इलाम र बझाङकाे उपनिर्वाचन एमालेका लागि अत्यन्त महत्त्वपूर्ण : शंकर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैशाख १५ गते इलाम–२ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचन र बझाङ प्रदेश सभा १ मा सम्पन्न प्रदेश सभा निर्वाचन नेकपा एमालेका लागि अत्यन्त महत्वका निर्वाचन भएका बताउनुभएको छ ।

नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई मंगलबार गुलरियामा सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा एमाले विरुद्ध विभिन्न भ्रम फिँजाउने काम भइरहेको बेला जनताको अभिमत के छ भन्ने कुरा देखाउन दुईवटा चुनाव महत्त्वपूर्ण अवसर भएका बताउनुभयो । पुराना पार्टीका दिन गए भन्नेलाई उपनिर्वाचनले राम्रो जवाफ दिएको उहाँले बताउनुभयो । ‘अब पुरानाका दिन गए, अब नयाँका दिन आए, भन्ने हल्ला गरेको पनि हामीले सुनेका थियौँ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरेल बझाङको प्रदेश सभा निर्वाचन केन्द्रको समीकरण अनुसार प्रदेश सरकार बनाउन र टिकाउनको लागि नेकपा एमालेलाई जित्नै पर्ने चुनाव भएको पोखरेलले बताउनुभयो । अहिले बनेको नयाँ समीकरणलाई सुदूरपश्चिम प्रदेशमा टिकाउन यो जीतले महत्त्वपूर्ण भूमिका खेलको पोखरेलको भनाइ छ । ‘त्यो चुनाव हामीले आफ्नो योजना अनुसार जित्न सफल भएका छौँ’, उहाँले भन्नुभयो ।

पोखरेलले मानव सभ्यता र जीवको विकास नै नदी र नदी किनारबाट भएको बताउँदै नदीको नामबाट नाम राख्नु सभ्यता र संस्कृतिको परिचय र पहिचान भएको बताउनुभयो । यसको उपेक्षा गर्दै जातीय नामाकरण भएन भन्ने नाममा एमालेका विरुद्ध कोशी प्रदेशमा अनेक आक्षेप लगाउने काम भएको भन्दै पोखरेलले आक्रोस व्यक्त गर्नुभयो ।

कोशी नाम राख्न हस्ताक्षर गरेका पार्टीले समेत मौका यही हो भनेर एमाले विरुद्ध आक्षेप लगाउने काम गरेका उहाँले बताउनुभयो । इलामको निर्वाचनमा एमालेको जीतले एमाले माथि लगाइएको सबै आरोप र भ्रमलाई जनमतबाट चिर्ने काम भएको उहाँले बताउनुभयो । इलामको जीत जातिवाद, अराजकता र पपुलिजम माथिको विजय भएको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्