नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच तेस्रो खेल आज

नेपाली ब्याटिङ रोहितको भरमा



काठमाडौं ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजको ए टोलीसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० शृंखलाअन्तर्गत तेस्रो खेल आज खेल्दैछ। अघिल्ला दुई खेलमा दुबै टोलीले एक–एक खेल जितेर ५ खेलको शृंखला १–१ बराबरी गरेको अवस्थामा छ।

पछिल्ला दुई खेलमै नेपालको भर कप्तान रोहित पौडेलमा नै रहेको छ। रोहितले दुबै खेलमा कप्तानीको भुमिका राम्ररी गरेका हुन्। पहिलो खेलमा उनले शतक प्रहार गरे भने दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए। उनले दुई खेलमा १ सय ८३ रन बटुल्दा अन्य खेलाडीको प्रदर्शन भने बिर्सनलायक थियो।

पहिलो खेलमा पाहुना टोली वेस्ट इन्डिजले २ सय ५ रनको लक्ष्य दिएको थियो। यो रन ठूलो थियो। तर, नेपालले रोहितको शतकको सहयोगमा नेपालले ४ विकेटले जितेको थियो। यो खेलमा रोहितको प्रदर्शनपछि अन्य खेलाडीको प्रदर्शन हेर्‍यो भने निरास नै हात पर्छ।

ओपनरमा कुशल भुर्तेल र अनिल साहलाई जिम्मा दिइएको थियो । तर, दुबै जनाले निरास गरेका थिए। अनिल ५ रन र कुशल १२ रनमा आउट भएपछि दुबै ओपनर ३८ रनसम्म पभेलियन फर्केका थिए। अनिललाई मौका दियो तर, उनले यसलाई राम्ररी लिन सकेनन् । पछिल्ला केही खेलदेखि कुशलको ब्याट पनि सुस्ताइरहेको छ। यसले आगामी विश्वकपमा समस्या देखिने पक्कै छ।

यो खेलमा दीपेन्द्रसिंह ऐरी २४ रन र कुशल मल्ल १६ रनमै सीमित भएका थिए। यो पनि नेपाली टोलीका लागि समस्या बनिरहेको छ । दीपेन्द्र र कुशल नेपालका उत्कृष्ट आक्रमक ब्याटरमा पर्छन्। तर, अहिले उनीहरूको लय हेर्दा नेपालले विश्वकपमा मध्यक्रम कसरी सम्हालिने यसैमा सन्देह बढेको छ ।

दोस्रो खेलमा पनि उस्तै उस्तै कथा भएको छ। यो खेलमा त वेस्ट इन्डिजले १ सय ६१ रनको लक्ष्य दिएको थियो। तर, यसको जवाफमा नेपाली टोली १ सय ५० रनमै सीमित भएर १० रनले पराजित भयो। यहाँ हारजितको भन्दा पनि नेपाली खेलाडीको प्रदर्शन नै चिन्ताको विषय बनेको छ । यो खेलमा कप्तान रोहितले ७१ रन बनाउँदा अन्य खेलाडीको योगदान निकै न्यून देखियो।

यो खेलमा लोकेश बमलाई ओपनिङको जिम्मा दिएपनि उनी घाइते बनेपछि सोचे जस्तो उनले ब्याटिङ गर्न सकेनन्। उनी १७ रनमै पभेलियन फर्के। अर्का ओपनर कुशल भुर्तेलको खराब ब्याटिङ जारी नै छ । उनले २ रन मात्रै बनाउन सके। यसपछि अनिल साह फेरि एकपटक फ्लप भए । उनले १ रनको योगदान दिए।

दुई खेलमा ओपनर ब्याटर फरक फरक उतार्दा पनि नेपालको लागि फलिफाप देखिएन। यस खेलमा लोकेश र कुशललाई ओपनिङमा ल्याइएको थियो भने अनिललाई तेस्रो नम्बरमा ब्याटिङ गर्न जिम्मा दिइएको थियो। कुशल मल्ल शून्यमै आउट भए भने गुलशन झाले भने कोशिस गरेका थिए।

उनले ११ बलमा २६ रन बनाएका थिए। यदि आज हुने खेलमा पनि उनीहरूले मौका पाएमा छनोटकर्ताको ध्यानकेन्द्रीत हुने गरी प्रदर्शन गर्नु आवश्यक छ । कप्तान रोहितमाथि धेरै दवाब सिर्जना कम गर्नु पर्ने उनीहरूको भुमिका हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्