सम्बन्ध विच्छेदको भयावह रूप

एक दशकमा ९३ हजार जोडीले गरे सम्बन्ध विच्छेद



काठमाडौं ।

सामाजिक परिवेशमा आएको परिर्वतनले नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ। गत वर्षमात्रै नेपालमा ३७ हजार जोडीले सम्बन्ध विच्छेद गरेको अभिलेख देशभरका अदालतको तथ्यांकले देखाएको छ।

नेपालमा सम्बन्ध विच्छेदलाई यसअघि सामाजिक प्रतिष्ठाको विषय बनाएर सकेसम्म अदालतमा नै गएर सम्बन्ध विच्छेद गर्नेको संख्या न्यून रहेको थियो। २०७० सालमा नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या ३ सय ९४ को हाराहारीमा रहेकोमा अहिले त्यो संख्या बढेर ३७ हजारको हाराहारीमा पुगेको छ।

कारणहरू
–युवायुवतीमा विदेश मोह
–सामाजिक सञ्जालको दुरुपयोग
–स्वतन्त्रताको नाममा स्वेच्छाचारिता
–बुहारीको काम खाने नाममा विवाह

नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्नुका प्रमुख दुई कारण रहेको अधिवक्ता गणेश शर्मा बताउनुहुन्छ। युवायुवतीमा विदेश जाने लालसाले जस्तोसुकै सामाजिक परिवेश भएका चाहे युवा हुन् चाहे युवती हुन् कानुनी विवाह गर्ने र तोकिएको ठाउँमा पुगेपछि सम्बन्ध विच्छेद गर्ने समूह ठूलो रहेको अधिवक्ता शर्मा बताउनुहुन्छ । सम्बन्ध विच्छेदको अर्को प्रमुख कारणका रूपमा नेपालमा विवाह गरेर श्रमका लागि विदेश जाने युवा शक्तिमा यो समस्या विकराल रूपमा देखा परेको उहाँ बताउनुहुन्छ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगमा आएको उच्छृंखलताका कारण पनि यो समस्या बढ्दै गएको उहाँ बताउनुहुन्छ। विवाहित जोडीमध्ये युवा रोजगारीका लागि मध्यपूर्वलगायतका मुलुकमा गएपछि गलत मनसाय राख्ने तेस्रो व्यक्तिको प्रवेश भएपछि श्रीमान् श्रीमतीबीच बेमेल हुने र त्यसको कारण सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेका मनोविद् शरद शर्मा बताउनुहुन्छ ।

अहिले श्रीमान् श्रीमतीबीचमा सामान्य कुरामा बेमेल भयो भने पनि अदालत जाने प्रचलन बढ्दो अवस्थामा रहेको छ। सम्बन्ध विच्छेदका लागि गत वर्ष आफ्नो ल फर्ममा आएकामध्ये ९ जोडीलाई सम्झाएर पठाएको अधिवक्ता शर्मा बताउनुहुन्छ। आफ्नोजस्तै अन्य ल फर्ममा पनि त्यसरी जानेको संख्या ह्वातै बढेको बताउँदै उहाँले भन्नुभयो– ‘पैसा पाइन्छ भन्ने नाममा कानुन व्यवसायी साथीहरूले सम्बन्ध विच्छेद गरिहाल्नुस् भन्ने सल्लाह दिनुहुन्न ।’ उहाँहरूले मिल्न सक्नेजस्तो देखिने मुद्दामा मिलाएर पठाउने गरेको पनि शर्माले जानकारी दिनुभयो ।

स्वतन्त्रता उपभोग गर्ने नाममा नेपालमा सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेको अर्का अधिवक्ता कमल इटनी बताउनुहुन्छ । युवायुवती नेपाल बस्न नचाहने र विदेश जानका लागि कानुनी विवाह गर्ने र आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेकाले पनि यो संख्या ह्वात्तै बढेको अधिवक्ता इटनी बताउनुहुन्छ ।

हिजो परम्परागत विवाह हुँदा कुल घर आफ्नो परम्परालाई हेरेर बस्ने गरिएको थियो भने आज सामाजिक सञ्जालबाट जोडिएर प्रेम विवाह गर्ने र सँगै बस्न थालेपछि आर्थिक तथा सामाजिक हैसियत नमिलेपछि अदालत धाउने क्रम पनि बढ्दो अवस्थामा रहेको उहाँ बताउनुहुन्छ ।

खास गरी छोरा विदेश जानुअघि बुहारीको काम खाने नाममा घरपरिवारले विवाह गरिदिने र श्रीमती छोडेर विदेश जाने युवाहरू स्वदेश फर्कंदा आफूले कमाएको पैसामात्रै गुमाएका छैनन् श्रीमती गुमाउनेहरूको संख्या बढ्दो अवस्थामा रहेको मनोविद् शर्मा बताउनुहुन्छ । यस्तै अवस्था रहने हो भने अहिले वर्षमा हजारको संख्यामा रहेको सम्बन्ध विच्छेद लाखमा पुग्न लामो समय नलाग्ने पनि उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्