नेयमारले पनि विश्वभरि तरंग फैलाए



लन्डन, (एजेन्सी) । नेयमार ६ वर्षअघि बार्सिलोना छाडेर पेरिस सेन्ट जमेर्नमा स्थानान्तर हुँदा सबैभन्दा महँगा खेलाडी बनेका थिए । उनी २ सय मिलियन पाउन्डको कीर्तिमानी रकममा पेरिस पुगेका थिए । अहिले पेरिसबाट साउदी अरेबिया जाँदा पनि उनको नाम विश्व फुटबलभरि चलेको छ । अहिले ३१ वर्ष भएका नेयमार साउदी जानु विश्व फुटबलभरि आश्चर्यको लहर पनि चलेको छ । जस्तै जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदीमा गएको बेला सबै स्तब्ध भएका थिए ।

नेयमारले युरोपेली लिग छाडेपछि विश्वका तीनै सुपरस्टार (अरु दुई जना लियोनल मेसी र रोनाल्डो) युरोपमा देखिने नभएका हुन् । नेयमारका लागि साउदी लिग टोली अल हिलालले १ सय ५० मिलियन युरो (१ सय २९ मिलियन पाउन्ड बराबर) तिरेको बताइएको छ । यो रकम उनले पेरिस सेन्ट जमेर्नसँग दुई वर्षको सम्झौतामा मात्रै पाउनेछन् । यो हिसाबमा पेरिसमा भन्दा साउदीमा उनले ६ गुणा रकम पाउने भएका छन् ।
नेयमारले पेरिस सेन्ट जर्मेनका लागि १ सय ७३ खेल खेलेका थिए । जसमा उनले १३ ट्रफी दिलाउन मद्दत पनि गरेका थिए । तर, ब्राजिली सुपरस्टारले च्याम्पियन्स लिग ट्रफी भने जित्न सकेको थिएनन् । एक पटक २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगेपनि उनले पेरिसलाई उपाधि दिलाउन अक्षम भए ।

दक्षिण अमेरिकी फुटबल विज्ञ टिम भिकेरीले नेयमारको निर्णयप्रति बीबीसीलाई बताए—उनले शीर्ष प्रतियोगिता युरोपियन फुटबल छाडेका छन् । उनले अहिलेको क्षणमा अरु विकल्प भन्दा यही राम्रो लागेको महसुस गरेका होलान् । तर, उनी दुई वर्षपछि फेरि युरोपमा आउन सक्नेछन् ।

२०२१ मा लियोनल मेसी पेरिस सेन्ट जर्मेनमा आएपछि नेयमार र मेसी फेरि एकपटक सँगै खेले । तर, त्यो सिजन नेयमारका लागि निरासजनक भएको थियो । उनले सबै प्रतियोगिता गरी जम्मा १३ गोल गरेका थिए । मेसी र एम्बाप्पेको उपस्थितमा नेयमारको जादु कमजोर देखिँइदै गएको थियो ।

२०२२–२३ मा उनले जम्मा ५ खेल खेले । मार्चसम्म पुग्दा उनको खुट्टाको शल्यक्रिया भएपछि उनी सिजनको बाँकी खेल खेल्न सकेनन् । पेरिस सेन्ट जर्मेनमा उनको अन्तिम खेल फेब्रुवरीमा लिलेविरुद्ध थियो । यहीबाट उनको पेरिसको क्लबसँग चिसो पसेको थियो । उनलाई त्यहाँबाट उम्कनु पर्ने थियो र उनले साउदी अरेबियालाई गन्तव्य थाने । उनको साउदी अरेबियामा निकै माग पनि छ । अरब देशमा उनको १० अंक अंकित जर्सी पनि धमाधम विक्री हुन थालेको पनि जनाएको छ ।

सान्टोसमा नेयमार

नेयमारले सन् २००९ मा ब्राजिलकै चर्चित क्लब सान्टोसबाट १७ वर्षको उमेरमा व्यवसायिक फुटबलमा पाइला चालेका थिए । उनले त्यही उमेरमा सिनियर टोलीबाट ओएस्टेविरुद्ध डेब्यु समेत गरे । उनी दोस्रो हाफमा वैकल्पिकको रुपमा मैदानमा उत्रेका थिए । एक सातापछि उनले सान्टोसका लागि मोगी मिरिमविरुद्ध गोल पनि गरे । उनले यो सिजनमा ४८ खेल खेलेर १४ गोल गरेका थिए ।

ब्राजिलमा नेयमार

नेयमारले सन् २०१० मा ब्राजिली टोलीबाट डेब्यु गरेका थिए । युवा खेलाडी उनले अमेरिकाविरुद्ध मैत्री खेलमा सहभागि जनाए । डेब्यु खेलमै उनले गोल गर्न सफल भए । ब्राजिलका लागि उनले १ सय २४ खेल खेलेर ७७ गोल गरेका छन् । अझै पनि उनी थप गोल गर्ने अवस्थामा छन् ।
नेयमारले सन् २०११ मा सान्टोसलाई कोपा लिबरटाडोरेस उपाधि जिताउन सहयोग गरेका थिए । नेयमारले यसपछि युरोपियन क्लबका लागि कोशिस गरे । उनी बार्सिलोनामा आबद्ध भए । लियोनल मेसी र लुइस स्वारेजसँगै एट्याकिङमा उनी पनि परे । तीनै जना स्पेनी ला लिगामा एमएसएन को छोटो नामले पनि प्रख्यात भए । यही समयमा उनले ब्राजिललाई फिफा कन्फेडेरेसन्स कप जिताउन पनि सहयोग गरे । उनी प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि बने ।

मुटु छियाछिया भएको विश्वकप

सन् २०१४ को विश्वकप ब्राजिलमा भएको थियो । ब्राजिल टोली उपाधिको दावेदारीमा थियो । टोली जित्दै पनि गयो र सेमिफाइनलमा पुग्यो । यहाँसम्म आइपुग्दा सारा ब्राजिलले सोचिसके कि ट्रफी जित्नेछ । तर, यस्तो भएन । उनीहरुका लागि यो क्षण भयानक दुःस्वप्न बन्यो । क्वार्टरफाइनलमा नेयमारलाई कोलम्बियाका खेलाडी हुआन जुनिगाले डरलाग्दो फाउल गरेर प्रतियोगिताबाटै बाहिर बस्न बाध्य तुल्याउनु नै ब्राजिलको लागि कठिन क्षण बन्न पुगेको थियो ।

सेमिफाइनलमा प्रतिद्वन्द्वी टोली जर्मनी थियो । जर्मनीसँग ब्राजिल ७–१ गोलअन्तरले पराजित भएको थियो । यो क्षणले सारा ब्राजिलबासी र पहेँलो जर्सीका विश्वभरिका समर्थकलाई समेत रुवायो । यसले सबैको मुटु छिया छिया पारिदिएको थियो । भन्नै पर्दा ब्राजिलले निकै लज्जाजनक नतिजा बेहोरेको थियो । उता, जर्मनहरु भने हरेक गोलमा युद्ध जिते झै खुशी मनाइरहेका थिए ।

नेयमारको सुनौलो क्षण

जर्मनीसँग पराजित भएको दुई वर्षपछि ब्राजिलमै ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना भएको थियो । यसपटक भने ब्राजिलले सारा जनतालाई खुशीको लहर चलाइदियो । यतिबेला रियोमा भएको ओलम्पिक फुटबलको फाइनल खेलमा ब्राजिलले जर्मनीलाई हराएको थियो । नेयमारले पेनाल्टी शूटआउटमा विजयी गोल गरेका थिए । यसपछि नेयमार र टोलीले स्वर्ण पदक जित्न सफल भयो । नेयमारले बताए कि यो बिर्सनै नसक्ने सुनौलो क्षण थियो ।

पेरिसको यात्रा

नेयमारले १ सय ८६ खेलबाट १ सय ५ गोल गरिसकेपछि बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने बताए । यो उनको निर्णयको हेडलाइन विश्वभरिका संचारमाध्यममा मुख्य समाचारको रुपमा फैलिएको थियो । किनभने उनले २०१७ मा पेरिस टोलीसँग आबद्ध हुँदा विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डको रकम थियो । यही रकमले गर्दा उनलाई विश्वकै महँगा खेलाडी पनि सावित ग¥यो ।

पेरिसमा उनका साथमा एट्याकिङमा किलियन एम्बाप्पे र एडिसन काभानी थिए । यी तीनै जनाको एट्याकिङले गर्दा पेरिसको शानै अर्को भएको थियो । २०१७ मा पेरिसले लिग वान, फ्रेन्च कप र लिग कप गरी तेहेरो उपाधि जितेको थियो । यसमा नेयमारले ३० खेल खेलेर २८ गोल गरेका थिए । तर, यसपछि भने उनको खुट्टाको चोटले गर्दा उनको खेल नियमित हुन सकेको थिएन ।

२०१९–२० को सिजनमा पेरिस सेन्ट जर्मेनबाट नेयमार बार्सिलोनामा फर्कने खबर आएको थियो । यो त्यतिबेला हल्ला भनेपनि अहिले यो साँचो खबर भएको पुष्टि भयो । उनलाई क्लबले नछाडेको र उनको मूल्य चर्को भनेपछि बार्सिलोना सम्झौताबाट पछि हटेको थियो । तर, उनले टोलीलाई पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पु¥याए । फाइनलमा भने बायर्न म्युनिखसँग १–० ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्