फिल्म क्षेत्रले सात वर्षअघि नै पाइसक्यो उद्योगको मान्यता, फिल्मकर्मी भने अझै उद्योगको दर्जा नपाएको भाषण ठोक्दै


–नियमावली निर्माणमा फिल्मर्मीकै उदासीनताले आउन सकेन कानुन कार्यान्वयनमा
–उद्योगको दर्जा नपाएको भन्दै फिल्मकर्मीको अझै पनि गुनासो
–ऐनमै छ राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको व्यवस्था
–नियमावली बनाउन अग्रसरता नलिँदा आएन कानुन कार्यान्वयनमा
–कानुन निर्माणका लागि आकाश अधिकारीले गरेका थिए पहल
–नियमावली बनाए नेपाली फिल्म उद्योगले पनि पाउनेछ सरकारी अनुदान, सहुलियतपूर्ण ऋण, कर छुट तथा अन्य औद्योगिक सहुलियत

काठमाडौँ ।

नेपाली फिल्म क्षेत्रले उद्योगको मान्यता नपाएको भन्दै फिल्मकर्मीले सार्वजनिक मञ्चदेखि मन्त्रीसम्म गुनासो गर्दै आएका छन् । सरकारले फिल्म क्षेत्रलाई महत्व नदिएको र उद्योगको दर्जा नदिएको उनीहरूको आरोप पनि नयाँ होइन । तर रोचक तथ्य के छ भने, सरकारले सात वर्षअघि नै नेपाली फिल्म क्षेत्रलाई उद्योग मात्र होइन, राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा कानुनी मान्यता दिइसकेको छ । विडम्बना, कानुनमा व्यवस्था भएको यो विषयबारे स्वयं फिल्म क्षेत्रका अगुवाहरू नै अनभिज्ञ देखिएका छन् ।

केही समयअघि मात्रै पनि फिल्मसँग सम्बन्धित एक संस्थाका पदाधिकारीहरूले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनासमक्ष नेपाली फिल्म क्षेत्रले उद्योगको मान्यता नपाएको गुनासो गरेका थिए । तर यो कानुन उहिले नै बनिसेको विषयमा फिल्मकर्मीमै अनभिज्ञता देखिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची–९ (दफा १९ सँग सम्बन्धित), क्रम संख्या १४ तथा मुद्रित पृष्ठ २७ मा फिल्म निर्माणलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा स्पष्ट रूपमा समावेश गरिएको छ ।

तर कानुन बनेको सात वर्ष पुग्न लाग्दासमेत त्यसको कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगले पाउने सुविधा उपलब्ध गराउन आवश्यक नियमावली नबन्दा फिल्म क्षेत्रले कानुनबाट प्राप्त गर्नुपर्ने लाभ लिन सकेको छैन । अर्थात्, समस्या उद्योगको मान्यता नपाउनु होइन, ठूलो पहलपछि प्राप्त मान्यतालाई फिल्मकर्मीले नै कार्यान्वयनमा लैजान नसक्नु हो ।

नेपाली फिल्म क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगका रूपमा कानुनमा समावेश गराउन तत्कालीन समयमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा चलचित्र तथा मनोरञ्जन फोरमका संयोजक रहेका निर्माता, निर्देशक एवं अभिनेता आकाश अधिकारीले महत्वपूर्ण पहल गर्नुभएको थियो ।

अधिकारीका अनुसार यससम्बन्धी प्रस्ताव पहिलोपटक संसद्बाट पारित हुन सकेको थिएन । त्यसपछि उहाँले सम्बन्धित सांसदहरूलाई विषयको महत्वबारे जानकारी गराउँदै संसदीय तहमा पुन: पहल गर्नुभएको थियो । उहाँको प्रयासपछि विषय संसदीय समितिमा अघि बढ्यो र समितिबाट पारित भएर संसद्मा प्रस्तुत भएको प्रस्ताव अन्तत: कानुनका रूपमा स्थापित भयो ।

यस प्रक्रियामा तत्कालीन संसदीय समितिका अध्यक्ष विमल श्रीवास्तवसहित समितिका विभिन्न सांसदले सहयोग गरेका थिए । त्यसैगरी तत्कालीन उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, कानुनतर्फका उपसचिव माधवप्रसाद सुवेदी, उद्योग विभागका महानिर्देशक डा. गोपालप्रसाद तिवारी, नेपाल उद्योग वाणिज्य महासंघकी तत्कालीन अध्यक्ष भवानी राणा तथा शेखर गोल्छालगायतको सहयोग महत्वपूर्ण रहेको अधिकारी सम्झन्छन् ।

अधिकारीका अनुसार ऐनमा व्यवस्था भएअनुसार फिल्म क्षेत्रले सुविधा प्राप्त गर्न आवश्यक नियमावली निर्माणको प्रक्रिया अघि बढाउन उहाँले विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायमा गर्नुपर्ने पत्राचार र प्रक्रियाका मस्यौदासमेत तयार पार्नुभएको थियो । तर आफ्नो कार्यकाल समाप्त भएपछि उक्त प्रक्रिया अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

‘मैले निर्माता संघको आफ्नो सिंगो कार्यकाल यही कानुन निर्माणका लागि पहल गर्न बिताएँ । सम्बन्धित मन्त्रालय, निकाय र राजनीतिज्ञहरूलाई भेटेर यसबारे बुझाएँ र कन्भिन्स गरेँ । त्यसपछि कानुन त बन्यो,’ आकाशले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘तर मेरो कार्यकाल सकिएपछि नियमावली बनाउने काम अघि बढ्न सकेन । नियमावलीका लागि पनि सबै तयारी मैले गरिसकेको थिएँ । त्यसको ड्राफ्ट अहिले पनि निर्माता संघमा सुरक्षित छ । त्यही मस्यौदालाई अगाडि बढाए मात्रै पनि कानुन कार्यान्वयनमा आउनेछ र यसबाट नेपाली फिल्म उद्योगले निर्माण, प्रदर्शन र वितरण तीनै क्षेत्रमा लाभ लिन सक्नेछ ।’

औद्योगिक व्यवसाय ऐनको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन आवश्यक नियमावली तयार गरी पारित गराउन सके नेपाली फिल्म क्षेत्रले कृषिलगायतका अन्य राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगसरह विभिन्न सरकारी सुविधा प्राप्त गर्न सक्छ । त्यस्ता सुविधामा अनुदान, सहुलियतपूर्ण ऋण, कर छुट तथा अन्य औद्योगिक सहुलियत समावेश हुनेछन् । यसले फिल्म निर्माणलाई व्यावसायिक र संस्थागत रूपमा अघि बढाउन महत्वपूर्ण सहयोग पुग्नेछ ।

२०७६ सालमै कानुनी मान्यता पाएको विषयलाई कार्यान्वयनमा लैजान अहिले सम्बन्धित मन्त्रालयहरूबीच छलफलसमेत सुरु भएको जानकारी अधिकारीले दिनुभएको छ । सात वर्षअघि नै कानुनमा समेटिएको विषयलाई अहिले पनि उद्योगको मान्यता नपाएको भन्दै उठाइरहनुले नेपाली फिल्म क्षेत्रभित्र सूचना, संस्थागत समन्वय र नेतृत्वको जवाफदेहिताको अभाव उजागर गरेको छ । कानुन निर्माणका लागि पहल गर्ने व्यक्ति र संस्थाको कार्यकाल सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी कसैले नलिँदा राज्यले दिएको सुविधा कागजमै सीमित भएको छ । अब फिल्म क्षेत्रका अगुवाहरूले उद्योगको मान्यता माग्दै भाषण गर्नुभन्दा कानुनमा प्राप्त अधिकार कार्यान्वयन गराउन सरकारसँग पहल र सहकार्य गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।