबाट विदेशी मुद्रा निकालेर मुचुल्का तयार गरिएको दाबीसमेत निवेदनमा गरिएको छ।

त्यस्तै, १४ गते साँझ विमानस्थलअगाडिको सार्वजनिक सडकमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरिएको भए पनि आफू विमानस्थलभित्रैबाट पक्राउ परेको सापकोटाको जिकिर छ। उनीसँग रहेको अमेरिकी डलर राष्ट्र बैंकको परिपत्रअनुसार कानुनी व्यवस्थाभित्रै रहेको दाबी पनि निवेदनमा गरिएको छ।

निवेदनमा पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा थपेर थुनामा राख्ने प्रयास गरिएको आरोप लगाइएको छ। साथै, आफूले नबोलेका तथा रेकर्ड नभएका अडियो सामग्री काटछाँट गरी र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सामग्री सिर्जना गरेर सार्वजनिक गरिएको दाबीसमेत गरिएको छ।

सापकोटा पक्षले संविधानको धारा २० ले प्रत्याभूत गरेको न्यायसम्बन्धी हक, निर्दोषिताको अनुमान तथा स्वच्छ सुनुवाइको अधिकार र धारा २८ अन्तर्गतको गोपनीयताको हक हनन भएको जिकिर गरेको छ।

निवेदनमार्फत अनुसन्धानसम्बन्धी सामग्री तथा प्रमाण चुहाउने, झुटा प्रमाण सिर्जना गर्ने र सञ्चारमाध्यममार्फत बदनाम गराउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सिफारिस गर्न आयोगसँग माग गरिएको छ। साथै, आफ्नो र परिवारको जिउज्यानको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।