हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुबाहक सवारी (ईभी) दुर्घटनामा ५ महिला तथा बालबालिका र ९ जना पुरुषको ज्यान गएको छ । गत बिहीबार बिहान करिब पौने ६ बजे दुर्घटना भयो । दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर गाउँमा ठूलो वज्रपात निम्त्याएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा गुड्ड यादव (२६), गायत्रीदेवी यादव (२४), विकेश यादव (२५), सुधेश यादव (१६), पुनम यादव, अनु यादव (१०), दीक्षा यादव (७), दीपिका यादव (६), राकेश राय (४०), रोहन राय (१४), सुबोध राय (२५), रामदुलार राय (२५), रामप्रवेश राय (२५) र हाइस चालक रविशंकर मण्डल (३०) छन् ।
दुर्घटनाको सबभन्दा पीडादायी पक्ष एउटै परिवारका धेरै सदस्यले एकसाथ ज्यान गुमाउनु हो । अवधेश यादवकी पत्नी पुनम आठ महिनाकी गर्भवती हुनुहुन्थ्यो । उहाँले आफ्ना तीन छोरी अनु, दीक्षा र दीपिकासहित ज्यान गुमाउनुभएको छ ।
गुड्डु यादव र उहाँकी पत्नी गायत्रीदेवी यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । परिवारका सदस्यहरुको एकैपटक निधन भएपछि आफन्तजनमा गहिरो शोक छाएको छ । चाडपर्वको अवसरमा परिवारसँग भेटघाट र खुशी मनाउने सपना बोकेर हिँड्नुभएका उहाँहरु दुर्घटनामा परेपछि सुन्दरपुर गाउँ शोकमा छ ।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव छन् । घाइतेमध्ये मुकेश, सक्षम र २६ वर्षीय राय उपचारपछि डिस्चार्ज भएका छन् । सुजन र १४ महिनाका सुदीपलाई थप उपचारका लागि मेडिसिटी अस्पताल तथा ३१ वर्षीय रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ ।
माइक्रो दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको शव शुक्रबार साँझ हेटौंडा अस्पतालबाट आफन्तले बुझेका हुन् । दुर्घटनालगत्तै मृतकका आफन्तले प्रत्येक परिवारलाई १० लाख क्षतिपूर्ति, प्रभावित परिवारका सदस्यलाई रोजगारी, बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणको व्यवस्था र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका थिए । माग पूरा नभएसम्म शव नबुझ्ने अडानका कारण पोस्टमार्टम र शव हस्तान्तरण प्रक्रिया रोकिएको थियो ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परेको गाडीका चालक दुवैले पर्याप्त विश्राम नपाएको पाइएको छ । राति अबेर काठमाडौं पुगेको गाडीले आवश्यक विश्राम नै नगरी बिहानै यात्रु लिएर फर्किनु, क्षमताभन्दा बढी यात्रु र चालकको थकान दुर्घटनाको प्रमुख कारक रहेको औंल्याइएको छ ।
आश्वासनको पोको
शुक्रबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा दुर्घटना छानबिन समिति संयोजक शेषकान्त पौडेलसँगको छलफलमा पीडितका माग छानबिन प्रतिवेदनमा समेट्ने र कानुनअनुसार प्राप्त हुने राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने सहमति भएको थियो । थप राहतका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आग्रह गर्ने समझदारी बनेपछि आफन्त शव बुझ्न तयार भएका हुन् । आश्वासन र शवको पोको बोकेर भीमफेदी दुर्घटनाका पीडित गाउँ फर्किएका थिए ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समितिले तीव्ररुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पीडित परिवारका माग सम्बोधनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पीडित परिवारका मागलाई सरकारी निकायसम्म पुर्याउन मधेस प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले समन्वय गर्नुभएको थियो ।
सर्लाहीबाट हेटौंडा आउनुभएका उहाँहरुले मृतकका आफन्तसँग रहेर प्रशासन तथा प्रदेश सरकारसँग छलफल गर्नुभएको थियो । छलफलमा मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया, घाइतेको उपचार र हेटौंडाबाट शव गृहजिल्ला पुर्याउने व्यवस्थाबारे कुरा भएको थियो ।
हेटौंडामा रहेका पीडित परिवारका ४५ जनाको खाना तथा बसोबासको व्यवस्था हेटौंडा उपमहानगरपालिकाले मिलाएको थियो । हेटौंडा अस्पतालमा एकपटकमा चारवटामात्र शव राख्न सक्ने क्षमता रहेका कारण दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको थियो ।
जनही १ लाख राहत
मधेस प्रदेस सरकारले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई जनही १ लाख राहत दिने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । दुर्घटनामा घाइते भएकाहरुको उपचार प्रादेशिक अस्पतालमा नि:शुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत सरकारले गरेको छ ।
प्रदेश सरकारले घोषणा गरेको १ लाख राहत मृतक परिवारले माग गरेको १० लाख क्षतिपूर्तिको विकल्प होइन । रोजगारी, बालबालिकाको शिक्षादीक्षा र आश्रित परिवारको दीर्घकालीन व्यवस्थापनका विषयमा पनि ठोस निर्णय भएको छैन । कानुनअनुसार प्राप्त हुने बिमा तथा क्षतिपूर्ति र सरकारले घोषणा गरेको राहत छुट्टाछुट्टै विषय भएको परिवारजनको कथन छ ।
चक्रघट्टा गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई ५० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शुक्रबार पालिकाका सरकारी तथा गैरसरकारी कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयमा १ दिन शोक बिदा घोषणा गरेको थियो ।
यता दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दु:ख व्यक्त गरेको छ । कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका १४ जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
१२ जनाको सामूहिक अन्त्येष्टि
भीमफेदीमा भएको दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । उहाँहरुको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा लगेर दाहसंस्कार गरिएको हो । मृतकहरुको शव सुन्दरपुर लगिएसँगै राति पनि श्रद्धाञ्जलि अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको भीड लागेको थियो । आफन्तजन, स्थानीय, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको थियो । गर्भवती पत्नीसहित ६ जनाको अवधेश यादवले दागबत्ती दिएका थिए । दाहसंस्कारमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखको समेत सहभागिता थियो । दाहसंस्कारमा समेत सुरक्षाकर्मीले सघाएका थिए ।
नयाँ समयतालिका लागू
काठमाडौं–फर्पिङ–कुलेखानी–हेटौंडा सडकखण्डमा सवारी दुर्घटना बढेसँगै उक्त सडकमा राति यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयतालिका लागू गरिएको छ । काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौंडा आउने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ । उक्त रुटमा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछिमात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवं सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने प्रशासनद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।
छैन प्राविधिक नियमन
बागमती प्रदेश सरकारले पर्यटक यातायात (विद्युतीय सवारी) का लागि २०८२ को मापदण्ड जारी गर्दै प्रमुख शहरी क्षेत्रबाट पेट्रोलियम सवारी विस्थापन गर्ने र स्थानीय तहको समन्वयमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना ल्याए पनि सार्वजनिक यात्रुवाहक ईभीको कडा प्राविधिक नियमन गर्न सकेको छैन । स्पष्ट मापदण्ड, आवश्यक पूर्वाधार र नियमनविना ईभी चलाइँदा मानवीय क्षति बढेको दाबी गरिएको छ । मकवानपुरको पहाडी सडकमा विनामापदण्ड यात्रुवाहक ईभी सञ्चालन गर्न नहुने माग उठ्दै आएको छ । सरकारसँग ईभीसम्बन्धी त्यति दक्ष प्राविधिक पनि छैनन् ।








तपाईंको विचार लेख्नुहोस्