सुर्तीजन्य पदार्थको प्रयाेग नियन्त्रणमा योगदान गर्नेलाई पुरस्कृत गरिने



काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य कर कोष सचिवालयले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई यस वर्ष पनि पुरस्कृत गर्ने भएको छ।

कर कोष सचिवालयले विश्व धूम्रपानरहित दिवसको अवसरमा आगामी ३१ मे का दिन स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार दिने भन्दै व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, सङ्घ संस्था, कानुन कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारी मध्येबाट उत्कृष्टट छ जनालाई यो पुरस्कार प्रदान गरिने बताइएको छ।

सचिवालयले इच्छुक व्यक्ति तथा सङ्घ संस्थाले आगामी ६ जेठ भित्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कर कोष सचिवालयमा आवेदन पेस गर्न भनेको छ ।

सुर्ती नियन्त्रण सम्बन्धी उत्कृष्ट कानुन बनाए बापत नेपालले सन् २०१५ मा एक लाख डलर राशिको ब्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड पाएको थियो। तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा प्राप्त उक्त अन्तर्राष्ट्रिय अवार्डकै रकमबाट नेपालमा हरेक वर्ष छ जनालाई पुरस्कृत गर्न थालिएको हो।

यद्यपि यो पुरस्कार नियमित रूपमा वितरण भएको थिएन। यसअघि दुई पटक मात्रै यो पुरस्कार वितरण भएको छ। पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्