दाप्चाको इतिहास, सम्पदा र पर्यटन पुनर्जागरणको खोजीमा फोटोग्राफी पदयात्रा


पुरानो व्यापारिक बस्तीको पहिचान पुन:स्थापित गर्ने स्थानीय प्रयास, सम्पदा संरक्षण, रोटरी क्लव अफ धुलिखेल, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यलाई जोड्दै नमोबुद्धदेखि काक्रेसम्म काभ्रे सम्पदा अन्वेषण तथा फोटोग्राफी पदयात्रा

काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध छ। नमोबुद्धको धार्मिक महत्वसँगै आसपासका पुराना बस्ती, व्यापारिक मार्ग, मठमन्दिर, पाटीपौवा, ढुङ्गेधारा, मौलिक वास्तुकला र स्थानीय संस्कृतिले यस क्षेत्रलाई पर्यटनको बहुआयामिक गन्तव्य बनाउने सम्भावना बोकेको छ। यही सम्भावनालाई उजागर गर्दै सम्पदा संरक्षण, स्थानीय समुदायको सहभागिता र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले २८ नोभेम्बर २०२६ मा काभ्रे सम्पदा अन्वेषण तथा फोटोग्राफी पदयात्राको पाइलट कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष मोहन कुमार श्रेष्ठले बताउनुभयो ।


नमोबुद्ध नगरपालिका वडा नं. २ नमोबुद्ध परिसरबाट वडा नं. १२ सम्म आयोजित एकदिने पदयात्रामा इजरायली राजदूत शमुलिक एरी बास, जर्मनी तथा अमेरिकाका कूटनीतिक प्रतिनिधि, विभिन्न संस्था तथा सम्पदा संरक्षणसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो। रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष मनिष श्रेष्ठका अनुसार लामो समयको प्रयासपछि आयोजना गरिएको यस कार्यक्रमले नमोबुद्ध क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटन सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य शुरु गरिएको हो ।


नमोबुद्धमा बौद्ध गुरुहरूले खादा लगाएर पाहुनाको सम्मान तथा स्वागत गरेका थिए। नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामासमेत नमोबुद्धमै उपस्थित भएर पाहुनालाई स्वागत गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो। धार्मिक आस्था, स्थानीय संस्कृति, सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकै यात्रामा जोडिएको यो कार्यक्रम औपचारिक भ्रमणभन्दा बढी स्थानीय इतिहास र समुदायसँग साक्षात्कार गर्ने अवसर बनेको थियो।


पदयात्राका क्रममा सहभागीहरूले मठमन्दिर, पाटीपौवा, पुराना संरचना, विद्यालय, स्थानीय सामुदायिक संस्था, ज्येष्ठ नागरिक केन्द्र, जनक माध्यमिक विद्यालय तथा स्थानीय समुदायसँग सम्बन्धित स्थलहरूको अवलोकन गर्दै तस्बिर खिचेका थिए। बाटोमा स्थानीय बासिन्दाले खादा, फूलमाला, टीका, प्रसाद तथा ढोलक बाजागाजासहित पाहुनाको स्वागत गरेका थिए। ठाउँठाउँमा भोजन, सत्कार, सम्मान तथा सांस्कृतिक स्वागतका कार्यक्रमले पदयात्रालाई स्थानीय उत्सवको स्वरूप दिएको थियो।

रोटरी क्लब अफ धुलिखेल र काठमाडौको झण्डा तथा सोभिनियर हस्तान्तरणलगायतका गतिविधिले संस्थागत सहकार्य र समुदायबीचको सम्बन्धलाई पनि अभिव्यक्त गरेको थियो। स्थानीय बासिन्दाको उत्साह, सहभागिता र स्वागतले दाप्चा तथा नमोबुद्ध क्षेत्रलाई ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय धरोहरका रूपमा विकास गर्नुपर्ने स्थानीय चाहनालाई प्रतिबिम्बित गरेको थियो। लामो समयदेखि ताला लागेका घरआगनमा देखिएको चहल पहलले स्थानियमा उत्साह जगाएको थियो।

व्यापारिक मार्गबाट विकसित दाप्चाको इतिहास
नमोबुद्ध नगरपालिकाभित्र पर्ने दाप्चा पुरानो व्यापारिक बस्तीका रूपमा ऐतिहासिक पहिचान बोकेको क्षेत्र हो। स्थानीय मौखिक इतिहासअनुसार दाप्चा विगतमा पूर्वतर्फ जाने व्यापारिक मार्गको महत्वपूर्ण केन्द्रका रूपमा रहेको थियो। काठमाडौँ, पाटन, भक्तपुर, बनेपा तथा नालासँग जोडिएका बाटो हुँदै यहाँ विभिन्न परिवार, व्यापारी र यात्रुहरू आवतजावत गर्ने गरेका थिए।

दाप्चाको नामाकरणसँग जोडिएको स्थानीय जनश्रुति रोचक छ। दाप्चाका स्थानीय समाजसेवी पुष्पराज श्रेष्ठका अनुसार दाप्चाको नामाकरण र ऐतिहासिक भूगोलसँग सम्बन्धित विभिन्न किंवदन्ती तथा मौखिक इतिहास स्थानीय समुदायमा प्रचलित छन्। शंखुफेदीदेखि चरङ्गेफेदी, ध्वाँकोटटार, पिपलटार, गहते, खलाप्साम हुँदै आसपासका भूभागसँग दाप्चाको ऐतिहासिक क्षेत्र जोडिएको स्थानीय कथन रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार मल्लकालदेखि नै दाप्चा नामले यो क्षेत्र चिनिन थालेको जनश्रुति रहेको श्रेष्ठको भनाइ छ। भक्तपुरका राजा र यस क्षेत्रका एक तान्त्रिक व्यक्तित्वबीचको सम्बन्धसँग दाप्चाको नामकरण जोडिएको स्थानीय कथा सुनिँदै आएको छ। स्थानीय किंवदन्तीअनुसार भक्तपुरका राजा बिरामी हुँदा यस क्षेत्रका एक तान्त्रिकले उहाँलाई रोगबाट निको पार्न सहयोग गरेका थिए। उपचारपछि राजाले तान्त्रिकलाई पुरस्कारस्वरूप के चाहिन्छ भनेर सोध्दा उनले आफू र आफ्ना पुर्खाका लागि बसोबास क्षेत्र चाहिने इच्छा व्यक्त गरेको कथन छ।

त्यस समयमा यो क्षेत्र धेरैजसो जंगलले ढाकिएको थियो। राजाले बिहान उज्यालो भएदेखि साँझ घाम अस्ताउँदासम्म चिन्ह लगाएर जति क्षेत्र समेट्न सकिन्छ, त्यति भूभाग उपलब्ध गराउने अनुमति दिएको भन्ने जनश्रुति छ। त्यसपछि तान्त्रिक खुकुरी र दाब लिएर जंगल हुँदै भूभागको सीमाना चिन्ह लगाउन अघि बढेको कथा सुनिन्छ। चरङ्गेफेदीबाट सुरु हुँदै दाप्चेखोला, शंखुफेदी, ध्वाँकोट, पिपलटार, गहते तथा आसपासका भूभागलाई खोलाको सीमाना आधार बनाएर चिन्ह लगाइएको भन्ने कथा प्रचलित छ। त्यस क्रममा बेन्च अथवा बेचका लहरा काट्दै सीमाना चिन्ह लगाइएको र अन्तिममा शंखुफेदी पुग्दा दाब हराएको भन्ने कथन सुनिन्छ। ‘दाब जा’ भन्ने अभिव्यक्तिबाट क्रमश: ‘दाप्चा’ नाम रहन गएको भन्ने स्थानीय जनश्रुति रहेको पुष्पराज श्रेष्ठले बताउनुभएको छ।

यो नामकरणको कथा ऐतिहासिक अभिलेखबाट पुष्टि भएको तथ्यभन्दा स्थानीय मौखिक परम्परा हो। तथापि भूगोल, स्थानीय भाषा, किंवदन्ती र पुस्तान्तरण हुँदै आएको इतिहासलाई दस्तावेजीकरण गर्नु दाप्चाको सम्पदा अध्ययनको महत्वपूर्ण पक्ष हो।

दाप्चामा नेवार बस्तीको विकास भएको इतिहास करिब तीन सय वर्षअघिदेखि जोडिएको स्थानीय कथन छ। पाटनबाट विभिन्न परिवार यहाँ आएर बसोबास गर्न थालेको, सुरुमा पाँच दाजुभाइमध्ये केही भाइ यस क्षेत्रमा आएको र उनीहरूको वंश तथा परिवारबाट बस्ती विस्तार भएको इतिहास स्थानीय अग्रजहरूबाट सुनिँदै आएको पुष्पराज श्रेष्ठले बताउनुभयो। रामदास नामका व्यक्तिको वंशसँग पनि दाप्चाको बस्ती विकासको इतिहास जोडिएको छ। रामदासका सात भाइ छोरा रहेको र उनीहरूका सन्तानबाट विभिन्न स्थानमा बसोबास विस्तार भएको कथन छ। परिवारका केही सदस्य चण्डापुर तथा आसपासका क्षेत्रमा पुगे भने केही दाप्चामै बसेका थिए।

पाटनबाट बनेपा तथा नालाको आसपास हुँदै दाप्चा आएर बसोबास गर्ने क्रममा प्रारम्भिक परिवारहरू गागले पाटी आसपासमा बसेको स्थानीय इतिहास छ। परिवारका केही सदस्य मंगालटारतर्फ पुगे भने केही यही क्षेत्रमा बसेर बस्ती विस्तारमा योगदान गरे। पछि भीमसेनस्थान आसपासको क्षेत्रलाई केन्द्र बनाएर बसोबास विस्तार भएको विवरण पनि स्थानीय रूपमा सुनिन्छ।

बस्ती विस्तारसँगै पानीको मूल फुटेझै व्यापारको विकास भएको र त्यसले व्यापारिक गतिविधि बढाउन सहयोग गरेको स्थानीय कथन छ। यहाँ व्यापार गर्न आउने मानिसहरूले सामान किनबेच तथा ओसारपसार गर्ने क्रममा दाप्चा बजारको महत्त्व बढ्दै गएको थियो। काठमाडौं तथा आसपासका क्षेत्रमा सामान पुर्‍याउन यहाँबाट व्यापारिक गतिविधि सञ्चालन हुने गरेको र दाप्चा एक महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा स्थापित भएको स्थानीय इतिहासले बताउँछ।

विभिन्न परिवार तथा वंशका मानिसहरू दाप्चा र आसपासका स्थानमा बसोबास गर्न पुगे। कतिपय परिवार कटुञ्जेमा बसे, कतिपय दाप्चामै बसेर व्यापार तथा सामाजिक जीवन विस्तार गरे। यसरी विभिन्न परिवार, वंश र समुदायको आगमन तथा बसोबासले दाप्चालाई ऐतिहासिक, सांस्कृतिक र व्यापारिक केन्द्रका रूपमा विकास गराएको स्थानीय कथन छ।

पुर्खाले जोगाएका पाटी, मन्दिर र मौलिक सम्पदा
नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष वीरबहादुर लामाका अनुसार दाप्चाको ऐतिहासिक पहिचान स्थापित हुनुमा यहाँका पुर्खाहरूको योगदान अत्यन्त महत्त्वपूर्ण छ। तीन भाइका सन्तान, विशेषगरी रामदासका सन्तान तथा यहाँका अग्रजहरूको योगदानका कारण दाप्चा बजारको ऐतिहासिक अस्तित्व कायम रहन सकेको उहाँको भनाइ छ। विगतमा पाटन, भक्तपुर हुँदै साँघुरे, पञ्जा लगायतका बाटोबाट यहाँसम्म व्यापारिक तथा सामाजिक सम्बन्ध विस्तार भएको इतिहास रहेको वडा अध्यक्ष लामाले बताउनुभयो। विभिन्न कठिन परिस्थितिका बीच पनि यहाँका पुर्खाहरूले आफ्नो बस्ती, संस्कृति, परम्परा र सम्पदालाई जोगाएर राखेको उहाँको भनाइ छ।

दाप्चामा रहेका मठमन्दिर, पाटीपौवा तथा सांस्कृतिक सम्पदामध्ये श्रीकृष्ण माध्यमिक विद्यालय, गागली पाटी, कोटकालिका पाटी तथा कोटकालिका मन्दिर महत्वपूर्ण संरचना हुन्। यी संरचनाहरू पुर्खाले संरक्षण गर्दै वर्तमान पुस्तालाई हस्तान्तरण गरेका सम्पदा हुन्। पुराना पाटीपौवा, मठमन्दिर तथा घरहरूको संरक्षण केवल वास्तुकलाको संरक्षण होइन, स्थानीय समुदायको सामाजिक जीवन, धार्मिक आस्था, सांस्कृतिक गतिविधि र इतिहासको संरक्षण पनि हो। दाप्चाको पुरानो बजारलाई जोगाउन स्थानीय समुदायले निरन्तर प्रयास गर्दै आएको छ।

सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा, संरक्षणको रोडम्याप
दाप्चाको सम्पूर्ण ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, वडा अध्यक्षलगायत स्थानीय जनप्रतिनिधि तथा समग्र टोलीको पहलमा २०८२ साल मंसिर २२ गते दाप्चालाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष वीरबहादुर लामाले बताउनुभयो। दाप्चालाई व्यवस्थित, आकर्षक र मौलिक स्वरूपमा विकास गर्ने रोडम्यापसहित अघि बढिरहेको उहाँको भनाइ छ। दाप्चाको इतिहास, धर्म, संस्कृति, पहिचान र मौलिकतालाई आधार बनाएर पर्यटन विकास गर्ने योजना नगरपालिकाले अघि बढाएको छ।

नगर प्रमुख कुन्साङ लामाले विगतदेखि नै यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने परिकल्पना र पहल गर्दै आएको तथा वडा नं. ९ का जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि स्थानीय जनताको सपना, वडाको योजना र अघिल्लो नेतृत्वले अघि बढाएको अभियानलाई निरन्तरता दिँदै दाप्चालाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो। २०८२ साल मंसिर २२ गते सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेपछि मंसिर २५ गते नगर कार्यपालिकाबाट दाप्चाको संरक्षण तथा विकासका लागि छुट्टै मापदण्ड तयार गर्ने निर्णय गरिएको थियो। दाप्चाको मौलिक स्वरूप जोगाउन पुराना घर तथा संरचनालाई परम्परागत नेवारी वास्तुकला र ऐतिहासिक शैलीअनुसार संरक्षण तथा पुनर्निर्माण गर्न आवश्यक मापदण्ड बनाइएको उहाँले बताउनुभयो।

दाप्चाको पुनरुत्थानका लागि सञ्जय श्रेष्ठको अध्यक्षतामा दाप्चा पुनरुत्थान समिति गठन गरिएको छ। समितिले दाप्चाको समग्र संरक्षण तथा विकासका लागि गुरुयोजना तयार गरेको स्थानीय विवरणमा उल्लेख छ। पुराना घर, पाटीपौवा, मठमन्दिर, सांस्कृतिक गतिविधि तथा बस्तीको मौलिक स्वरूपलाई संरक्षण गर्ने विषय गुरुयोजनामा समेटिएको छ। पुराना घर तथा बस्तीलाई मौलिक शैलीमा पुनर्निर्माण तथा पुन:स्थापित गर्ने, पर्यटन पूर्वाधार निर्माण गर्ने र दाप्चालाई पुरानै ऐतिहासिक स्वरूपमा फर्काउने उद्देश्यसहित नगरपालिकाले विशेष पहल गरिरहेको छ। वडा, नगर, प्रदेश तथा संघीय तहबाट आवश्यक सहयोग र समन्वय भइरहेको वडा अध्यक्ष लामाले बताउनुभयो।

दाप्चाको विकासमा शिक्षा र स्वास्थ्य सेवा पनि महत्वपूर्ण पक्ष हुन्। वडा अध्यक्ष वीरबहादुर लामाका अनुसार श्रीकृष्ण माध्यमिक विद्यालय यस क्षेत्रको ऐतिहासिक विद्यालय हो। २००८ सालमा स्थापना भएको विद्यालयले धेरै व्यक्तित्व जन्माएको छ। पूर्वमन्त्रीदेखि जनप्रतिनिधि र विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरू यसै विद्यालयका उत्पादन हुनुहुन्छ। आफू पनि यस विद्यालयमा अध्ययन गरेको विद्यार्थी रहेको उहाँले बताउनुभयो।

विद्यालयमा विद्यार्थीको आवश्यकता र अभिभावकको चाहनाअनुसार अंग्रेजी माध्यम तथा नेपाली माध्यममा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको उहाँको भनाइ छ। स्वास्थ्य सेवाका क्षेत्रमा पनि दाप्चामा अस्पताल स्थापना गर्ने योजना अघि बढाइएको छ। नगर कार्यपालिकाबाट आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा गरी पाँच शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरिएको र अस्पतालका लागि आवश्यक उपकरण खरिदलगायत तयारी अघि बढाइएको वडा अध्यक्ष लामाले बताउनुभयो।

दाप्चालाई नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित स्वास्थ्य, शिक्षा, महिला, बालबालिका तथा अन्य सामाजिक क्षेत्रमा योजनाबद्ध रूपमा काम भइरहेको उहाँले बताउनुभयो। दाप्चाको पुरानो बस्ती संरक्षणमा स्थानीय समुदायको सक्रियता महत्वपूर्ण देखिएको छ।

दाप्चाका समाजसेवी जीवन श्रेष्ठका अनुसार प्रदेशस्तरीय सडक निर्माणका क्रममा पुरानो बस्ती तथा ऐतिहासिक कोर क्षेत्र प्रभावित हुने अवस्था देखिएपछि करिब तीन वर्षदेखि वडा अध्यक्ष, नगर प्रमुख र प्रदेश सरकारसँग समन्वय गर्दै संरक्षणका लागि पहल गरिएको थियो। करिब ७०० मिटर क्षेत्र पुरातात्त्विक तथा ऐतिहासिक महत्वको भएकाले सडक निर्माणका क्रममा बिगार्न नहुने विषयमा स्थानीय समुदायले आवाज उठाएको उहाँले बताउनुभयो। सडकको विकल्प तथा क्षेत्रको संरक्षणलाई ध्यानमा राखेर चारैतिरबाट रिङरोडको अवधारणा पनि अघि बढाइएको छ।

‘हाम्रो दाप्चा ऐतिहासिक रूपमा धेरै ठाउँमा नाम कमाएको भए पनि बत्तीमुनिको अँध्यारो जस्तै भएर बसेको बस्ती हो,’ जीवन श्रेष्ठले भन्नुभयो, ‘काठमाडौंको निकै नजिक भएर पनि यो क्षेत्र ओझेलमा परेको र अपेक्षित विकास हुन नसकेको अवस्था छ।’ यहाँका धेरै स्थानीय बासिन्दा आफ्नो रोजगारी, भविष्य र जीवनस्तर सुधारका लागि सहर तथा अन्य स्थानमा गएका छन्। पुराना घरहरूमा लागेको ताला र बन्द अवस्थाले पनि गाउँबाट मानिस विस्थापित हुँदै गएको अवस्था देखाउँछ।

यस क्षेत्रमा मुख्यत: तामाङ, नेवार तथा बाहुन–क्षेत्री समुदायको बसोबास रहेको छ। स्थानीय इतिहासअनुसार यहाँ परापूर्वकालदेखि तामाङ समुदायको बस्ती रहेको र पछि नेवार समुदाय व्यापार तथा व्यवसायका सिलसिलामा यहाँ आएको देखिन्छ। नेवार समुदायले व्यापार व्यवसाय विस्तार गर्दै यस क्षेत्रलाई पूर्वतर्फ जाने व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न योगदान गरेको स्थानीय कथन छ। राणाकालीन समयदेखि नै पूर्वी क्षेत्रबाट उत्पादन हुने अन्न तथा अन्य वस्तुको व्यापारसँग दाप्चाको इतिहास जोडिएको जीवन श्रेष्ठको भनाइ छ। पुराना संरचना, स्थानीय संस्कृति तथा परम्परालाई खोजी गरी उजागर गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।

‘हाम्रा पुर्खाले बनाएका पुराना संरचना तथा पूर्वाधारलाई पर्यटकीय दृष्टिकोणबाट संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गर्दै युवा पुस्ता अहिले पुरानो दाप्चाको पहिचान स्थापित गर्न लागिपरेको छ,’ उहाँले भन्नुभयो। यसका लागि गुरुयोजना तयार गरिएको, चारैतिरबाट रिङरोडको अवधारणा अघि बढाइएको र आगामी दस वर्षलाई लक्षित गरेर योजना बनाइएको उहाँले बताउनुभयो। स्थानीय सरकार, पर्यटन मन्त्रालय तथा प्रदेश सरकारबाट पनि यस अभियानमा सहयोग प्राप्त भइरहेको छ। दाप्चालाई काठमाडौंबाट छोटो समयमा पुग्न सकिने, बन्दीपुरको झल्को दिने तर आफ्नै मौलिक पहिचान भएको गन्तव्यका रूपमा विकास गर्न सकिने जीवन श्रेष्ठको विश्वास छ। नमोबुद्धबाट नजिक भएकाले धार्मिक पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने तथा नेवार समुदायको कला, संस्कृति, वास्तुकला र जीवनशैलीलाई समेट्ने सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ।

होटल, होमस्टे र स्थानीय रोजगारी
पर्यटन पूर्वाधार विकाससँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने प्रयास पनि अघि बढिरहेको छ। जीवन श्रेष्ठका अनुसार कर्ण शाक्यको ‘हेरिटेज दाप्चा’ नामको स्तरीय होटल निर्माणको काम सुरु भएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्ने, स्थानीय बासिन्दालाई अवसर प्रदान गर्ने र क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। होटललाई यहाँको माटो, संस्कृति र ऐतिहासिक शैलीअनुकूल पुरानो वास्तुकलाको ढाँचामा निर्माण गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो। अन्य व्यक्ति तथा संस्थाहरू पनि यस क्षेत्रको विकासमा आकर्षित हुँदैछन्।

युवा पुस्ताले पुराना संस्कृति, परम्परा र जात्रा पर्वलाई पुनर्जीवित गर्ने अभियान अघि बढाइरहेको छ। समयसँगै पुराना पुस्ताका मानिसहरू बित्दै जानुभएको र उहाँहरूसँगै कतिपय मौलिक परम्परा हराउने जोखिम बढेकाले नयाँ सोच र शैलीमार्फत पुराना संस्कृतिको संरक्षण, जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिको पुनर्जागरण गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ।

पहिले काठमाडौं पढ्न वा कामका लागि जाँदा यहाँको मकै, भटमास लगायतका खानेकुरा बोकेर जान्थ्यौ केही वर्षअघिसम्म यहाँ आउने मानिसले चिया पिउने वा खाना खाने ठाउँसमेत पाउन कठिन भएको जीवन श्रेष्ठले स्मरण गर्नुभयो। ‘अहिले भने हामीले एउटा खाजाघर र बस्न सकिने सानो होमस्टेको अवधारणाबाट सेवा सुरु गरेका छौँ। काठमाडौंबाट नजिक, सडक विस्तार तथा सुधार भएपछि करिब डेढ घण्टाको यात्रामै पुग्न सकिने यो क्षेत्र सप्ताहान्त बिताउन, स्थानीय संस्कृति बुझ्न र ऐतिहासिक बस्तीको अनुभव लिन उपयुक्त गन्तव्य बन्ने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो।

रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार पहिला दाप्चा क्षेत्रको व्यापार व्यवसायले देशलाई चिनाएको थियो । विपी राजमार्ग बनेदेखि सुनसान हुँदै गएको बस्तीका अघिकांस घरमा ताला लागेको छ । यसलाई पुरानै अवस्थामा ल्याउने योजना सहित सरकारको ध्यानाकर्ष गराएका छौं। यो अभियानमा सबैजना लागेर समयको माग अनुसार परिमार्जन गर्ने योजना सहित अघि बढेको उहाले बताउनुभयो ।

कफी गाउँ र सामुदायिक सहकार्य
दाप्चा तथा नमोबुद्ध क्षेत्रको पर्यटन र स्थानीय अर्थतन्त्रसँग कृषि उत्पादनलाई जोड्ने प्रयास पनि भइरहेको छ। रोटरी क्लव अफ धुलिखेलका मनिष यगोलका अनुसार रोटरी कम्युनिटी कोप्र्स (आरसीसी) दुर्गम क्षेत्रहरूमा, जहाँ रोटरी क्लबका सदस्यहरू नियमित रूपमा पुग्न र सेवा गर्न कठिन हुन्छ, त्यहाँ गठन गरिन्छ। आरसीसीका सदस्यहरू स्थानीय समुदाय र रोटरीबीच पुलको रूपमा काम गर्छन्। उनीहरूले स्थानीय आवश्यकताअनुसार परियोजना अघि बढाउन सहयोग गर्छन्।

हालै गाउँलेहरूलाई करिब पाँच हजार कफीका बिरुवा वितरण गरिएको र ती बिरुवा रोपिएको उहाँले बताउनुभयो। केही वर्षअघि रोपिएका कफीका बिरुवाले अहिले राम्रो उत्पादन दिन थालेका छन्। यहाँ उत्पादित कफी काठमाडौंमा लगिएको र त्यसको गुणस्तर राम्रो देखिएको अनुभवले यस क्षेत्रको उचाइ, माटोको गुणस्तर र वातावरण कफी खेतीका लागि उपयुक्त रहेको उहाँको भनाइ छ। यसैलाई प्रोत्साहन गर्दै रोटरी क्लब अफ हेटौंडाका अध्यक्षको पहलमा दाप्चा क्षेत्रलाई ‘रोटरी कफी गाउँ’का रूपमा विकास गर्ने अवधारणा अघि बढाइएको उहाँले बताउनुभयो। पदयात्राका सहभागीहरूलाई आरसीसी नमोबुद्धका सदस्यहरूले स्थानीय खानवानसहित स्वागत तथा सत्कार गरेका थिए। स्थानीय समुदायसँगको सहकार्य, कृषि उत्पादन, पर्यटन तथा सामुदायिक विकासलाई जोड्ने प्रयासले ग्रामीण अर्थतन्त्रको सम्भावनालाई पनि उजागर गरेको छ।

यगोलले दाप्चा क्षेत्र पूर्वतर्फ जाने पुरानो र लोकप्रिय व्यापारिक मार्ग रहेको तथा नेपालको एकीकरण अभियानका क्रममा यस क्षेत्रमा क्रमश: विभिन्न किल्लाहरू निर्माण गरिएको इतिहास पनि सुनाउनुभयो। तीमध्ये केही किल्ला अहिले अन्य संरचनामा रूपान्तरण भएका छन्, कतिपय स्थानमा पानी ट्यांकीलगायतका संरचना बनेका छन्। पदयात्राका क्रममा मन्दिर परिसरमा ढुङ्गेधाराको बनावट र माथितिर फर्काइएको स्वरूपको आफ्नै सांस्कृतिक अर्थ रहेको उहाँले बताउनुभयो।

‘वर्षा नहुँदा, पानीको अभाव हुँदा पानीको स्रोतसमेत पानी मागिरहेको प्रतीकात्मक भावका रूपमा ढुङ्गेधारालाई माथितिर फर्काइएको हो। पानीका देवतासँग वर्षा माग्ने व्यंग्यात्मक तथा सांकेतिक अभिव्यक्तिका रूपमा यसलाई बुझ्न सकिन्छ। नेवारी भाषामा यसलाई होस्एति भन्ने चलन रहेको बताइन्छ,’ उहाँले भन्नुभयो। परम्परागत इनार अर्थात् कुवा पनि स्थानीय जीवनसँग जोडिएका महत्त्वपूर्ण जलस्रोत हुन्। कतिपय कुवाको पानी चिसो हुने र कतिपयमा तुलनात्मक रूपमा न्यानो पानी पाइने विशेषता रहेको उहाँको भनाइ छ।

यस क्षेत्रमा पुराना पाहुना घर तथा धर्मशालाहरू पनि रहेको, मानिसहरू यहाँ भेला हुने, मनोकामना व्यक्त गर्ने र मनोकामना पूरा भएपछि श्रद्धा तथा आस्थाका प्रतीकस्वरूप केही चढाउने परम्परा पनि रहेको उहाँले बताउनुभयो। यी सांस्कृतिक अभ्यासले क्षेत्रको ऐतिहासिक र सामाजिक महत्वलाई थप उजागर गर्छन्।

इजरायली सहकार्यमा फोहोर पानी प्रशोधन तथा सिँचाइ
काभ्रे सम्पदा अन्वेषण तथा फोटोग्राफी पदयात्राका क्रममा जनक माध्यमिक विद्यालयमा इजरायली सरकारले सहयोग गरेको फोहोर पानी प्रशोधन तथा सिँचाइसम्बन्धी योजनाको पनि अनुगमन गरिएको थियो। सौर्य प्रविधि प्रयोग गरी फोहोर पानी शुद्धीकरण गरेर सिँचाइमा प्रयोग गर्ने उक्त योजनालाई इजरायली सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिएको जानकारी सहभागीहरूलाई गराइएको थियो।

पदयात्रामा इजरायली राजदूत शमुलिक एरी बासको सहभागितासँगै उक्त परियोजनाको अनुगमन पनि कार्यक्रमको महत्वपूर्ण पक्ष बनेको थियो। फोहोर पानी प्रशोधन, पुन:प्रयोग, सौर्य प्रविधि र स्थानीय आवश्यकतासँग जोडिएको परियोजनाले वातावरणीय व्यवस्थापन तथा दिगो विकासको अवधारणालाई पर्यटन र सम्पदा अन्वेषणको यात्रासँग जोडेको थियो।

काभ्रे सम्पदा अन्वेषण तथा फोटोग्राफी पदयात्राको पाइलट कार्यक्रमलाई सफल बनाउन रोटरी क्लब अफ काठमाडौं हाइट्स, रोटरी क्लब अफ धुलिखेल, विकिमिडियन्स अफ नेपाल, होटल एसोसिएसन नेपाल–काभ्रे, युनेस्को, अन्तर्राष्ट्रिय तथा कूटनीतिक प्रतिनिधिहरू, आरसीसी नमोबुद्ध र स्थानीय समुदायको सहभागिता रहेको रोटरी धुलिखेलका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठ बताउनुहुन्छ ।

रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष मोहन कुमार श्रेष्ठले स्वदेशी तथा विदेशी पाहुनालाई लिएर दाप्चाका मठमन्दिर, सतल, विद्यालय, रोटरी क्लब, स्थानीय ज्येष्ठ नागरिक केन्द्र तथा युवा समुदायसँग जोडिएको कार्यक्रम सञ्चालन गर्नुभएको थियो। रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठका अनुसार यो अभियान काभ्रेलाई सम्पदा, संस्कृति, प्रकृति र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने प्रयासको सुरुवात हो। रोटरी क्लब अफ काठमाडौं हाइट्सका अध्यक्ष श्रीकृष्ण धितालले पनि यो कार्यक्रम एक दिनको नभई सुरुवात मात्र भएको बताउँदै निरन्तर अनुगमन, फलोअप तथा काभ्रेका अन्य क्षेत्रको पहिचान गरी सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको बताउनुभएको छ।

दाप्चाको पुरानो व्यापारिक इतिहास, मौलिक वास्तुकला, सांस्कृतिक परम्परा, मठमन्दिर, पाटीपौवा, स्थानीय समुदाय, कफी खेती, पर्यटन तथा सामाजिक विकासलाई एकीकृत गर्न सके यो क्षेत्र काभ्रेको महत्वपूर्ण सांस्कृतिक गन्तव्य बन्न सक्छ। इतिहासले बनाएको दाप्चा अब समुदाय, संरक्षण र पर्यटनको सहकार्यबाट नयाँ भविष्य खोजिरहेको छ। पुराना संरचनाको संरक्षण, मौखिक इतिहासको अभिलेखीकरण, स्थानीय संस्कृति तथा जात्रा पर्वको पुनर्जीवन, पर्यटन पूर्वाधार, स्थानीय रोजगारी र सामुदायिक सहभागितालाई एकसाथ अघि बढाउन सके दाप्चाको पुनर्जागरण केवल बस्तीको पुनर्जीवनमा सीमित रहने छैन, काभ्रेको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण अभियान बन्नेछ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास र उहाँकी धर्मपत्नी मेराभ पेलेग बास , अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) स्कट अर्बन, युनेस्कोका प्रमुख श्री जाको डु टोइट, जर्मनीको रोटरी क्लब अफ डेल्मेनहोस्र्टका पूर्व अध्यक्ष रोटेरियन राइनर ओचमान, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका निर्देशक नवराज प्याकुरेल, साथै प्रख्यात पुरातत्वविद् मोहन लामा समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। त्यस्तै विकिमिडियाका नवीन सापकोटाको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।