प्रदेश युवा सम्मेलनमा त्रिपक्षीय सम्झौता



हेटौंडा ।

वागमती प्रदेशस्तरको युवा सम्मेलनमा स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरुको समन्वयमा सञ्चालन गरी तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सिप परीक्षण हुने भएको छ ।

सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् यसबारे जानकारी गराउनुभएको हो । बैशाख २८, २९ र ३० गते प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुने भएको छ ।
सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुने उपाध्यक्ष चौलागाईंले बताउनुभयो ।

वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत प्रदेश युवा सम्मेलन गर्न लागिएको उहाँको भनाइ छ । प्रदेश युवा नीति, २०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ ।

यस वर्ष प्रदेशका ५ हजार युवालाई १० वटा क्षेत्रमा एक सय भन्दामाथिको पेशाका सिप सिकाइ परीक्षणपश्चात टेवा पुँजी प्रदान गरिने उहाँले बताउनुभयो । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र सूचना तथा सञ्चार क्षेत्रमा तालिम दिइनेछ । सम्मेलनमा सहभागी युवालक्षित अन्तत्र्रिmया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको ब्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप रहने कार्यकारी उपाध्यक्ष चौलागाईंले बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा शिक्षातर्फ विशेषगरि विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको आकर्षण नहुनु, शिक्षाका लागि विदेशिने प्रवृत्तिका विषयमा बहस हुनेछ । युवा सम्मेलनमा शिक्षामा कहाँ छ समस्या, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सिपः देशमा लगानीको सम्भावना र मुख्यमन्त्रीसँग कुरालगायत विषयवस्तुमाथि छलफल हुने परिषद्ले जनाएको छ ।

विभिन्न सत्रमा उठान भएका मुद्धामा छलफलका लागि युवा सम्मेलनको अन्तिम दिन बैशाख २९ मा मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्ने तयारी परिषद्को छ । सम्मेलनमा सहभागी हुन ५ सय ३७ जनाले अनलाइनमार्फत आवेदन दिएकामध्ये २ सय जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ । सम्मेलनमा सहभागी हुने २ सय जना प्रदेशका सबै १ सय १९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्