बजेट अभावका कारण यस वर्षको बुद्ध जयन्तीको तयारी तीव्र हुन सकेन : स्मिता भट्ट



बुटवल  । 

प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन मनाईने बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी बजेट अभावका कारण बुद्ध जयन्तीको तयारी तीव्र रुपमा अगाडि बढ्न सकेको छैन ।

  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ मनाउँदै आएको थियो तर, आगामी जेठ १० गते परेको २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस बजेट अभावका कारण बुद्ध जयन्तीको तयारी तीव्र हुन सकेको छैन ।

संघीय सरकारले बार्षिक रुपमा १ देखि ४ करोडसम्म बुद्धजयन्तीका लागि बजेट छुट्याउने गरेकोमा आर्थिक वर्ष २०८१-८२ मा बजेट कटौती गरेपछि प्रभावित हुने भएको हो । कोभिड महामारीपछि २०७९ सालमा २५६६ औँ बुद्ध जयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा भव्यताका साथ मनाएको थियो । त्यतिखेर संघीय सरकारले ३ करोड बढी बजेट छुट्याएको थियो ।

भगवान् बुद्धको सबैभन्दा महत्त्वपूर्ण दिनका रुपमा बैशाख पूर्णिमालाई लिने गरिएको र विगतदेखि नै बुद्ध जयन्तीलाई उत्सवका रुपमा मनाउने गरिएकोमा यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा त्यसले बुद्ध जयन्ती भव्य रुपमा मनाउन चुनौती देखिएको लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले बताउनुभयो ।  बुद्ध पूर्णिमालाई नेपाल सहित बौद्ध राष्ट्रहरू भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् ।

यस्तै नेपाल सहित चीन भारत युरोप लगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्ध जयन्तीलाई विशेष उत्सव र नेपालको पर्वका रुपमा मनाउनुपर्ने सरोकारवालाहरुको माग छ । लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामहरु समेत पर्यटकहरुको दान एवं प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट हुँदै आएको छ । त्यही कारणले बजेट कटौतीले बुद्ध जयन्ती प्रभावित भएको हो । संघीय सरकार अन्तर्गत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्धजयन्तीका बेलामा ५० लाख १ करोड नभई पर्याप्त बजेट छुट्याएर मनाउनुपर्ने स्थानीयहरुको समेत  सुझाव छ ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले वि.स.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिए पछि नेपालमा रहेको लाखौँ बौद्ध मार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्विनी दिवश पनि मानाउन थालेको हो ।

विभिन्न बौद्ध मुलुकहरुको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय रूपमै बुद्ध जयन्तीलाई मान्यता प्रदान गरी सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्ध जयन्ती मनाउन बिदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्