करको दायरा नबढाउन आग्रह



मोरङ  । 

मोरङको सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको जनाउँदै यसलाई फिर्ता गर्न आग्रह गरिएको छ । विभिन्न राजनीतिक दलले यहाँ चरणबद्ध सङ्घर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्नेगरी निर्धारण गरिएको करलाई पुनरावलोकन गर्न माग गरेका हुन् ।

ती दलले पहिलाकै अवस्थामा करलाई ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘कर तिर्न हामी तयार छौँ तर नाजायज कर तिर्न हामी बाध्य छैनौँ’ भन्ने नाराका साथमा बृहत् नागरिक कार्यक्रम समेत आयोजना गरिएकोे छ । कार्यक्रमसँगसँगै करवृद्धिविरूद्धको हस्ताक्षर सङ्कलन जारी राखिएको छ ।

इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभयो ।

सुन्दरहरैँचा नगरपालिकाको १२औँ नगरसभाबाट आव २०८०-८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल जानकारी दिनुभयो । उहाँले जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

स्थानीय शिक्षासेवी तथा राजनीतिकर्मी महेश आचार्यले जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउन सुझाव दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नगरसभापति टेकमणि न्यौपाने (विवेक)ले हालको अव्यावहारिक आर्थिक ऐन, २०८० लाई व्यावहारिक बनाउन माग गर्नुभयो ।

सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले जग्गाको वर्गीकरण गर्ने क्रममा सामान्य कर बढेको हुनसक्ने उल्लेख गर्दै बढी भए पुनःविचार गरिने बताउनुभयो । “आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिन सकिने छ”, उहाँले भन्नुभयो, “जग्गाको वर्गीकरण जनताको हित र भलाइका लागि परिवर्तन पनि हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्