नेपाल टिम इभेन्ट्सको फाइनलमा



काठमाडौं । नेपाल जारी ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१५ मिक्स टिम इभेन्ट्सको फाइनलमा प्रवेश गरेको छ ।

हल्चोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराएको हो । पहिलो पुरुष एकलमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, २१–१० ले पराजित गरे । दोश्रो महिला एकलमा नेपालकी रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१–१६, २१–१५ ले पराजित गर्दै इभेन्ट्स १–१ को बराबरीमा ल्याईन् । तर, तेश्रो पुरुष युगलमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–११ ले पराजित गरेपछि इभेन्ट्समा नेपाल २–१ ले पछि परेको थियो ।

चौथो महिला युगलमा दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१६, २२–२० ले हराएपछि २–२ बराबरीमा पुग्यो । अन्तिम तथा निर्णायक मिक्स युगलतर्फ सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१–१५, २०–२२, २१–१३ ले पराजित गर्दै नेपाललाई फाइनलमा पु¥यायो । नेपालले उपाधीका लागि श्रीलङ्काको सामना गर्ने भएको छ ।

यु १७ मा नेपाल पराजित

तर, यु १७ मिक्स टिम इभेन्ट्समा भने नेपाल पराजित भएको छ । नेपाललाई श्रीलंकाले ३–० ले हराएको हो । यस इभेन्ट्समा श्रीलंका फाइनलमा पुगेको छ । पुरुष एकलमा श्रीलङ्काका थिदासा वेरागोडाले नेपालका कविर के.सी.लाई २१–१७, १५–२१, २३–२१ ले हराए । यस्तै महिला एकलमा रनिथमा लियानागेले रोजी राईलाई २१–५, २१–३ र पुरुष युगलमा हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर के.सी. र अभय महराको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन् । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा प्रतियोगिता आयोजना भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्