मानिसले आफ्नो उमरे अनुसारको पुस्तक अध्ययन गर्ने वातावरण पाउँदा पठन संस्कृतिको विकास हुन्छः शिक्षाकर्मी दिपकराज जोशी


ललितपुर ।

मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुँदै जाने शिक्षाकर्मी दिपकराज जोशीको भनाइ छ ।

ललितपुर महानगरपालिका वडा नं २४ स्थित तथ्यपाटी मिडिया प्रा.लि र ललितपुर महानगरपालिका वडा नं २३ र २४ को सहकार्य तथा जे.बि एजुकेशन इन्टरनेश्नल फाउण्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘विकासका लागि पठन संस्कृति संवाद श्रृडखला ७’ विषयक कार्यक्रममा बोल्दै उहाँले हरेक मानिसले आफ्नो इच्छा अनुरुपको पुस्तक अध्ययन गर्न पाउँदा समाजमा ज्ञानको ज्योति बढ्दै जाने बताउनुभएको हो ।

मानविय चेतना विस्तारका लागि आवश्यक कुरा भनेको केवल अध्ययन गर्ने बानी रहेको उहाँको बुझाइ छ ।

पुस्तक अध्ययन गर्दा एकैपटक मानिसका महत्पूर्ण पाँच अङ्ग आँखा, कान, मुख वा जिब्रो, छाला वा हात र नाकले काम गर्ने बताउँदै जोशीले यो स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै महत्वपूर्व रहेको धारणा व्यक्त गर्नुभयो ।

धेरै वर्ष अघि घर घरमा रामायण, महाभारत, गीता आदि पुस्तक अध्ययन गर्ने चलन रहेको स्मरण गराउँदै उहाँले अहिलेकोसमय केवल मोबाइल मात्रै चलान केन्द्रित भएकाले पठन संस्कृतिको लगाव कम हुँदै गएकोमा दुखेसो गर्नुभयो ।

स्वर्गीय महान नेता वीपी कोइराला र मदन भण्डारीमा अध्ययन प्रति खुबै लगाव रहेका कारणले आज उहाँहरु मृत्युपर्यन्त समेत समाजका हरेक मानिसको मुक्तकण्ठले पुकारिने गरेका जोशीले बताउनुभयो ।

पढाइप्रति एकदमै लगाव र बफादार भएाक कारण भारतीय रहस्ववादी गुरु एवं आधयात्मिक व्यक्तित्व ओशोको नाम समाजमा सबैव उच्च स्थानमा रहेको जोशीले मत व्यक्त गर्नुभयो ।

यसैगरी हाम्रा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ अघि सार्दै शिक्षाकर्मी जोशिले उहाँहरुमा भएको असिमित ज्ञानका कारण समाजमा सदैव पुकारिनुभएको स्मरण गराउनुभयो ।

विश्वका एकदमै प्रसिद्ध प्रविधि उद्यमी तथा व्यावसायिक दिग्गज पुरुष इलोन मस्कको ‘मैले अध्ययन गरेरै रकेट बनाउन सिकेको हुँ’, भन्ने भनाइ उद्दृत गर्दै उहाँ आज पठन संस्कृतिको विकास र अध्ययनका कारण विश्वसामु परिचित हुनुका साथै महान हुन समेत सफल भइरहेको भनाइ अघि सार्नुभयो ।

“हरेक मानिसमा अध्ययन गर्र्ने बानीको विकास हुँदा यसले मानिसलाई सत्य, स्पष्ट, तथ्य, तार्किक बनाउने गर्छ”, उहाँले भन्नुभयो, “मानिसलाई सोचेर बोल्न र सही बोल्न केवल अध्ययन र ज्ञानले मात्रै सहयोग गर्ने गर्छ । ”

चिकित्सको भनाइ सापट लिँदै जोशीले मानिसले बुढेसकालसम्म दैनिक अध्ययन गर्दा ‘अल्जाइमर’ जस्तो रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले जानकारी गराउनुभयो ।

हरेक अभिभावकले आफ्ना बालबालिकालाई घरमा अध्ययन गर्न लगाउँदा उसले कस्तो र कुन तवरको पुस्तक अध्ययन गर्न चाहेको छ त्यसको व्यवस्था गरिदिन अभिभावकलाई आग्रह गर्दै शिक्षाकर्मी जोशिले जबसम्म समाजमा घोकन्ते संस्कारको अन्त्य हुँदैन तबसम्म पढ्ने संस्कृतिको विकास हुन समय लाग्ने मत जाहेर गर्नुभयो ।

यसैगरी उक्त कार्यक्रममा वडा नं २३ निवासी धर्मलाल महर्जनले आफूमा पढाइप्रति खुबै लगाव भएका कारण आजसम्म आफूले ४ वटा पुस्तक प्रकाशन गर्न सफल भएको बताउँदै पुस्तकालयको व्यवस्था हरेक वडामा हुनुपर्ने माग गर्नुभयो ।

वडा नं २४ निवासी महेश कुमार गिरीले आफू पनि एक उपन्यासकार रहेको जानकारी गराउँदै वडामा सञ्चालनमा रहेका हरेक रेष्टुरा र होटलमा समेत पुस्तकालयको व्यवस्था हुनुपर्ने भनाइ राख्नुभयो ।

सोही वडा निवासी शिक्षा सेवाकी पूर्व कर्मचारी सरिता पौडेलले वडा भित्र पुस्तक अध्ययन गर्ने स्थानको व्यवस्था हुँदा आफूले पनि केही पुस्तक सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी सोही वडा निवासी दिपक प्रसाद घिमिरेले पढाइ मार्फत जीवनउपयोगी कुरा प्राप्त गर्न सक्ने सुनाउँदै लगनखेलमा अवस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात पाटन अस्पताल भित्र पुस्तक अध्ययन गर्ने व्यवस्था हुँदा छेउमै रहेको मानसिक अस्पताल आउने बिरामीको चाप कम हुँदै जाने सुझाव दिनुभयो ।

अर्की शिक्षाकर्मी सफला पोखरेलले आफू शिक्षा पेशामा ३१ वर्ष अघिदेखि काम गर्दै आएको बताउँदै हरेक मानिसले राती सुत्नु अघि पुस्तक पढ्ने बानी गर्दा त्यसले मनलाई शन्ति दिने गरेको हुँदा अध्ययन गर्न आग्रह गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं २३ का वडाध्यक्ष जीवन महर्जनले अध्ययन बिना वडाको काममा समेत अघि बढ्न नसकिने बताउँदै यो हरेक मानिसको जीवनमा दैनिक अवश्यक रहेको औँल्याउनुभयो ।

यसैगरी उक्त महानगरपालिका वडा नं २४ का वडाध्यक्ष दिनेशजङ्ग पाण्डेले वडाको प्रमुख भएर काम गर्न बिना अध्ययन सहज नभएको जानकारी गराउँदै बेला बेलामा परिवर्तन हुने ऐन, नियम, कानुन, कार्यविधि आदिबारे जानकार रहन वडाध्यक्षले पढाइ बिना अघि बढ्न नसक्ने सुनाउँदै आफूले दैनिक घरमा अध्ययन गर्ने गरेको बताउनुभयो ।

सो अवसरमा तत्यपाटी मिडियाका सल्लाहकार इश्वरराज ढकालले यही आउँदो भाद्र १५गते पुस्तकालय दिवस रहेको जानकारी गराउँदै वडाले सो अवसरमा सानो पुस्तकालयको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वडामा आगन्तुक वा पर्यटक आउँदा केही पुस्तकको व्यवस्था गरिदिएमा पठन संस्कृतिको विकास यस ठाउँमा हुनेछ । पठन संस्कृतिको विकास हुँदै जाँदा मानिसका अध्ययन गरिरहेने बानीको विकास हुनेछ ।”

तथ्य मिडिया प्रा.लिका अध्यक्ष विधान रिजालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममो सहजीकरण तथ्यपाटीका सम्पादक बालमुकुन्द आचार्यले गर्नुभयो ।