सरकारको स्वेच्छाचारिता अस्वीकार्य


–अध्यादेश शासन र संवैधानिक हस्तक्षेपप्रति आपत्ति
–पक्षपाती अनुसन्धान र कमजोर सुशासनमाथि प्रश्न
–गलत कदम नसच्याए सशक्त प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ ।

नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधि बढेको आरोप लगाएको छ । सरकारको प्रारम्भिक कमजोरीलाई अनुभवको कमी ठानेर संयम अपनाएको कांग्रेसले पछिल्ला गतिविधि नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति भएको निष्कर्ष निकालेको छ ।

मंसिर ८ देखि प्रारम्भ भई मंसिर ११ गते सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै स्वेच्छाचारिता रोक्न खबरदारी गरेको हो । शनिवार जारी विज्ञप्तिमा कांग्रेसले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको, संसदीय समितिप्रति जवाफदेही हुन नचाहेको र संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ ।

कांग्रेसले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न तथा संवैधानिक मर्यादा पालना गर्न सरकारसँग माग गरेको छ ।

सरकारले कानुनको निष्पक्ष कार्यान्वयन नगरी राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा छानीछानी अनुसन्धान तथा कारबाही गरेको आशंका पनि कांग्रेसले गरेको छ । सुनकोशी–मरिन आयोजना र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै स्वतन्त्र अनुसन्धान र दोषीलाई कारबाही गर्न माग गरेको छ ।

अर्थतन्त्र र जनजीविकाप्रति सरकार संवेदनशील नभएको आरोप लगाउँदै कांग्रेसले महँगी, कमजोर निजी क्षेत्र, बढ्दो खराब कर्जा, बेरोजगारी, सहकारीपीडितको समस्या तथा सार्वजनिक सेवा प्रवाहमा सुधार नआएको विषय उठाएको छ । अर्थतन्त्र चलायमान बनाउने समयबद्ध कार्ययोजना सार्वजनिक गर्न, पुँजीगत खर्च बढाउन र नागरिकलाई तत्काल राहत दिन उसले आग्रह गरेको छ ।

सरकारले सय दिनभित्र पूरा गर्ने घोषणा गरेका काम, विभिन्न समुदायसँग भएका सम्झौता तथा गठन गरिएका आयोग र समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै कांग्रेसले कार्यान्वयनको अवस्था र स्पष्ट समयसीमा सार्वजनिक गर्न माग गरेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी संवेदनशील विषयलाई उच्चस्तरीय संवादमा प्राथमिकता नदिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको बोली र व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरेको छ । भोटेकोशी बाढी गएको तीन महिनाभन्दा बढी हुँदा पनि पुन:स्थापना र पुनर्निर्माणको प्रभावकारी योजना नआएको भन्दै सरकारको हेलचेक्र्याइँप्रति आक्रोश व्यक्त गरेको छ ।

त्यस्तै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्ती हटाउँदा पर्याप्त पूर्वतयारी र वैकल्पिक आवासको व्यवस्था नगरी बल प्रयोग गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । भूमिसम्बन्धी समस्या अध्यादेशबाट नभई संसद्बाट स्थायी कानुन निर्माण गरेर समाधान गर्नुपर्ने उसको माग छ ।

कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिँदै गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन तथा जनजीविकाका सवालमा गम्भीर हुन आग्रह गरेको छ । सरकारका गलत गतिविधिविरुद्ध संसद् र सार्वजनिक मञ्चबाट निरन्तर निगरानी, खबरदारी र सशक्त प्रतिरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

‘हामी तयार छौँ अभियान’का प्रतिनिधिलाई अभिमुखीकरण
नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

सभापति गगनकुमार थापाको उपस्थितिमा हुने कार्यक्रम मंसिर १३ गते आइतवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चालन हुनेछ ।

कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ । उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूलाई भने जुममार्फत भर्चुअल रूपमा सहभागी हुने व्यवस्था मिलाइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ ।

अभिमुखीकरणमार्फत अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे जानकारी गराइने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।