आउँदो८४  सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहँदैन थाहा छैन : पूर्वमन्त्री आले



डोटी। 

नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी पार्टी र कलम चिन्ह रहने कि नरहने अन्योल भएको बताएका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ मा रहेको कफलकट्टेस्वर आधारभूत विद्यालयको ६० औँ स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले आफूले २०५४ सालबाट वडासदस्य, जिबिस सदस्यदेखि सांसद सम्मको निर्वाचनमा पाँच पटक सूर्य चिन्हबाट चुनाव लडेको एवं छैटौँ पटक कलमबाट चुनाव लडेको जानकारी दिँदै  अबको २०८४ सालमा कमल चिन्ह र नेकपा (एकीकृत समाजवादी) पार्टी रहन्छ कि रहँदैन भन्ने अन्योल भएको बताए ।

उनले भने, “पाँच पटक मैले सूर्य चिन्ह लिएर चुनाव लडे, यो पटक कलम चिन्ह लिएर चुनाव लडे जिते, अब कमल चिन्ह रहन्छ कि रहँदैन मलाई थाहा छैन ।” यसैगरी उनले कमल चिन्हमा आफ्नो अमूल्य मतदान गर्ने तथा डोटेली जनताको सुख, दुःखमा साथ दिने र डोटीको समग्र विकासका लागि आफू कहिले पनि पछि नपर्ने बताए ।

पछिल्लो समय पार्टी भित्रका केही नेताहरुका कारण समाजवादी पार्टी रहने या नरहने भन्ने अन्योल भएको उनको भनाई छ । समग्र डोटी जिल्लाको विकास नै आफ्नो योजना र लक्ष भएकाले डोटीका जनताले घरैमा सेवा सुविधा पाउने गरी आफुलेविकास गर्दै आएको र भविष्यमा पनि थुप्रै विकासका काम गर्ने बताए ।

उनले भने, “चुनावको समयमा मात्रै हामी आफ्ना आफ्ना पार्टीका झन्डा बोकेर हिन्ने हो, अन्य समय हामी डोटीबासी भएको र डोटी र डोटेली जनताको विकासका लागि राजनीतिमा होमिएकाले सबै राजनीतिक दलका साथीहरुले एकजुट भएर यहाँको विकासका लागि अग्रसर हुनु पर्छ ।”

सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री एवं सांसद आलेले उक्त कफलकट्टेस्वर आधारभूत विद्यालयको स्तरोन्नति एवं कक्षा १० सम्म सञ्चालन गर्नका लागि आफ्ना स्वर्गीय बुवा टेकबहादुर आले तथा आमा गंगादेबी आलेको स्मृतीमा एक लाख ५७ हजार ७५१ रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन्। उनले डोटीको जोरायलको गोल्डेनदेखि खारतोली, बगस्ति हुँदै निरौली खसरे एवं घोरडीदेखि मल्लो बडाखेत, तल्लो बडाखेत, बगस्ति हुँदै निरौली खसरे जोड्ने सडकमा १२ करोड बजेट यो वर्ष विनियोजन भइरहेको जानकारी समेत दिए ।

जोरायल गाउँपालिका–२ बुडरमा रहेको रामपुर मावि एवं कफलकट्टेस्वर आधारभूत विद्यालयको थप विकास, स्तरोन्नतीदेखि खेलकुद मैदान निर्माणका लागि आफूले बजेट विनियोजन गराउन पहल गर्ने आश्वासन समेत दिएका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले खुटिया, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकका लागि आफूले यो वर्ष कम्तिमा पनि एक अर्ब बजेट विनियोजन गराउने समेत जिकिर गरे । यसैगरी उनले सङ्घीय सरकार, प्रदेश सरकार तथा गाउँपालिकाबाट विकासका लागि विनियोजन भएको बजेटमा सबैले खबरदारी गरी विकासका लागि आएको बजेट सही सदुपयोग गराउन लाग्नु पर्ने बताए ।

कफलकट्टेस्वर आधारभूत विद्यालयको ६० औँ स्वर्ण महोत्सवका लागि त्यहाँ पुगेका पूर्वमन्त्री एवं सांसद आलेलाई त्यहाँका जनताले विभिन्न बाजागाँजा सहित भव्य स्वागत गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा उनले यहाँको छहरा झर्नाको स्तरोन्नति तथा विकासका लागि ८ करोड बजेट विनियोजन गरेका थिए ।

उक्त बजेटबाट अहिले के कति काम भएको छ भन्ने विषयमा जानकारी लिन उनले त्यसको स्थलगत अनुगमन समेत गरेका थिए । आफ्नो एक छाक खाना काटेर भएपनि कफलकट्टेस्वर आधारभूत विद्यालयको स्तरोन्नति लगायत अन्य विकासका लागि आर्थिक सहयोग गरेको भन्दै उनले आर्थिक सहयोग गर्ने सबैलाई जनप्रतिनिधीका हैसियतले धन्यवाद समेत ज्ञापन गरेका थिए ।

जनजातिको जम्मा दुई प्रतिशत जनसंख्या रहेको डोटीमा सांसद आलेले वडासदस्य, जिवस सदस्यदेखि तीन पटक प्रतिनिधि सभामा लगातार निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्