त्रिविको जग्गामा सोमवारदेखि डोजर !

एक साताभित्र अतिक्रमित संरचना हटाइने, ६ निकायको जग्गाबारे निर्णय हुँदै


– अन्तिम ताकेताको म्याद सकियो, सरकारसँग डोजर माग
– करिब २० निकायले भोगचलन गरेको जग्गा खाली गराइँदै
– ६ निकायलाई लिजमा दिने वा स्वामित्वमा ल्याउनेबारे अध्ययन

काठमाडौँ ।

पटकपटकको ताकेतालाई बेवास्ता गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वामित्वमा रहेको जग्गा खाली गर्न अटेर गरेपछि विश्वविद्यालयले सोमवारदेखि डोजर लगाउने तयारी गरेको छ । अन्तिम ताकेताको म्याद सकिएसँगै करिब २० निकायले भोगचलन गरिरहेको जग्गाका संरचना हटाउने प्रक्रिया अघि बढाउन लागिएको हो ।

त्रिविका रजिस्ट्रार प्राडा रवीन्द्र शिवाकोटीले सरकारबाट डोजर र आवश्यक उपकरण प्राप्त हुनासाथ जग्गा खाली गराउने काम सुरु हुने बताउनुभयो । उहाँका अनुसार सोमवारदेखि प्रक्रिया सुरु गर्ने तयारी भए पनि सम्भव नभए मंगलवार वा बुधवारबाट संरचना हटाइनेछ । ‘हामीसँग डोजरलगायत उपकरण छैन, सरकारको सहयोग लिनुपर्ने बाध्यता छ । सरकारले जहिले डोजर पठाउँछ त्यही दिनबाट खाली गर्न सुरु गर्नेछौँ’ –रजिस्ट्रार शिवाकोटीले भन्नुभयो ।

त्रिविले जग्गा खाली गराउने निकायको सूची तालुकदार शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ । सरकारले गृह मन्त्रालयको सहयोगमा खाली गराउने प्रक्रिया अघि बढाउने त्रिविको अपेक्षा छ । ‘सरकारको सहयोगमा जग्गा खाली गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामीले खाली गर्ने जग्गाको लिस्ट तालुकदार शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेका छौँ, सरकारले गृह मन्त्रालयको सहयोगमा जग्गा खाली गर्ने प्रक्रिया सुरु गर्ला’ –रजिस्ट्रार शिवाकोटीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

त्रिवि सामान्य प्रशासन महाशाखाले गत आइतवार करिब २० वटा निकायलाई आफूले भोगचलन गरिरहेको स्थान खाली गर्न अन्तिम पत्र पठाएको थियो । सात दिनको समयसीमा सकिएपछि डोजर लगाउने तयारी गरिएको हो । ‘आज सात दिन पुग्छ, भोलिबाट प्रक्रिया सुरु गर्नेछौँ’ –उहाँले भन्नुभयो ।

त्रिविले ल्याबरेटरी स्कुल, राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुर नगरपालिका, महानगरीय प्रहरी वृत्त कीर्तिपुर, त्रिवि क्रिकेट रंगशाला र आयुर्वेद तालिम केन्द्रले भोगचलन गरिरहेको जग्गाबारे छुट्टै अध्ययन गरिरहेको छ । यी निकायलाई जग्गा खाली गराउने, लिजमा दिने वा अन्य प्रक्रिया अपनाउने भन्ने विषयमा निर्णय गर्न समिति गठन गरिएको छ । समितिको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढाइनेछ । ‘हाम्रो जग्गा त्यत्तिकै प्रयोग गर्न दिने अवस्था छैन । सुरुमा दिएको भए पनि फिर्ता ल्याएर नयाँ प्रक्रिया सुरु गर्नेछौँ’ –रजिस्ट्रार शिवाकोटीले भन्नुभयो ।

सरकारी कार्यालय तथा संस्थाले प्रयोग गरिरहेको जग्गा खाली गराउने वा नयाँ प्रक्रिया अपनाएर लिजमा दिने भन्ने विषयमा पनि त्रिविले निर्णय गर्ने तयारी गरेको छ । ल्याब स्कुललाई त्रिविकै स्वामित्वमा ल्याउने र क्रिकेट रंगशाला राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ । रंगशाला त्रिविले सञ्चालन गर्ने तर भाडाबापत राखेपले निश्चित रकम दिने विकल्पमा समेत सरकारले छलफल चलाइरहेको छ ।

नगरपालिका र प्रहरी वृत्तले प्रयोग गरिरहेको जग्गाका विषयमा पनि छलफल भइरहेको छ । रजिस्ट्रार शिवाकोटीले ६ निकायको विषयमा समितिले अध्ययन गरिरहेको र करिब १७ निकायले भोगचलन गरेको जग्गा खाली गराउन लागिएको बताउनुभयो ।
त्रिवि कार्यकारी परिषद्ले वैशाख ४ गते गोरखापत्रमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । निर्धारित समयसीमाभित्र जग्गा तथा भवन खाली नभएपछि त्रिविले अन्तिम ताकेता गरेको हो । जग्गा अतिक्रमण गर्ने २२ निकायमध्ये १७ वटालाई मात्र पत्राचार गरिएको त्रिविले जनाएको छ ।

त्रिविको जग्गामा रसकटर पेट्रोलपम्प, बुढाथोकी र थापा नर्सरी, पम्प, राधास्वामी सत्संग व्यास, कीर्तिपुर बागवानी, ग्लोबल आईएमई बैंक, रक्तसञ्चार केन्द्र, गिट्टीबालुवा डिपो र नेपाल विद्युत् प्राधिकरण कीर्तिपुर वितरण केन्द्रलगायतले संरचना तथा कार्यालय सञ्चालन गरिरहेका छन् । नेपाल नेत्रज्योति संघ, काठमाडौँ, खानेपानी बोर्ड र खानेपानी तथा ढल निकास समितिलगायतलाई पनि त्रिविले पत्राचार गरेको थियो ।
यसअघि त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र आन्तरिक अभिलेखका आधारमा काठमाडौँ उपत्यकाभित्र विश्वविद्यालयको स्वामित्वमा रहेका जग्गाको लगत संकलन गरिएको थियो । ३५ दिने समयसीमाभित्र अनधिकृत संरचना हटाउने र सम्झौता नवीकरण नभएका क्षेत्र विश्वविद्यालयको प्रत्यक्ष स्वामित्वमा ल्याउने अभियान अघि बढाइएको थियो ।

पूर्वसहसचिव महेन्द्र थापा नेतृत्वको छानबिन समितिले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा कीर्तिपुर परिसरमा मात्रै २१ संघसंस्थाले त्रिविको जग्गा प्रयोग गरिरहेको उल्लेख छ । प्रतिवेदनअनुसार तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको जग्गा निजी तथा धार्मिक संस्थासहित १८ संघसंस्थाले भोगचलन गरिरहेका छन् ।

त्रिविको कुल ५ हजार ५० रोपनी जग्गामध्ये २ हजारभन्दा बढी रोपनी विभिन्न संस्थाको भोगचलनमा रहेको प्रतिवेदनमा उल्लेख छ । कीर्तिपुरमा मात्रै ३ हजार ६१३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५ सय रोपनी मात्र विश्वविद्यालयले भोगचलन गरिरहेको छ । कीर्तिपुर परिसरको करिब १ हजार ५ सय रोपनी जग्गा विभिन्न संस्थाको मातहतमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।