काठमाडौं ।
पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेकी छन् ।
बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको हारलाई अस्थायी धक्काको संज्ञा दिँदै कमजोरी सच्याएर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन् ।
उनले विगतमा पनि कम्युनिष्ट आन्दोलनले विभिन्न चुनौती सामना गरेको स्मरण गर्दै अहिलेको परिस्थितिबाट पाठ सिकेर संगठनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन् ।
भण्डारीले आगामी स्थानीय तहलगायत निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरिन् । जनताको विश्वास नै पार्टीको सबैभन्दा ठूलो राजनीतिक पुँजी भएको उल्लेख गर्दै विचार, व्यवहार र कार्यशैली सुधारमार्फत जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, भण्डारीले आफू कुनै पदको मोहका कारण सक्रिय राजनीतिमा फर्किएको नभई एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले राजनीतिमा आएको स्पष्ट पारेकी छन् ।








तपाईंको विचार लेख्नुहोस्