मुलुकको विकास र समृद्धिको लागि धेरै राजनीतिक दलहरू होइन, बलिया दलहरूको आवश्यक : शंकर पोखरेल



काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचन र बझाङ प्रदेश सभा उपनिर्वाचनमा व्यक्त मतले सो कुरा देखाएको बताए ।

मुलुकको विकास र समृद्धिको लागि धेरै दलहरू होइन, बलिया राजनीतिक दलहरू आवश्यक पर्दछ, नेपालका राजनीतिक दलहरूले पनि आफूलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्न सक्नु पर्दछ’, पोखरेलले भने ।

देश बनाउने हो भने युवाहरू देश निर्माणको काममा जुट्नु पर्ने पोखरेलले बताए । युवा बाहिर जाने ट्रेनले देश नबन्ने उनले प्रष्ट पारे । नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने मानसिकतालाई परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताए । ‘हाम्रो देश कोही आएर बनाइदिने होइन, हामी आफैँले बनाउनु पर्छ’, पोखरेलले भने ।

नेकपा एमाले जनताले मन पराएको पार्टी हिजो पनि भएका र उपनिर्वाचनले पनि त्यसलाई प्रमाणित गरेको उनले बताए । हिजो पनि एउटा दलका विरुद्ध सबै दल मिलेर घेराबन्दी गर्दा समेत नेकपा एमाले पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित भएको उनले सुनाए । नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाएर मिसन २०८४ सम्म एमालेलाई कसैको सहारा बिना एक्लै लड्न सक्ने दल बनाउने अभियानमा एमाले लागेको उनले बताए ।
एमालेले उपनिर्वाचनबाट विजय यात्रा सुरु गरेको बताउँदै पोखरेलले सो यात्रा अब देश भरी पस्ने बताए । त्यसैले सबैलाई नेकपा एमालेमा गोलबद्ध हुन उनले आह्वान गरे ।

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य एवं  संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य एवं रामेछाप  जिल्ला इञ्चार्ज गणेश पहाडी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्