११ विश्वविद्यालयको भवन बनाउन २ अर्ब

फरक शीर्षकमा छुट्टै अनुदान

940
Shares

काठमाडौँ।

सरकारले चालु आर्थिक वर्षमा १० विश्वविद्यालयको भवन निर्माण र सुधार गर्न करिब २ अर्ब रुपैयाँँ अनुदान दिने भएको छ । आर्थिक वर्ष ०८३-८४ मा ११ वटा विश्वविद्यालयको भवन निर्माण, मर्मत र सुधार गर्न उक्त रकम विनियोजन गरेको हो ।

सरकारले विनियोजन गरेको रकममध्ये सबैभन्दा बढी त्रिविलाई छ । त्रिविको विश्वविद्यालको भवन निर्माण तथा मर्मत सुधार गर्न ७० करोड रूपैयाँ विनियोजन भएको छ । उक्त रकम विश्वविद्यालय सभाबाट स्वीकृत भई विश्वविद्यालय अनुदान आयोगमा पेस भएको कार्यक्रम तथा बजेटको प्रगति र प्रतिवेदनको आधारमा अनुदान दिएको हो । उक्त बजेट तोकिएको शीर्षकमा त्रैमासिक रूपमा निकासा गर्ने उल्लेख छ ।

त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको भवन निर्माण तथा पुँजीगत सुधार आयोजनाअन्तर्गत ८ करोड ५० लाख रुपैयाँ अनुदान स्वीकृत भएको छ । उक्त रकमले विश्वविद्यालयको निर्माणाधीन प्राकृतिक चिकित्सा स्थापत्यशास्त्र आयुर्वेद भवनका लागि समेत अनुदान दिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको भवन निर्माण तथा मेडिकल साइन्सको पूर्वाधार तयार गर्न १५ करोड रुपैयाँ विनियोजन भएको छ । पोखरा विश्वविद्यालयको भवन निर्माण तथा मर्मत सुधार गर्न १५ करोड विनियोजन गरेको छ । लुम्विनी तथा बौद्ध विश्वविद्यालयको भवन निर्माण र पुँजीगत सुधार अनुदानअन्तर्गत १ करोड, सुदूरपश्चिम विश्वविद्यालयको भवन निर्माण र पुँजीगत अनुदानतर्फ २५ करोड, मध्यपश्चिमको भवन वनाउन १२ करोड र नेपाल खुला विश्वविद्यालयको भवन वनाउन १० करोड, राजशी जनक विश्वविद्यालयको भवन निर्माण तथा पुँजीगत शीर्षकमा १० करोड २० लाख र कृषि तथा वन विश्वविद्यालयको भवन तथा पर्खाल निर्माणसहित पुँजीगत सुधार शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उक्त रकम विश्वविद्यालय अनुदान आयोगमार्फत त्रैमासिक रूपमा विश्वविद्यालयमा जानेछ । भौतिक संरचना निर्माण भए नभएको विषयमा विश्वविद्यालय अनुदान आयोगले अनुगमन गर्नेछ ।

विश्वविद्यालले भौतिक निर्माणबाहेक तलब भत्ता र अन्य खर्च गर्न छुट्टै रकम विनियोजन गरेको छ । सरकारले त्रिविअन्तर्गतका स्वायत्त क्याम्पसलाई ८१ करोड ८२ लाख, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सम्वनधन प्राप्त संस्कृत विषय अध्ययन हुने शिक्षक र अनुदान व्यवस्थापन गर्न १ करोड १० लाख रुपैयाँ विनियोजन भएको छ ।

सरकारले पहिलो पटक डडेल्धुरा मेडिकल कलेज पूर्वाधार निर्माण गर्न ८ करोड रुपैयाँ छुट्याएको छ । त्रिवि रामपुर र चितवनको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई स्वामित्व हस्तान्तरण गरेपछि त्रिविलाई भौतिक पूर्वाधार निर्माण गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । मदन भण्डारी विज्ञान तथा प्रबिधि विश्वविद्यालयको भौतिक पूर्वाधार विकास गर्न २० करोड, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयलाई १० करोड, सामुदायिक क्याम्पसको पूर्वाधार निर्माण शीर्षकमा ३४ करोड, नेपाल विश्वविद्यालयको पुँजीगत अनुदानबापत ५ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले उच्च शिक्षाको भौतिक, शैक्षिक र प्रशासनिक सुधार गर्न सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकता र औचित्यताको आधारमा रकम विनियोजन गरेको छ । चालु आवमा सबै विश्वविद्यालयले तोकेको शीर्षकमा खर्च गर्ने गरी बजेट विनियोजन गरेको जनाएको छ ।