काठमाडौं।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई आज बिहान नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको हो।
यही साउन ८ गते ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको स्नातकोत्तर तहको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि त्रिविको व्यवस्थापन सङ्काय डिन कार्यालयले घटनाको अनुसन्धान र कानुनी कारबाहीका लागि साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ।











प्रतिक्रिया