सिद्धार्थ वनस्थलीमा विद्यार्थी सम्मान र बिदाइ



काभ्रे। 

सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौतीले एसइई उत्तीण तथा कक्षा १२ उत्तीण गरेका विद्यार्थीहरुलाई बिदाइ तथा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागतका साथ कक्षा प्लेग्रुप देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्व रहेको थियो ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख दिपककुमार गौतमले विद्यार्थीहरुलाई असल संस्कार र सहज वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सिद्धार्थ वनस्थलीको उत्तरोत्तर प्रगतिको कामना गर्दै उत्कृष्ट विद्यार्थी तथा बिदाइ हुने विद्यार्थीहरुलाई बाँकी शैक्षिक गन्तब्यलाई जीवनोपयोगी बनाउन सुझाव दिए ।

 कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले नगर भित्रका सबै विद्यालयहरुको गुणस्तर सुधार गर्न नगरपालिकाले एकिकृत योजना कार्यान्वयन गरिरहेको बताइन् । २०४४ सालमा पनौतीमा स्थापना भएको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बञ्जाराले बताइन् ।

तेजगंगा बहुमुखी क्याम्पसकी संस्थापक क्याम्पस प्रमुख अम्बुभवानी कार्की लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले सिद्धार्थ वनस्थलीले पनौती क्षेत्रमा मात्रै नभएर जिल्लाकै नमुना शिक्षा प्रदान गरिरहेको बताएका थिए । उक्त विद्यालयबाट एसइई उर्तिण भएका २६ जना, कक्षा १२ उर्तिण १२ जनालाई बिदाइ गरिएको थियो भने कक्षा ११ का २६ जनालाई स्वागत गरिएको थियो ।

त्यस्तै अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुने अन्तर सदनका २८ वटा विद्याका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

उक्त विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् भने ४२ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक रेश्मा थापाले बताइन् । उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित छ । उक्त गुठीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा छन् । विद्यालयलाई शैक्षिक हबका रुपमा विकास गरी आवश्यक पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति व्यवस्थापन गरी जीवनोपयोगी शिक्षा उपलब्ध गराउने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्