नर्सिङ, एचए र फार्मेसीको शुल्क बढ्यो, कसको कति ?



काठमाडौँ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले मेडिकलतर्फ नर्सिङ, एचए (सामान्य चिकित्सा) र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ ।नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको छ भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो । सीटीईभीटीले शुल्क समायोजन गरिएको भन्दै सूचना प्रकाशित गरेर नयाँ शुल्क सार्वजनिक गरेको छ ।

जसमा नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।

त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको छ । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ । यसअघि ३ लाख ३७ हजार शुल्क थियो ।

निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१/२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीले जनाएको छ । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५/२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

सीटीईभीटीले २०७८ पुस ६ गतेको शिक्षामन्त्रीस्तरीय निर्णयको आधारमा शुल्क वृद्धि गरेको जनाएको छ । शैक्षिकसत्र २०८०/०८१ मा नयाँ भर्ना हुने विद्यार्थीलाई वृद्धि भएको शुल्क लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्