एमाले प्यूठानले तोक्यो दशौं अधिवेशनको मिति



प्यूठान ।

 नेकपा (एमाले) प्यूठानको जिल्ला दशौं अधिवेशन  जेठमा हुने भएको छ । आइतबार बसेको जिल्ला कमिटीको एघारौं बैठकले आगामी जेठ २० र २१ गते अधिवेशन गर्ने  निर्णय लिएको हो ।

नेकपा एमालेको बैठकले  जेठ १० गते प्रतिनिधि चयन गर्ने मिति तोकेको एमाले प्युठानका अध्यक्ष विष्टले बताए । बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय पनि गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले सबै नेतालाई जिल्ला अधिवेशनको तयारीमा लाग्न निर्देशन दिए । अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गरे ।

उनले पार्टीमा नीति र नेतृत्वको विषयमा समस्यामा नरहेको भन्दै अधिवेशनलाई एकताबद्ध भएर जानुपर्ने बताए । उनले जिल्ला अधिवेशनबाट सर्वसम्मत कमिटी बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए।

बैठकमा विशेष अतिथि एमाले पोलिटब्युरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमाले जीवन्त पार्टी भएको बताए । उनले पार्टीको विधि विधान अनुसार अधिवेशन, महाधिवेशन, बैठक, भेला हुने गरेको बताए ।

नेकपा (एमाले) प्युठानका पूर्व अध्यक्ष हरि प्रसाद रिजालले मिसन ०८४ लाई लक्षित गरेर लाग्नुपर्ने अवस्था रहेको बताए । पार्टीलाई अनुशासित, गतिशील र बलियो बनाउन सबै नेता कार्यकर्ता लाग्न आग्रह गरे ।

२०७८ पुसमा भएको नवौं अधिवेशनबाट विजय बिराज बिष्टको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्