इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूको जमानत जफत



काठमाडौं ।

इलाम-२ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसै गरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन्।

त्यसै गरी रास्वपा मिलन लिम्बूले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ। लिम्बूको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन्।

यस क्षेत्रमा लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको छ। इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन्।

कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदवारले सय भन्दा कम मत प्राप्त गरेका छन्।  कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो। जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्