निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

लटरपटर गरेर आफूले रोजेको ठेकेदारलाई नै ठेक्का दिने प्रपन्च



काठमाडौं ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का लगाउने क्रममा नै गडबडी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रश्न उठाए पनि भरतपुर महानगरपालिकाले लटरपटर गरेर आफूले रोजेको ठेकेदारलाई नै ठेक्का दिने प्रपन्च रचेको छ।

झण्डै १ अर्ब २२ करोडको लगानीमा निर्माण हुन लागेको उक्त आयोजनालाई भरतपुर महानगरपालिकाले महानगरको गौरवको आयोजना घोषणा गरेर रंगशाला निर्माणलाई अघि बढाउन लागेको भए पनि महानगरका कार्यकारीदेखि इन्जिनियरको मिलेमतोमा आफ्ना मान्छेलाई टेन्डर पार्न अवान्छित गतिविधि गरेपछि निर्माण व्यवसायीले तीव्र विरोध गरेका थिए।

हाँस्य कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्बको लागतमा उक्त रगंशाला निर्माण गर्ने घोषणा गरेर काम शुरू भएको भए पनि भने जति रकम संकलन नभएपछि रंगशालाको काम बीचमा नै रोकिएको थियो।

काम बीचमा नै रोकीएपछि भरतपुर महानगरपालिकाले महानागरको गौरवको आयोजना घोषणा गरेर निर्माण कार्य अघि बढाउने तयारीमा नै चलखेल भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले महानगरलाई टेन्डर प्रक्रियामा बारेमा सचेत गराउँदै पत्र लेखेको भए पनि महानगरका कार्यकारी अधिकृत नरेन्द्रकुमार रानासहितको टोलीले आफूले छानेको कम्पनीलाई ठेक्का दिन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई नै गुमराहमा राख्ने प्रयास गरेका छन् ।

महानगरपालिकाले ठेक्का आह्वान गर्ने क्रममा कार्यकारी अधिकृतसहितको टोलीले आफूले रोजेको ठेकेदार कम्पनीलाई मात्र टेन्डर गर्न मिल्ने क्राइटेरिया बनाएर टेन्डर आह्वान गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । आयोगले उक्त टेन्डरको विषयमा गत चैत २८ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेर खरिदसम्बन्धी कागजात ३ दिनभित्र आयोगमा पठाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको थियो ।

अख्तियारको निर्देशनबमोजिम सो कार्यालयले भरतपुर महानगरपालिकालाई यही वैशाख ७ गते पत्राचार गर्दै उक्त घटनाको बारेमा स्पष्ट पार्न निर्देशन दिएको भए पनि महानगरपालिकाले भने गोलमोटोल जवाफ दिएको छ।

महानगरपालिकाले सार्वजनिक अनुगमन कार्यालयलाई पठाएको पत्रमा बोलपत्र पेस गर्नुअघि नै निर्माण व्यवसायीलाई राखेर छलफल गरेको र बोलपत्र संशोधन गरी थप प्रतिस्पर्धा गराएको भन्ने पत्र पठाएकोमा निर्माण व्यवसायीले आपत्ति जनाएका छन्। महानगरपालिकाले यही वैशाख १४ गते पठाएको पत्रप्रति नेपाल निर्माण व्यवसायी संघ चितवन शाखाले आपत्ति जनाएको छ।

महानगरपालिकाले बोलपत्र संशोधनको नौटंकी गरेको र आफ्ना निकटका व्यक्तिलाई ठेक्का दिन अघिल्लोपटक राखेको सर्तमा कुनै परिर्वतन नगरेको संघका अध्यक्ष केशवप्रसाद लामिछानेले जानकारी दिनुभयो। भरतपुर महानगरपालिकाको कार्याकारीबाट सरुवा भएका राना अहिलेसम्म सरुवा भएको ठाउँमा जानुभएको छैन। उहाँले उक्त टेन्डरको झिनोफानो नभईकन आफू सरुवा भएको स्थानमा नजाने अडान लिएर बसेको महानगरका एक कर्मचारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

टेन्डरका लागि बोलपत्र आह्वान गर्दा मागिएको आवश्यक मापदण्डमा मुन्ना एन्ड आचार्यले मात्र बिडिङ गर्न पाउने गरी बोलपत्र निकालिएको भन्दै उक्त बोलपत्र रद्ध गर्न निर्माण व्यवसायीले माग गरेका छन्। महानगरपालिकाले तयार पारेको मापदण्डमा मुन्ना एन्ड आचार्यबाहेक अन्य निर्माण व्यवसायीले भाग नै लिन नपाउने गरी तयार पारिएको थियो।

सो महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राना र इन्जिनियर सन्तोष आर्चायको मिलोमतोमा उक्त टेन्डर आह्वान गर्ने र टेन्डर पार्ने खेल शुरू गरेको आरोप निर्माण व्यवसायीहरूले लगाएका छन्। राना र आचार्यले आफ्नो व्यक्तिगत फाइदाका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सार्वजनिक अनुमगन कार्यालयलाई समेत गुमराहमा राख्ने प्रयास गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका छन्।

उक्त टेन्डरमा १० करोडको आर्थिक चलखेल गर्न लागेकाले टेन्डरको प्रक्रिया नै रद्ध गरी नयाँ टेन्डर आह्वान गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन्। मुन्ना एन्ड आचार्य विल्डर्सले महानगरपालिकामा ‘सेटिङ’ मिलाएर एकल रूपमा छनोट भएको भन्दै ठेकेदारहरूले महानगरपालिकाका कर्मचारीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्