कामना प्रतिष्ठानको २९ औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानको २९ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भयो।
सो अवसरमा कामना न्यूज पब्लिकेशनका कार्यकारी निर्देशक दिरेकलाल श्रेष्ठले सत्यतथ्य, निष्पक्ष र सन्तुलित पत्रकारिताको पर्याय बनेको कामना न्युज पब्लिेकशनको व्यावसायिक वातावरण कायम गरिराख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको सराहना गरे।

 

प्रतिष्ठानले विविध गतिविधि मार्फत कामना प्रकाशन गृहमा कार्यरत पत्रकारहरुबीच आपसी सम्बन्ध सुमधुर बनाएको चर्चा गर्दै कार्यकारी निर्देशक श्रेष्ठले यसका अतिरिक्त पत्रकारहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि स–साना भएपनि रचनात्मक र प्रभावकारी क्रियाकलाप गर्दै जानुपर्नेमा जोड दिए। उनले प्रकाशन गृहमा कार्यरत पत्रकार र कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य, आध्यात्मिक, वित्तीय साक्षरता जस्ता विविध कार्यक्रमहरु गर्दै जानुपर्ने खाँचो  पनि औँल्याए।

सो अवसरमा प्रतिष्ठानका सल्लाहकार एवं नेपाल समाचारपत्र दैनिकका निर्वतमान सम्पादक कपिल काफ्लेले व्यावसायिक पत्रकारिताको विकासको हेतुले स्वर्गीय पुष्करलाल श्रेष्ठले स्थापना गर्नुभएको प्रकाशन गृहले नेपालको पत्रकारिताको विकासमा पु¥याएको योगदानको चर्चा गरे।उनले पत्रकारिताको विकासको लागि श्रमजीवी पत्रकारको हकहित सुनिश्चित हुनुपर्ने,सामाजिक सुरक्षाको प्रत्याभूत हुनुपर्ने उल्लेख गर्दै यस दृष्टिले नेपाली पत्रकारिताको अवस्था अपेक्षाकृत  नभएको बताए।

नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले पत्रकारहरुले सुशासन र विकासलाई लक्षित गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।सुशासन र विकासको अनुभूति बिना सर्वसाधारणले व्यवस्था परिवर्तनको अनुभूति गर्न नसक्ने पनि उनको भनाई रहेको छ।‘ पञ्चायतकालमा राजनीतिक व्यवस्था परिवर्तनका लागि पत्रकारिता गरिन्थ्यो।अब सुशासन र विकासलाई केन्द्रबिन्दु बनाएर पत्रकारिता गर्नुपर्ने खाँचो  छ।’ सम्पादक पण्डितले भने।

कामना प्रतिष्ठानका पूर्व अध्यक्ष टंक पन्तले नेपालमा पत्रकारिताको विकासको लागि स्वर्गीय पुष्करलाल श्रेष्ठले पु¥याउनुभएको योगदानको स्मरण गर्दै अहिलेका पुस्ताले पनि स्वर्गीय श्रेष्ठको योगदानलाई सम्झिने कार्यहरु गर्दै जानुपर्ने बताए।

 

प्रतिष्ठानका पूर्व अध्यक्ष दिपक रिजालले कामना न्यूज पब्लिकेशनको छवि अक्षुण्ण राख्दै पत्रकारिताको विकासको लागि प्रतिष्ठानले विविध गतिविधि गर्दै आएको बताए।

प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठले प्रतिष्ठानले सदस्यहरुबीच भाईचारा, आपसी सम्बन्ध सुमधुर बनाउन  असार १५ मा दही च्युरा खाने, देउसी भैलो खेल्ने, योमरी पूर्णिमाको बेला योमरी खाने जस्ता कार्यक्रमसंगै पत्रकाहरुको क्षमता वृद्धि, स्वास्थ्य चेत बढाउने गतिविधि गर्दै आएको बताए।अध्यक्ष श्रेष्ठले पत्रकारको क्षमता  वृद्धि, सामाजिक सुरक्षाको सवालमा आगामी दिनहरुमा ठोस तथा परिणाममुखी कार्यक्रम गर्दै जाने बताए।अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो।

काठमाडौं उपत्यका प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बदलिँदो  समयसँगै पत्रकारिताको ज्ञान, सीप  र क्षमतालाई अद्यावधिक गर्नुपर्नेमा जोड दिंदै  लेख्ने जान्ने पत्रकारलाई बोल्ने र क्यामरा,भिडियो खिच्ने, फोटोपत्रकारलाई लेख्न, बोल्न सिकाउने सके बजारमा अझ अवसरको सदुपयोग गर्न सकिने बताए।

अध्यक्ष अधिकारीले पत्रकारको अभिलेखीकरण, संस्थागतको अभिलेखको महत्वबारे केन्द्रित गर्दै पत्रकारिता पेसालाई विश्वसनीय बनाउन अझै मिहिनत गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षाद भगवती तिमल्सिनाले महासंघको गतिविधि निर्वाचनमुखी हुने प्रवृत्तिले व्यावसायिक पत्रकारिताको विकास, पत्रकारको हकहितको एजेन्डा ओझेलमा परेको बताउँदै  त्यस अवस्थालाई फेर्नुपर्ने खाँचो  औँल्याइन् ।

प्रतिष्ठानका सदस्यहरु कमल ढकाल,कृष्णप्रसाद भण्डारी,कर्ण प्रधान लगायतले प्रतिष्ठानको आयोजना गरेको विविध गतिविधिको उल्लेख गर्दै सदस्यहरुको हकहितलाई लक्षित गर्दै थप गतिविधि गर्दै जानुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्