तीन क्लबमा सय गोल गर्ने तीन फुटबलर



विश्व फुटबल इतिहासमा एक से एक खेलाडी जन्मेका छन् । कोही ड्रिब्लिंगमा सिपालु, कोही फ्रीकिकमा निपुण, कोही सटिक पासमा उपलब्घ गर्न माहिर त कोही गोल गर्नमा अब्बल । पेले, डिएगो म्याराडोना र लियोनेल मेसीको युगसम्म आइपुग्दा हामीले फुटबल दुनियामा गोल गर्न सिपालु थुप्रै फुटबलरहरुलाई पनि देखिसकेका छौं । ती मध्ये तीन जना मात्र यस्ता फुटबलरहरु छन् जसले विभिन्न तीन वटा क्लबबाट आफ्नो गोलसंख्या १ सय कटाएका छन् । ब्राजिलका स्टार फुटबलरद्वय रोमारियो र नेयमारसहित पोर्चुगलका जल्दाबल्दा सुपरस्टार क्रिस्टियानो रोनाल्डो यस्तो कारनामा गर्ने तीन गोल मेसिनहरु हुन् । यी तीन नाम मध्ये रोमारियो अलि वरिष्ठ छन् । हाल ५७ वर्षका उनले ब्राजिललाई सन् १९९४ को फिफा विश्वकप उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । जसका कारण उनले उक्त विश्वकपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए । उनले जस्तो सफलताको अनुभव नेयमार र रोनाल्डोले भने अझै पाउन सकेका छैनन् ।

तुलनात्मक रुपमा होचा कद र रिसाहा स्वभावले विवादमा मुछिरहने रोमारियो आफ्नो समयमा विपक्षी रक्षापंक्तिका लागि सधै टाउको दुखाइका कारण बन्ने गर्थे । सन् १९९४ मा मात्र होईन, १९९० मा पनि ब्राजिल राष्ट्रिय टोलीका नामुद गोलकर्ता रोमारियोले आफ्नो करियरमा १२ वटा क्लबबाट खेलेका थिए । उनले ओलारिया, भास्को डी गामा, पिएसभी आइन्डओभेन, बार्सिलोना, फ्लेमेन्गो, भ्यालेन्सिया, फ्लूमिनेन्से, अल साड्ड, मायमी एफसी, एडलेड यूनाइटेड र अमेरिका आर–जेबाट खेलेका थिए । तथ्यांक अनुसार आफ्नो करियरमा ७ सय ५० भन्दा बढी गोल गरेका भनिएका रोमारियोले तीन विभिन्न क्लब पिएसभी आइन्डओभेन, भास्को डी गामा र फ्लेमेन्गोमा आफ्नो गोल संख्या १ सय पार गरेका थिए । उनले डच क्लब पिएसभी आइन्डओभेनबाट १ सय ६५ गोल गरेका थिए । त्यस्तै, दुई ब्राजिलियन क्लब भास्को डी गामाबाट २ सय सात गोल तथा फ्लेमेन्गोबाट १ सय १५ गोल गरेका थिए ।

त्यस्तै, विगत डेढ दशकयता विश्व फुटबलमा छुटाउनै नमिल्ने नामका रुपमा आफूलाई उभ्याउन सफल रोनाल्डोले पनि आफ्नो करियरमा बिभिन्न आठ वटा क्लब एन्डोरिन्हा, नासियोनल, स्पोर्टिंग सीपी, म्यानचेस्टर यूनाइटेड, रियल मेड्रिड र युभेन्ट्सबाट खेलेका छन् । हाल साउदी अरेबियाको अल नासरमा आबद्ध उनले सन् २००९ देखि २०१८ सम्म स्पेनिस ला लिगा क्लब रियल मेड्रिडमा बिताउँदा सर्वाधिक ४ सय ५० गोल गरेका थिए । उनले रियलबाट ४ सय ३८ म्याचमा उक्त गोलको आकंडा बनाएका हुन् । त्यसअघि इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर यूनाइटेडबाट २ सय ९२ म्याच खेल्नेक्रममा १ सय १८ गोल आफ्नो नाममा लेखाएका थिए । त्यस्तै, २०१८ को फिफा विश्वकपपछि इटालियन सिरि ए क्लब युभेन्ट्स पुगेका उनले १ सय ३१ म्याच खेल्दा ठ्याक्कै १ सय गोल गरेका थिए ।

त्यस्तै, हालसालै साउदी अरेबियाको क्लब अल हिलालमा अनुबन्धित भएका ब्राजिलियन स्टार नेयमारले पनि यो समेत पाँचवटा क्लब फेरेका छन् । उनले यसअघि पोर्चुगीज सनटिस्टा, सान्तोस, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलेका छन् । जसमध्ये उनलाई ब्राजिलकै सान्तोस क्लब, बार्सिलोना र पीएसजी फापेका छन् । उनले सान्तोसबाट २ सय २५ म्याच खेल्नेक्रममा १ सय ३६ गोल गरेका थिए । त्यस्तै, स्पेनिस फुटबलका महारथी क्लब बार्सिलोनामा सन् २०१३ देखि २०१७ सम्म १ सय ८६ म्याच खेल्नेक्रममा १ सय ५ गोल आफ्नो नाममा लेखाएका थिए । त्यसपछि फ्रेन्च लीग वान क्लब पीएसजी पुगेका उनले त्यहाँ पनि १ सय ४४ म्याचपछि ठ्याक्कै १ सय गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्