ललितपुर उद्योग वाणिज्य संघ अधिवेशन : अध्यक्ष र महासचिव पदमा उम्मेदवारी घोषणा



काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४४औँ अधिवेशनका लागि अध्यक्ष पदमा रुपकमान महर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।

घोषणा कार्यक्रममा महर्जनले यसअघि उक्त संघको महासचिवमा रहेर उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष पदको उम्मेदवारी दिएको बताएका छन् ।

आफूले विगत एक दशकभन्दा बढी समय अद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर सक्रिय भूमिका निर्वाह गरेकोले यसपटकको अधिवेशनमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

महर्जनले साना तथा मझौला व्यापारी, उद्योगीहरूको व्यवसायमा भएका समस्याहरूको समाधान गर्न आफूले संघको अध्यक्ष पदममा उम्मेदवारी दिएको प्रष्ट पारेका छन् ।

झन्डै पाँच दशकभन्दा लामो गौरवमय इतिहास बोकेको ललितपुर उद्योग वाणिज्य महासंघको उन्नयनका लागि आफू दत्तचित्त हुँदै आएको बताए । यसका साथै आगामी दिनहरूमा पनि संघको भलाइका लागि हरहमेशा लागिपर्ने उनले प्रण गरेका छन् ।

उनी ललितपुर खाद्य व्यापार संघको अध्यक्ष पनि हुन् । जिल्लामा महर्जनको वेदाग छवि, असल चरित्र र उत्कृष्ट व्यवसायी कर्म गर्दै आएकोले उनको पक्षमा राम्रो मत देखिएको स्थानीय उद्योगी, व्यवसायीहरूको भनाइ छ ।

त्यस्तै उद्योग वाणिज्य संघको महासचिवमा महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठले पनि साढे दुई दशकभन्दा लामो समय ललितपुर उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर कार्य गरिसकेका छन् । पदिय दायित्व र जिम्मेवारीमा रहँदा उनले गरेको असल कार्यका बावजुद यसपटक हुने संघको उक्त अधिवेशनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी महिना असोज १९ मा ललितपुरको शङ्खमूलस्थित यल दरबारमा संघको अधिवेशन हुँदैछ भने पदाधिकारी चयनका लागि २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्