कुबेलामा शिक्षा मन्त्रालयमा कर्मचारी सरुवा आतंक

मन्त्रीलाई चित्त नबुझे तत्काल सरुवा !



काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेपछि दुई सहसचिवसहित झन्डै ३० कर्मचारी सरुवा गर्नुभएको छ। मन्त्री श्रेष्ठले आफूले भनेको नमान्ने र अह्याएको काम तत्काल नगर्ने कर्मचारीलाई छानिछानी सरुवा गरेको आरोप लागेको छ।

मन्त्री श्रेष्ठले पहिलो सरुवा सहसचिव शिवकुमार सापकोटालाई गर्नुभएको थियो। उहाँ आएको केही दिनमा आफूले भनेको काम नमानेका कारण शिक्षक सेवा आयोगमा सरुवा गर्नुभएको थियो। मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएका सापकोटालाई आयोगमा सरुवा गरी आयोगका सहसचिव कमल पोखरेलको सरुवा गर्नुभएको थियो।

पछिल्लो समय एक सहसचिवलाई सरुवा गर्न निकै चलखेल गर्नुभएको छ। उच्च स्रोतका अनुसार मन्त्री श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयमा पुगेर ती कर्मचारी सरुवा गर्न दबाब दिइरहनुभएको छ। मन्त्री श्रेष्ठले कर्मचारीमाथि गरेको व्यवहारका कारण कर्मचारी वाक्कदिक्क भएका छन्।

मन्त्रीको कार्यभार सम्हालेको मन्त्री श्रेष्ठले बजेट तथा योजना महाशाखा, विभिन्न निकायका १२ उपसचिव र १५ अधिकृतको सरुवा गर्नुभएको छ । मन्त्री श्रेष्ठले आफूले सरुवा गरेका कर्मचारीलाई भनेको ठाउँमा नगए कारबाहीको धम्की दिने गर्नुभएको छ।

‘मन्त्रीज्यूले अति गर्नुभयो, तत्काल यो फाइन ल्याऊ, त्यो काम तत्काल ल्याउनुस्। मलाई रिजल्ट आउने काम गर्नुपर्छ तत्काल गर्नुस् भन्दै दबाब दिने गर्नुभएको छ’ –सरुवा भएका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।

मन्त्री श्रेष्ठको निर्देशनमा उपसचिव र अधिकृत सचिव र सहसचिवको सरुवा मन्त्रीले गर्ने कानुनी प्रावधान छ। स्रोतका अनुसार पछिल्लो समूह उपसचिव रेविका अमात्य, दिव्या दवाडी, नारायण पोखरेललगायत १२ जनाको सरुवा भएको छ।

अमात्यलाई बर्दियाबाट मन्त्रालय सरुवा गरेको छ। उहाँलाई कामको कुनै जिम्मा दिएको छैन। दवाडीलाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट मन्त्रालय ल्याइएको छ । पोखरेललाई बुटवल मेडिकल कलेजबाट केन्द्रमा सरुवा गरेको छ ।

सरुवामा परेका १५ अधिकृतहरूमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) बाट मन्त्रालयको बजेट शाखा, तेजबहादुर थापालाई मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्र, पार्वती शर्मालाई शिक्षक सेवा आयोगबाट मन्त्रालय, वासु वस्तीलाई मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्र रहेका छन् ।

स्रोतका अनुसार मन्त्रीले गरेको सो निर्णयको मन्त्रालयका अधिकारीले आक्रोश जनाए पनि व्यक्त गर्न सकेका छैनन्। मन्त्रीको गतिविधि देख्दा हामी दिक्क भइसकेका छौं, एकछिनमा यो गर, एकछिनमा अर्को काम गर भन्दै तल्लो स्तरको व्यवहार गर्ने गर्नुभएको छ। मन्त्री श्रेष्ठले मन्त्रालयमा बाहिरियाको सल्लाहमा मन्त्रालयको बजेट नीति तथा कार्यक्रम तयार गर्ने, विभिन्न समिति गठन गर्नेलगायत क्रियाकलाप हुने गरेको कर्मचारीको आरोप छ।

मन्त्रालयमा अझै उच्च तहका कर्मचारीको सरुवा गर्ने तयारी गर्नुभएका मन्त्री श्रेष्ठले केही दिनमै फेरि कर्मचारी सरुवा गर्ने तयारी थाल्ने हुनुभएको कर्मचारीले जनाएका छन्।

सामान्यतया भदौ असोजमा सरुवा गर्ने प्रचलन छ तर मन्त्री श्रेष्ठले आफूलाई चित्त नबुझ्ने कर्मचारीलाई तत्काल सरुवा गर्न दबाब दिने गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्