सत्ता गठबन्धनको ‘खटपट’ले ओली-दाहाल अप्ठ्यारोमा



काठमाडौं ।

सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रूपमा देखिएको खटपटले गठबन्धनका शीर्ष नेताहरूमा छटपटी चलेको छ।

आन्तरिक खटपट व्यवस्थापन गर्ने कुरामा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका हुन्।

सोही विषयलाई लिए र दुई नेताबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई घण्टाभन्दा बढी छलफल भएको थियो। बिहान ११ः४० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिनुभएको थियो। भेटवार्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो।

प्रचण्ड–ओलीले फागुन २१ मा नयाँ सत्ता समीकरण गरेपश्चात् विश्वासको मत पुर्‍याउनका लागि पटकपटक घर पुगेर सत्ता सहकार्यमा जोडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति चरम असन्तुष्टि पोख्दै आउनुभएको छ।

शीर्ष दुई नेताको बिहीबारको भेटमा गठबन्धनमा माधव नेपालको असन्तुष्टि, प्रदेश सरकार गठन र विश्वासको मत प्राप्तिमा देखिएका समस्या, उपनिर्वाचनको समीक्षा र बजेट अधिवेशनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

एकीकृत समाजवादीका नेताहरूले आलोपालोमा प्रधानमन्त्री लेनदेनको सहमति भएको बताएपछि ओलीले संसद्मै खण्डन गरेको विषयलाई पनि नेकपा एसका नेताहरूले राजनीति ‘कोर्स करेक्सन’को एजेन्डा बनाउन खोजेका छन्।

सत्ता समीकरण फेर्दा ओली र प्रचण्डले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री दिने मौखिक सहमति गरेका थिए। पछि ओलीले माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने चाल चालेपछि आफूहरूसँग गरिएका सहमति र बाचा कार्यान्वयनमा ओली अनुदार बनेको एकीकृत समाजवादीको निष्कर्ष छ।

एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख १७ गते सार्वजनिक रूपमै आफू प्रधानमन्त्री बन्ने कुराले कतिपयलाई पोल्ने गरेका बताउनुभएको थियो।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ। पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ। त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ’ –नेपालले भन्नुभएको थियो ।

त्यसपछि १८ गते प्रधानमन्त्री प्रचण्डले नेपाललाई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो। उक्त छलफलको विषयलाई लिएर राजनीतिक वृत्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर एकीकृत समाजवादीले वैकल्पिक गठबन्धनका लागि अग्रसरता लिएको चर्चासमेत चल्न थालेको छ।

सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादीसमेत यो गठबन्धनप्रति सन्तुष्ट छैन। सो दलका अध्यक्ष उपेन्द्र यादवसँग समेत गठबन्धन परिवर्तनका सन्दर्भमा नेकपा एसका नेताहरूले निरन्तर संवाद अघि बढाएको बताइएको छ। पुरानो गठबन्धन बिउँताएर माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सार्ने विषयमा मंगलबार सिंहदबारस्थित जसपाको संसदीय दलको कार्यालयमा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जसपाका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो।

सत्तारुढ गठबन्धनमा देखिएको यो समस्या समाधान गर्दै सबैलाई मिलाएर लामो समय सरकार चलाउने विषय प्रधानमन्त्री प्रचण्डलाई पेचिलो बन्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बताउनुभयो। गठबन्धनभित्र आएको समस्याको फाइदा लिने दाउमा रहेको कांग्रेसले वर्तमान सरकारको आयु छोटिँदै गएको दाबी गरेको छ।

प्रतिपक्षले यस्तो दाबी दोहोर्‍याइरहँदा नेकपा एसले प्रदेश सरकारमा भागबन्डाको विषयलाई लिएर गठबन्धनका मुख्य घटक एमाले–माओवादीले गरेका निर्णयहरू उल्ट्याउँदै आउनुले गठबन्धन टिक्नेमा थप संशय उत्पन्न भएको सत्ताधारी दलकै कतिपय नेताहरूले प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री सोडारीप्रति विश्वासको संकट

यसैबीच नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका नेकपा एसका नेता दीर्घबहादुर सोडारीले सत्ता साझेदार दलमा छलफल नै नगरी बिहीबार विश्वासको मत लिने तयारी गरेपछि एमाले र माओवादी रुष्ट बनेका छन्।

मुख्य मन्त्री बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर आफ्नै नेतालाई अघि सारेको नेकपा एसलाई गठबन्धन बचाउने नाममा प्रचण्ड–ओलीले स्वीकार्दै समाजवादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनाएका थिए।

‘छलफल र सहमतिबिनै उहाँहरूले विश्वासको मत लिने भनेर बैठक आह्वानको तयारी गर्नुभएको छ’, एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले भनेका छन्, तर हामीलाई थाहा नै छैन । छलफल नै नगरी बोलाएको भोलिको बैठक सर्न सक्छ । यदि, सरेन भने हामी विश्वासको मत दिन सक्दैनौं।’

उता, बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा समेत एकीकृत समाजवादीले सहमतिविपरीत एमाले उम्मेदवार हराउन लागेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको नेताहरूले बताए।

‘उपनिर्वाचनमा एकीकृत समाजवादी र एमाले नेताहरूबीच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भन्नुभयो–‘तर उहाँहरू एमाले उम्मेदवारलाई नै हराउन लाग्नुभयो। सहमति एउटा, काम अर्को भएपछि गठबन्धनभित्रको एउटा दल नेकपा एसप्रति विश्वासमा संकट थपिएको छ।’

प्रतिक्रिया दिनुहोस्