योगमय प्रदेशको घोषणा व्यवहारमा उतार


बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गर्ने मुख्यमन्त्री किरण थापा मगरको उद्घोष सकारात्मक र दूरगामी महत्वको विषय हो । प्रदेशका १३ वटै जिल्लामा योग साधनाको विस्तार गर्ने, विद्यालय, सार्वजनिक तथा सामुदायिक भवनमा नियमित योग अभ्यास सञ्चालन गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारको तयारी स्वागतयोग्य छ । तर यस्ता घोषणा औपचारिक कार्यक्रम र भाषणमा सीमित नभई राज्यको नीति, योजना र नागरिकको दैनिक जीवनशैलीसँग जोडिनुपर्छ ।

आधुनिक जीवनशैलीसँगै नेपाली समाजमा नसर्ने रोग, मानसिक तनाव, मोटोपना, उच्च रक्तचाप, मधुमेह तथा मुटुरोगको जोखिम बढिरहेको छ । असन्तुलित खानपान, शारीरिक निष्क्रियता, अव्यवस्थित दिनचर्या र बढ्दो मानसिक दबाबले जनस्वास्थ्यमा नयाँ चुनौती थपिरहेका छन् । यस्तो अवस्थामा रोग लागेपछि औषधि सेवन र अस्पताल धाउने प्रवृत्तिलाई मात्र प्राथमिकता दिनुभन्दा रोग लाग्नै नदिने स्वस्थ जीवनशैली विकास गर्नु राज्यको प्राथमिकता बन्नुपर्छ । योग, ध्यान, नियमित व्यायाम, सन्तुलित भोजन र सकारात्मक सोच यसका महत्वपूर्ण आधार हुन् ।

योग केवल शारीरिक अभ्यास होइन, शारीरिक तथा मानसिक स्वास्थ्य र आत्मअनुशासनसँग जोडिएको जीवन पद्धति हो । यसले मानिसमा संयमता, धैर्य, सहनशीलता, सकारात्मक सोच र आत्मविश्वास विकास गर्न सहयोग पुर्‍याउँछ । ध्यानले मानसिक तनाव व्यवस्थापनमा मद्दत गर्छ भने नियमित शारीरिक अभ्यासले शरीरलाई सक्रिय राख्न सहयोग गर्छ । त्यसैले योगलाई कुनै निश्चित संस्था वा समूहको गतिविधिका रूपमा नभई सबै उमेर समूहका नागरिकको साझा स्वास्थ्य अभियानका रूपमा विकास गर्न आवश्यक छ । यसका लागि प्रदेश सरकारले सबैभन्दा पहिले योग तथा स्वस्थ जीवनशैलीसम्बन्धी स्पष्ट नीति र कानुनी आधार तयार गर्नुपर्छ । विद्यालय तहदेखि नै योग, ध्यान, शारीरिक व्यायाम, पोषण र स्वास्थ्य सचेतनालाई पाठ्यक्रममा समेट्नुपर्छ । बालबालिकालाई सानैदेखि स्वस्थ खानपान, नियमित व्यायाम, व्यक्तिगत सरसफाइ र मानसिक स्वास्थ्यको महत्व सिकाउन सके त्यसको सकारात्मक प्रभाव दीर्घकालसम्म रहन सक्छ । विद्यालयमा प्रशिक्षित जनशक्ति र नियमित अभ्यासको व्यवस्था गरिनुपर्छ ।

त्यसै गरी १३ वटै जिल्लाका स्थानीय तहसँग समन्वय गरी प्रत्येक वडा र समुदायमा योग अभ्यास केन्द्र स्थापना गर्न सकिन्छ । सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पार्क तथा सामुदायिक स्थललाई योग र ध्यानका लागि उपयोग गर्नुपर्छ । ज्येष्ठ नागरिक, महिला, किशोरकिशोरी तथा विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिका लागि उपयुक्त अभ्यासको व्यवस्था हुनुपर्छ । पतञ्जलि योग, पातञ्जल योग साधना केन्द्र, जीवन विज्ञानलगायत यस क्षेत्रमा क्रियाशील संस्थाको अनुभव, दक्षता र जनशक्तिलाई राज्यको योजनासँग जोड्न सकिन्छ । सरकारले बजेट छुट्याउनु मात्र पर्याप्त हुँदैन । त्यसको पारदर्शी परिचालन, प्रशिक्षक उत्पादन, नियमित अनुगमन र उपलब्धिको मूल्यांकन पनि उत्तिकै आवश्यक छ । योगलाई आधुनिक चिकित्सा सेवाको विकल्पका रूपमा नभई रोगको जोखिम न्यूनीकरण र समग्र स्वास्थ्य प्रवद्र्धन गर्ने पूरक अभ्यासका रूपमा विकास गर्नुपर्छ । नागरिकलाई औषधि र उपचारसँगै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु आजको आवश्यकता हो ।

योगमय प्रदेश घोषणा गर्नु आफैँमा उपलब्धि होइन, त्यसले नागरिकको स्वास्थ्य र जीवनशैलीमा ल्याउने परिवर्तन वास्तविक उपलब्धि हो । आज शुरु गरिएको अभियानलाई नीतिगत निरन्तरता, पर्याप्त बजेट र विद्यालयदेखि समुदायसम्मको सहभागितासहित कार्यान्वयन गर्न सकिए आगामी दशकमा यसको सकारात्मक परिणाम देख्न सकिन्छ । मुख्यमन्त्रीको घोषणा कुनै समारोहको आकर्षक अभिव्यक्ति वा राजनीतिक प्रतिबद्धतामा मात्र सीमित नहोस् । यसलाई कानुनी मान्यता, संस्थागत संरचना र व्यावहारिक कार्ययोजनासहित कार्यान्वयन गरियोस् । स्वस्थ नागरिक नै समृद्ध प्रदेश र राष्ट्रका आधार हुन् । बागमती प्रदेशले यो अभियानलाई इमानदारीपूर्वक अघि बढाउन सके योगमय प्रदेशको अवधारणा अन्य प्रदेशका लागि समेत अनुकरणीय बन्न सक्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।