कर्मचारी संगठनले दियो नवनियुक्त महाप्रवन्धकलाई बधाई

गुण र दोषका आधारमा विरोध र समर्थन गरिने



काठमाडौं ।

नेपाल खानेपानी संस्थानमा क्रियाशील नेपाल खानेपानी संस्थान कर्मचारी संगठनले संस्थानका नवनियुक्त महाप्रवन्धक त्रिदिप श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

संस्थानका अध्यक्ष समीर पण्डितको नेतृत्वमा गएको कर्मचारीको समुहले महाप्रवन्धक श्रेष्ठलाई बधाई दिदै कर्मचारीले भोग्नुपरेका विभिन्न समस्या र चुनौतीका बारेमा समेत अवगत गराएको छ । खानेपानी मन्त्रालयले महाप्रबन्धकमा संस्थानकै बरिष्ठ कर्मचारी श्रेष्ठलाई जिम्मेवारी दिइएकोमा खुशी व्यक्त गर्दै संगठनले श्रेष्ठको कार्यकालमा खानेपानी संस्थानका कर्मचारीले भोग्नुपरेका समस्याहरु समाधान हुने विश्वास व्यक्त गरेको छ ।

संगठनले महाप्रवन्धक श्रेष्ठलाई कर्मचारी लगायत संस्थानले भोग्नुपरेका समस्या समाधान गर्न दत्तचित्त भएर लाग्न सुझाव समेत दिएको छ । संगठनका अध्यक्ष समीर पण्डितले नवनियुक्त महाप्रवन्धकलाई बधाई ज्ञापन गरिएको र आगामी दिनमा उहाँको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नीति अख्तियार गरिएको जानकारी दिए ।

महाप्रवन्धकलाई दिइएको अध्यक्ष पण्डितद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ, “सर्वप्रथम त २०८१/०२/०८ गते देखि रिक्त हुन गएको महाप्रबन्धक पदमा (मा. मन्त्रीस्तरका) निर्णयानुसार अर्को व्यवस्था नभए सम्मका लागि महाप्रबन्धकले प्रयोग गर्ने आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त महाप्रबन्धक पदमा नियुक्त हुनु भएकोमा नेपाल खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रिय समितिको तफबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।”

साथै उक्त बधाई पत्रमा, श्रेष्ठको कार्यकालमा संस्थानमा विद्यमान रहेका समस्याहरु संस्थान रहने-नरहने, कर्मचारी सेवा शर्त सम्बन्धि विनियमावली, महशुल वृद्धि, करार कर्मचारीको स्थायित्व एवं सेवा सुरक्षाको ग्यारेण्टी, सामाजिक सुरक्षा कोष कट्टी, स्थायी कर्मचारीको वृत्ति विकास तथा दक्ष जनशक्ति स्थायी पदपूर्ति प्रकृया लगायत सम्पूर्ण समस्याको समाधान हुने अपेक्षा लिइएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘सैलाई काखा-पाखा नगरी सामुहिक नेतृत्व विकास, सह अस्तित्व र आर्थिक पारदर्शिता तपाँईको मूल मन्त्र हुनेछ भन्ने विश्वास लिएका छौं । संस्थागत सुधार र आम कर्मचारीहरुको मनोबल उच्च पार्न आफ्नो सिप, क्षमता, योग्यता र लामो अनुभवको भरपुर सदुपयोग गर्न सदैव प्रेरित हुनुहुनेछ भन्ने विश्वास लिएका छौ । साथै आगामी दिनमा राम्रा कार्यको समर्थन तथा नराम्रा कार्यको विरोध गर्दै सहकार्य गर्न प्रतिवद्ध रहेको जानकारी गराउछौ । ’

प्रतिक्रिया दिनुहोस्