बैंकर पाण्डे र टेलिकम लगानीकर्ता आचार्यविरुद्ध लेखा समितिमा उजुरी



काठमाडौं ।

ठमेलको भगवान बहालको सार्वजनिक कमल पोखरी अतिक्रमण गरी छाया सेन्टर बनाएको आरोप खेपिरहेका विवादास्पद बैंकर पृथ्वीबहादुर पाण्डे र अर्का विवादास्पद टेलिकम लगानीकर्ता सतिसलाल आचार्यको परिवारका विश्वभर रहेका खाता रोक्का गरी छानबिन अघि बढाउन माग गर्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

आइतबार परेको उक्त उजुरीमा छाया सेन्टर ठमेलमा आफ्नो आमाको नाममा कम्पनी खोली आफैं अध्यक्ष बनेर आफ्नै बैंकका राम्रा ग्राहकहरूको सहभागितामा विशाल व्यापारिक केन्द्र तथा पाँचतारे होटेलको स्थापना गरेको उल्लेख गर्दै भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार बैंकको सञ्चालक र अध्यक्ष हुनको लागि स्वार्थ बाझिनु हुँदैन। तर, यहाँ नेपालको कानुन कहाँ गयो ?’

त्यस्तै उहाँले भाटभटेनी अपार्टमेन्ट पनि आफैं निर्देशक बनेर बनाई बेचेको आरोप लगाइएको छ। त्यसै गरी एनसेलका २० प्रतिशत र स्मार्ट टेलिकका ८० प्रतिशत सेयरधनी सतिसलाल आचार्यले र उहाँका भाइ सचिनलाल आचार्यले स्मार्ट टेलिकमका २० प्रतिशतले सरकारलाई तिर्नुपर्ने लगभग १० अर्ब रुपियाँ नबुझाएको सार्वजनिक भइसकेको जिकिर गर्दै उजुरीमा भनिएको छ– ‘एनसेलको वार्षिक नाफा औसतमा १० अर्बभन्दा बढी छ र आचार्य परिवारको सेयर २० प्रतिशत यानी कि आचार्य परिवारले वार्षिक २ अर्बभन्दा बढी लाभांश पायो । कमाइ हुँदाहुँदै नेपाल सरकारले विगत १० वर्षदेखि किन उठाएन ? विगत १० वर्षदेखि सरकारलाई तिनुपर्ने करहरू नतिरेको स्मार्ट टेलिकमलाई कुनै कारबाही नगरी खुरुक्क नेपाल दुरसञ्चार प्राधिकरणले लियो ।’

उजुरीमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकबाट प्राइम कमर्सियल बैंकसँगको सहवित्तीयकरण परियोजनाअन्तर्गत हालै टाट उल्टिएर सरकारले कब्जा गरेको सतिसलाल आचार्यको पारिवारिक कम्पनी स्मार्ट टेलिकमलाई साढे दुई अर्बभन्दा बढी कर्जा दिएको, सरकारले स्मार्ट सेल कब्जा गरेपछि सरकारबाटै उक्त कर्जा उठाउने प्रपञ्च मिलाएको आरोप लगाउँदै ती दुवै बैंकको व्यवस्थापनको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिनसमेत उजुरीमा माग गरिएको छ।

उजुरीमा पाण्डे र आचार्यको परिवारको सबै खाता रोक्का गर्दै उनीहरूलाई पक्राउ गर्नसमेत माग गरिएको छ।

CamScanner 05-07-2024 18.18

प्रतिक्रिया दिनुहोस्