खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य हुन्छ : गृहमन्त्री लामिछाने



काठमाडौँ।

गृहमन्त्री रवि लामिछाने अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गरेका छन्। बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले केदीलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको पनि बताए।

‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ। त्यसबारे छलफल सुरु गरिसकेका छौं,’ गृहमन्त्री लामिछानले भने। साथै, उनले कैद मिनाहका लागि कैदीले पहुँच खोज्ने भन्दा पनि आचरण सुधार्नुपर्ने आवश्यक्ता औंल्याए। ‘असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न, सरकार छ,’उनले भने।

उनले कारागारहरू याताना केन्द्र भन्दा पनि सुधार गृह बनून् भन्ने सरकार सचेत रहेको पनि बताए।

‘सरकारका तर्फबाट गर्नुपर्ने सुधारका काम निकै छन्। आवश्यक प्रयास भइरहेको छ। सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित हुन गाह्रो छ। त्यसतर्फ पनि हामी सचेत बन्नुपर्छ,’ लामिछानेले भने।

प्रतिक्रिया दिनुहोस्