दोहोरो अंकले बढेर शेयर बजारद्वारा आर्थिक वर्षको बिदाइ



काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन १२ दशमलव १६ अंकले बढेर २ हजार ९७ दशमलव शून्य ९ को बिन्दुमा पुगेको छ ।

यस दिन कूल ७१ लाख ८४ हजार कित्ता शेयर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपियाँमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू १९ करोड १३ लाख ११ हजार रुपियाँको कारोबार भएको छ ।

कारोबार भएका १३ समूहमध्ये पाँच समूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढेको छ । नेप्सेका अनुसार यस दिन सन्राइज फोकस्ड इक्विटी फण्ड १०, एनआइविएल नौ दशमलव ९२, सानिमा ग्रोथ फण्ड नौ दशमलब ९०, सिटिजन म्युचुअल फण्ड नौ दशमलव ८३ र माछापुच्छ्रे« बैंकको ऋणपत्रका लगानीकर्ताले नौ दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै, लिवर्टी इनर्जी पाँच दशमलव ९६, मकर जितुमाया सुरी हाइड्रोपावर पाँच दशमलव ८३, मञ्जुश्री फाइनान्स तीन दशमलव ९४, हिमालयन हाइड्रोपावर तीन दशमलव ८६ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले तीन दशमलव ७१ प्रतिशतले गुमाएका छन् ।

यसैबीच सिटिजन्स लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपियाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आईपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्