५ सय २० मिटर सडक खनेर ३९ लाख झ्वाम



 काठमाडौं ।

कालिकोटको महावै गाउँपालिकामा ५ सय २० मिटर सडक खनेर ३९ लाख रुपियाँ अनियमितता गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले सो गाउँपालिकाको सिमखेतदेखि ओदा जाने सडक निर्माणमा ३८ लाख ७६ हजार २ सय ७७ रुपियाँ भ्रष्टाचार भएको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिनुभयो।

सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी परेपछि आयोगले छानबिन थालेको थियो। त्यसमा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह र वडा अध्यक्षसहित ९ जनाको मिलेमतो रहेको आयोगले जनाएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷२०७६ मा सिमखेतदेखि पादमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गराएको पाइएको छ । सो कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्बाइ ८ सय २० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको आयोगको जनाएको छ। तर, फिल्डमा सडकको वास्तविक लम्बाइ ५ सय २० मिटर, चौडाइ औसत ३ दशमलव ७ मिटर र कडा चट्टान काटिएको परिमाण १ सय ६९ दशमलव ८० घनमिटर मात्र देखिएको आयोगको ठम्याइ रहेको छ।

‘यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार २ सय ७७ रुपियाँ बढी भुक्तानी गरी आफूहरूलाई गैरकानुनी लाभ र गाउँपालिकालाई हानि पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको छ’ –प्रवक्ता घिमिरले भन्नुभयो।

आयोगले त्यस कार्यमा संलग्न तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सब–इन्जिनियर हरिप्रसाद पाण्डेय, तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही र सोही गाउँपालिका–२ का तत्कालीन वडाअध्यक्ष गौकला सिंहविरुद्ध विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो।

त्यसै गरी सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव ददी कामी भनिने दधि कामी र लेखापाल मलिम रावतविरुद्ध पनि मुद्दा दायर गरिएको थियो । सबैलाई ३८ लाख ७६ हजार २ सय ७७ रुपियाँ बिगो जरिवाना मागदाबी लिइएको आयोगले जनाएको छ ।

त्यसै गरी आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गर्‍यो। चंखेली गाउँपालिका–३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा सो मुद्दा दायर गरेको हो।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, चंखेली गाउँपालिका–३ का तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। उनीहरू सबैको मिलेमतोमा आ.व.२०७४/०७५ मा सञ्चालित बाटो निर्माण कार्यमा अनियमितता गरेको खुलेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

निर्माणस्थलको वास्तविक तथ्य बंग्याई भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई २ लाख २२ हजार ५ सय ३ रुपियाँ १७ पैसा बढी भुक्तानी दिएको पाइएकाले आयोगले जनाएको छ । त्यसले गर्दा शाही, वली र बुढालाई सोही बिगो कायम गरी मागदाबी लिइएको घिमिरेले जानकारी दिनुभयो ।

यसै गरी तत्कालीन वडा अध्यक्ष ऐडीले पनि बाटो निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (घ) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्