रुद्राञ्जु प्रतिष्ठानले २४ विद्यार्थीलाई दियो छात्रवृत्ति


काठमाडौं।

कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लामा रहेको रुद्राञ्जु प्रतिष्ठानले सोमबार नवौं वार्षिकोत्सवका उपलक्ष्यमा २४ गरिब तथा जेहन्दार विद्यार्थीलाई जनही ७ हजार रुपियाँका दरले छात्रवृत्ति वितरण गरेको छ ।

छात्रवृत्ति पाउने गरिब तथा जेहन्दार विद्यार्थी स्थानीय जनसेवा मावि र मंगल माविका १२–१२ जना रहेका छन् ।
रुद्राञ्जु प्रतिष्ठान ज्येष्ठ नागरिकहरुको दिवा समय सामाजिक र मनोरञ्जनात्मक बनाउने उद्देश्यले आफ्नो घर–जग्गा दान गरेर प्रा.डा. रुद्रप्रसाद गौतमले आफ्नी दिवंगत श्रीमती अञ्जु शर्मा गौतमको स्मृतिमा स्थापना गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्ष टीकादेवी खनालका अनुसार संस्थालाई चन्दा दिने दाताबाट प्राप्त रकम र १० हजार २ सय रुपियाँ तिरेर आजीवन सदस्यता लिने व्यक्तिको रकम समेत गर्दा अक्षय कोषमा करिब १ करोड नगद जम्मा भैसकेको छ भने आजीवन सदस्यको संख्या ३५२ पुगेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का संघीय सांसद प्रदीप विष्टको प्रमुख आतिथ्यमा सम्पन्न संस्थाको नवौं वार्षिकोत्सव तथा स्वर्गीया अञ्जु शर्मा गौतमको १०औं स्मृति दिवस समारोहमा करिब ७ सयको उपस्थिति रहेको थियो । आगन्तुकहरुलाई स्थानीय नवजागरण महिला समूहका सदस्यहरुले सांगीतिक रुपमा स्वागत गरेका थिए ।