वीरगन्ज।
सङ्घीय राजधानी काठमाडौँलाई तराई–मधेशसँग जोड्ने छोटो वैकल्पिक मार्ग मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला रोकिएको छैन। यही क्रममा बिहीबार बिहान भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहान करिब ८ः३० बजे भैँसेको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो। दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी हेटौँडा अस्पताल पु¥याएका थिए। उपचारका क्रममा चिकित्सकले दुई महिला र एक पुरुष गरी तीन जनालाई मृत घोषणा गरेका हुन् भने बाँकी सात जनाको हेटौँडा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिहीबारको यो घटनाले भीमफेदी सडकखण्ड पछिल्लो एक दशकयता कसरी ’मृत्युमार्ग’ मा परिणत भएको छ भन्ने तितो यथार्थलाई पुनः सतहमा ल्याइदिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको पछिल्लो एक दशकको अभिलेखअनुसार जिल्लाभर सवारी दुर्घटनामा परी ५७८ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्, जसमा भीमफेदी र आसपासका पहाडी क्षेत्रको हिस्सा अत्यधिक छ। साँघुरो सडक, अत्यधिक घुम्ती, तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण यस खण्डमा हरेक वर्ष ठूला दुर्घटना दोहोरिने गरेका छन्।
यस सडकखण्डको प्रयोग गर्ने अधिकांश यात्रु मधेश प्रदेशका आठवटै जिल्ला (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी) का बासिन्दा हुन्। काठमाडौँबाट मधेशका जिल्लाहरूमा आवतजावत गर्न पृथ्वी राजमार्ग वा बीपी राजमार्गभन्दा यो बाटो निकै छोटो र कम खर्चिलो पर्ने भएकाले टाटा सुमो र विद्युतीय (ईभी) माइक्रोबसहरू यही मार्गबाट बाक्लो रूपमा गुड्ने गर्छन्।
दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा भीमफेदी क्षेत्रको जुरीखेत, चिसापानी गढी, गोलपिङ र भैँसे आसपासमा भएका ठूला दुर्घटनामा ज्यान गुमाउनेमध्ये करिब ७० प्रतिशतभन्दा बढी नागरिक मधेश प्रदेशकै रहेको प्रहरी तथा प्रशासनको विवरणले देखाउँछ। विशेषगरी चाडपर्व, रोजगारी, शिक्षा र उपचारका लागि काठमाडौँ आउने–जाने मधेशका सर्वसाधारण यी दुर्घटनाको प्रत्यक्ष शिकार बनिरहेका छन्।
एक साताअघि मात्रै कात्तिक २६ गते बिहीबार भीमफेदी–६ चिसापानी गढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी करिब ७०० मिटर तल खस्दा एउटै परिवारका सदस्यसहित १४ जनाको ज्यान गएको थियो। त्यसपछि प्रशासनले मङ्सिर १ गतेदेखि यस खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाए पनि दिउँसै दुर्घटना हुने क्रम रोकिएको छैन। विगत दस वर्षमा साना सवारी भिरबाट खस्दा हरेक वर्ष औसतमा ३० देखि ५० जनासम्मले यही खण्डमा अकालमा ज्यान गुमाउने गरेका छन्।
सडक सुरक्षा विज्ञ र स्थानीय प्रशासनका अनुसार अत्यन्तै ठाडो उकालो–ओरालो, साँघुरा ’हेयरपिन’ घुम्ती र सडक किनारमा बलियो सुरक्षा बार (क्र्यास ब्यारियर) नहुनु दुर्घटनाका प्रमुख भौतिक कारण हुन्। यसका साथै सिट क्षमताभन्दा बढी यात्रु कोचेर यात्रा गराउनु, पहाडी बाटोको अनुभव नभएका चालकले तीव्र गतिमा सवारी चलाउनु र सवारीको प्राविधिक परीक्षण नहुनुले जोखिम झनै बढाएको छ। बारम्बार आफन्त गुमाएपछि मधेशका नागरिक तथा जनप्रतिनिधिहरूले यस सडकखण्डको तत्काल स्तरोन्नति र ट्राफिक नियमको कडाइका साथ पालना गराउन सरकारसँग माग गर्दै आएका छन्।








तपाईंको विचार लेख्नुहोस्