अन्तिम खेलमा अनिल र आसिफको शानदार प्रदर्शन



काठमाडौं । 

नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँचौं तथा अन्तिम खेलमा ६ विकेटको शानदार जित हासिल गरेको छ ।

यो शृंखला वेस्ट इन्डिजले पहिलै जितिसकेकोले नेपालको लागि यो जित सान्त्वना बन्यो । त्रिवि मैदानमा शनिबार भएको खेलमा वेस्ट इन्डिजले १ सय ७३ रनको लक्ष्य दिएको थियो । यो लक्ष्य प्राप्त गर्न नेपालले ४ विकेट मात्रै गुमायो । जसमा अनिल साह र आसिफ शेखले अर्धशतकीय इनिङ खेले । उनीहरूले दोस्रो विकेटका लागि गरेको ९६ रनको साझेदारीले नै जितको आधार तयार भएको थियो ।

यो जितले नेपाली टोलीलाई आगामी विश्वकप टी २० क्रिकेट खेल्नमा हौसला मिल्ने विश्वास गर्न सकिन्छ । किनभने यसअघिका खेलमा कप्तान रोहित पौडेल मात्रै एक्लो खेलाडीले वेस्ट इन्डिजविरुद्ध खेल्न सके । तर, यो पाँचौं खेलमा भने आसिफ शेख, अनिल साह र कुशल मल्लले शानदार खेल देखाए । उनीहरूको ब्याटिङ चल्नु नै नेपालको लागि सकारात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

यसअघि ५, १ र १७ रन बनाएका अनिलले यस खेलमा ५८ रन बनाए । उनलाई विश्वकपका लागि छनौट गर्दा लोकेश बमलाई छोडिएको थियो । तर, उनले शृंखलाअन्तर्गत पाँचौं खेलमा राम्रो खेले । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । उनले बल भने धेरै खेलेका थिए । टी २० को फरम्याटमा उनले सामना गरेको ४४ बल बढी नै मान्नुपर्छ । यसमा भने उनले सुधार गर्न आवश्यक छ ।

नेपाललाई सान्त्वना जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका अर्का खेलाडी आसिफ हुन् । आसिफले ५१ रन बनाउन ३५ बलको सामना गरे । उनले ५ छक्का र २ चौका प्रहार गरेका थिए । उनले यसअघि १२ र १ रन बनाए भने अघिल्लो खेलमा उनी शून्यमै आउट भएका थिए । उनको ब्याटिङमा सुधार भएको छ ।

यस्तै कुशल मल्ल जुन ब्याटिङको लागि परिचित छन् । उनले यस खेलमा यो खुबी देखाए । अघिल्ला खेलमा १६, २० र ४ रन बनाएका उनी एक खेलमा शून्यमै आउट भएका थिए । उनले यो पाँचौं खेलमा भने आफ्नो परानो लय समात्दै १८ बलमै ३ छक्का र ३ चौकाको सहयोगमा ३७ रन बनाए । यसले अर्को इन्डमा रहेका कप्तान रोहितले एक बलको पनि सामना गर्नुपरेनन् ।

दीपेन्द्र र भुर्तेलको समस्या
यो पाँच खेलको शृंखलामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको प्रदर्शन भने खासै उल्लेखनीय रहेन । दीपेन्द्रले पाँचै खेल खेल्दा कूल ५८ रन बनाए । अघिल्ला खेलमा क्रमशः २४, ३, ७ र १९ रन बनाएका उनले हिजोको खेलमा ५ रन मात्रै जोड्न सके । कुशल भुर्तेलले बलिङमा त राम्रै गरिरहेका छन् । तर, उनले ब्याटिङ गर्न भुले जस्तै छ । उनले शृंखलामा कूल ५१ रन मात्रै बटुले । उनले शृंखलामा क्रमशः १६, २, १९, १ र १३ रन बनाए ।

प्लेयर अफ द सिरिज रोहित
रोहित पौडेलले नेपालका लागि १ शतक र २ अर्धशतक प्रहार गरे । तेस्रो खेल नखेलेका उनले चार खेलबाट कूल २ सय ६५ रन बनाएका थिए । प्लेयर अफ द सिरिज घोषित रोहितले पहिलो खेलमा १ सय १२ रन बनाएर नेपाललाई जित दिलाए । दोस्रो खेलमा ७१ रन जोडेपनि नेपाल १० रनले पराजित भयो । तेस्रो खेलमा उनले विश्राम लिए भने चौथो खेलमा फेरि एकपटक उत्कृष्ट खेल देखाए । उनले ८२ रन बनाएका थिए । पाँचौं खेलमा भने उनी एक इन्डमै रहे र एक बल पनि सामना गर्नुपरेन ।

सागरले बढी विकेट लिए
बलिङमा सागर ढकालले सर्वाधिक ६ विकेट लिए । सोमपाल कामी र कुशल भुर्तेलले ४÷४ विकेट लिए भने रोहित पौडेल र करण केसीले १÷१ विकेट लिएका थिए । यस्तै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले २÷२ विकेट हासिल गरे । कुशल मल्ल र गुलशन झाले दुई–दुई पटक बलिङ गरे तर, उनीहरूलाई विकेट प्राप्त भएन । एक विकेट प्रतिश जिसीले पनि प्राप्त गरे ।
तर, ललित राजवंशीले दुई पटक बलिङ गर्दा पनि विकेट प्राप्त गर्न सकेनन् । पहिलो खेलमा ३४ रन खर्चेका उनले चौथो खेलमा भने ५३ रन दिएका थिए । यो खेलमा उनको बलिङ राम्रो भएको थिएन । ललितको यो प्रदर्शन जारी रहेमा विश्वकपमा नेपाललाई लाभ हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस्