लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाइ पारहुने भनाई



बुटवल  । 

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आजदेखि लुम्बिनीमा सुरु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाइ पार गर्न सकिने बताउनुभयो ।

गोष्ठीमा बोल्दै विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, बैमनस्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षाको जीवनोपयोगी बनाउनेगरी प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । राष्ट्र तथा व्यक्तिहरुबीचमा असमझदारी, पर्यावरणीय हानी नोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनिकरण गर्नका लागि बुद्धका उपदेशहरुको परिपालना महत्वपूर्ण कडी हुने भन्दै विज्ञहरुले बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिनुभयो । बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरुको समाधान खोजिनुपर्ने विज्ञहरुले उल्लेख गर्नु भयोे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा शुरु भएको “विश्वव्यापी चुनौतिहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता” विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरुले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरु परिवर्तन हुने बताएका हुन् ।

थाइल्याण्डका प्रा.डा.भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताउनुभयो । विश्वमा मैत्री, करुणा र शान्ती कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले यसलाई सघाउ पु¥याउने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रुपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । विश्वमा झण्डै १ अर्ब बौद्ध अनुयायी रहेको भन्दै उनीहरुलाई जोड्दै बौद्ध शिक्षाको प्रवद्र्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दै जाने बताउनुभयो । नेपालको शैक्षिक योजनाहरुमा बौद्ध शिक्षालाई जोडिने उहाँको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदानलाई गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवद्र्धनमा योगदान पु¥याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

बौद्धिक विकास मात्र नभई व्यक्तिमा आवश्यक जीवन सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय सेमिनार एक उत्कृष्ट सफलता, सहयोगलाई बढावा दिने, नवप्रवर्तनलाई प्रेरणा दिने र समग्र मानवताको उन्नतिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई ब्यवहारिक जीवनमा प्रयोग गर्न आवस्यक रहेको बताउनुभयो ।

गोष्ठीको उद्घाटन कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधीका रुपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मंंगोलियका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछे लगायतले शुभकामना दिदै बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यवहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्