जापानी विदेशमन्त्री योकोको नेपाल भ्रमण

नेपाललाई विकासशील मुलुक बनाउन जापान दृढ



काठमाडौं।

नेपालको प्रमुख विकास साझेदार देश जापानका विदेशमन्त्री खामिखावा योकोले संयुक्त राष्ट्रसंघको अति कम विकसित मुलुकबाट यसै वर्ष स्तरोन्नति हुन लागेको नेपाललाई यसका लागि आवश्यक थप विकासका लागि जापानले दृढतापूर्वक सहयोग गर्दै जाने बताएकी छन् ।

नेपालको एक दिने भ्रमणमा आइतबार काठमाडौं आएकी जापानी विदेशमन्त्री योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्तामा नेपाललाई विकासशील मुलुकको रुपमा स्तरोन्नतिका लागि जापानको दृढ सहयोग रहने विश्वास दिलाएकी हुन् । उनले नेपालको दीगो विकास र स्थायित्व जापानको एक मात्र चाहना भएको उल्लेख गदै जापानले यसैका लागि सन् १९६९ देखि नै नेपालको भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गर्दै विद्युत, सडक, खानेपानी, विमानस्थललगायतका पूर्वाधार निर्माण र कृषि, शिक्षा, स्वास्थ्य उपचारलगायतका क्षेत्रमो सहयोग गर्दै आएको बताइन् ।

जापानको विदेशमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक नेपाल आएकी जापानी विदेशमन्त्री योकोसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले पु¥याउँदै आएको सहयोगको सरहाना गर्दै पछिल्लो समयमा ठूला पूर्वाधार निर्माणमा गरेको सहयोगका लागि पनि आभार व्यक्त गरे ।

जापानकै सहयोगमा पछिल्लो समयमा नेपालको पहिलो पहाडी सडक नागढुंगा सुरङमार्ग हालसालै छिचोलिएको छ । यो सुरुङमार्गको निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्जाल सहज हुने विश्वास लिइएको छ । जापानले ‘बिल्ड ब्याक बेटर’ शिर्षकअन्तर्गत विद्यालय, निजी आवास र सार्वजनिक भवन पुनर्निर्माणको क्षेत्रमा ३२ अर्बभन्दा बढी जापानी येन सहायता प्रदान गरेको छ ।

आइतबार अपरान्ह परराष्ट्र मन्त्रालयमा भएको प्रतिनिधिमण्डलस्तरिय वार्तामा द्विपक्षिय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले बताए । भेटवार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै उनले दुबै देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई अझै फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए । साथै उनले वार्तामा विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भएको बताए ।

नेपाल र जापानबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको बेलामा भएको जापानी विदेशमन्त्रीको सदभाव भ्रमणमा कुनै पनि सम्झौता तथा सहमतिहरूमा हस्ताक्षर नभए पनि सद्भाव भ्रमण नै ठूलो भएको जापानका लागि पूर्व राजदूत मदनकुमार भट्टराईले बताए । जापानले सधैं नेपालमा स्थिरता होस्, दीर्घकालिन विकास होस् र नेपालीको जीवनस्तर बढोस् भन्ने चाहना राख्दै आएको जिकिर गर्दै पूर्व राजदूत भट्टराईले भने– ‘जापानले हामीलाई दिने सहयोग त्यसैबाट निर्देशित छ । आपसी सम्बन्धमा कुनै पनि समस्या नभएको जापानका विदेशमन्त्रीको भ्रमण आगामी दिनमा जापानको सहयोग सहयोग बढाउन लाभदायी हुने विश्वास गर्न सकिन्छ ।’

जापानी विदेशमन्त्री योको राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा आयोजना गरेको रात्री भोजमा सहभागी भएकी थिइन् । यसअघि उनले बसन्तपुर दरबार क्षेत्रको अवलोकन पनि गरी त्यहाँ एउटा बुद्धको मूर्ति पनि खरिद गरेकी थिइन् ।

 विदेशमन्त्री योको आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्