काठमाडौँ ।
निर्वाचन आयोगले पाँच वर्षका लागि बनाएको रणनीतिक योजना कार्यान्वयनमा अपेक्षा गरेअनुसार नभएको पाइएको छ ।
आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०८१ सालमा सम्पन्न भएपछि पछिल्लो दुई वर्षदेखि चौथो पञ्चवर्षीय योजना अघि लागू भइरहेको छ । सो योजना निर्वाचन व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय र प्रविधिमैत्री बनाउने उद्देश्यसँग सम्बन्धित छ ।
योजनाअन्तर्गत पछिल्ला दुई वर्षमा सम्पन्न गर्ने भनिएका ३५ वटा क्रियाकलापमध्ये नौवटा मात्रै पूर्णरूपमा कार्यान्वयन भएको आयोगले जनाएको छ । आयोगका अनुसार योजनामा रहेका १६ वटा आंशिक रूपमा अघि बढेका छन् भने १० वटा कार्य सुरु हुन नै नसकेको पाइएको छ । ‘योजनामा काम राख्ने तर कार्यान्वयनमा नपुग्ने अवस्थाबारे आयोगले आफैँ समीक्षा गरिरहेको छ’ –प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले भन्नुभयो ।
आयोगको रणनीतिक योजनामा पाँचवटा अन्तरनिहित रणनीतिक स्तम्भ, ३२ वटा कार्यनीति र १ सय ४६ वटा मुख्य क्रियाकलाप समावेश छन् । पाँचवटा अन्तरनिहित रणनीतिक स्तम्भहरुमा संस्थागत सुदृढीकरण, राजनीतिक दल नियमन, मतदाता नामावली तथा निर्वाचन शिक्षा, प्रविधियुक्त निर्वाचन व्यवस्थापन र समन्वय, साझेदारी र सहकार्य रहेको छ । तीमध्ये दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका ३५ वटा कामको प्रगति समीक्षा गर्दा कार्यान्वयनको अवस्था कमजोर देखिएको प्रमुख आयुक्त कार्कीको भनाइ रहेको छ ।
रणनीतिक योजनामा कानुन तर्जुमा, कार्यविधि तथा नियमावली बनाउन, अध्ययन तथा सर्वेक्षण, पूर्वाधार निर्माण, तालिम तथा कार्यशाला आयोजना गर्ने, मतदाता नामावली दर्ता तथा अद्यावधिक र मतदाता शिक्षा कार्यक्रम र साइबर सुरक्षा तथा पूर्वाधार निर्माणलगायत रहेका छन् । साइबर सुरक्षा, सुरक्षा पूर्वाधार तथा नेटवर्किङलगायतका शीर्षक रहेका छन् ।
त्यसैगरी नीतिगत कानुनी, संस्थागत एवं प्रविधिगत सुधार गरी आयोगलाई सुदृढ बनाउने, निर्वाचन व्यवस्थापनका सबै चरण र प्रव्रिmयामा समावेशी सहभागिता बढाउने र निर्वाचन शिक्षालाई व्यापक बनाई मतदाता सहभागिता र सदर मत प्रतिशत बढाउने रणनीतिक योजनाको लक्ष्य छ । कार्यनीतिमा आयोगले निर्वाचनमा दललाई राज्यबाटै निर्वाचन खर्च उपलब्ध गराउने, संविधानप्रदत्त स्वायत्तता प्रवर्धन हुने गरी आयोग र अन्तर्गतका निकायको संगठनात्मक पुनर्संरचना गर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने जस्ता विषयलाई प्राथमिकता दिएको थियो ।
प्रमुख आयुक्त कार्कीका अनुसार केही काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएका छन् । तर प्राथमिकतामा राखिएका कतिपय काम भने अघि बढ्न सकेका छैनन् । काम सुरु नै नहुनुको कारण बुझ्न आयोगले योजनामा राखिएका क्रियाकलापको प्रकृति र कार्ययोजना निर्माणको अवस्थाबारे छलफल अघि बढाएको छ । ‘हुनै नसकेका विषयले हामीलाई अलि घच्घच्याएको छ । गर्नै नसकिने काम राखेका रहेछौँ, कि, कार्ययोजना बनाउँदा नै कमजोरी भयो कि भन्ने हिसाबले छलपलmल अघि बढाएका छौँ’ –उहाँले भन्नुभयो ।
एआई, साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नुपर्ने रहेको पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार पाँचवटै रणनीतिक स्तम्भलाई आधार बनाएर गरिएको समीक्षाले योजनामा समावेश कार्यनीति र क्रियाकलाप कार्यान्वयन गर्न नसकिने प्रकृतिका नरहेको देखाएको छ । त्यसैले अब काम अघि बढ्न नसक्नुको कारण पहिचान गरी कार्यान्वयनलाई प्रभावकारी बनाउनेतर्फ आयोग केन्द्रित हुने प्रमुख निर्वाचन आयुक्त कार्कीको भनाइ रहेको छ । अहिले छलफल र प्राप्त सुझावका आधारमा आवश्यक विषय परिमार्जन गर्दै रणनीतिक योजनालाई प्रभावकारी रूपमा अघि बढाउने आयोगको योजना रहेको छ ।








तपाईंको विचार लेख्नुहोस्