खोटाङका जिसस प्रमुखसहित ८ जनप्रतिनिधिको पद रिक्त, एक वडा जनप्रतिनिधिविहीन


खोटाङ। 

 खोटाङका जिल्ला समन्वय समिति प्रमुख, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षसहित ८ जनप्रतिनिधिको पद रिक्त भएको भएको छ । निर्वाचन आयोगले मंसिर ३ गते प्रकाशित गरेको सूचनाअनुसार पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै  जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईसहित जनप्रतिनिधिको पद रिक्त भएको हो ।

जसपा नेपालको केन्द्रीय समन्वय समितिबाट प्राप्त निर्णयका आधारमा आयोगले मंसिर २ गते पद रिक्त गर्ने निर्णय गरे गरेसँगै जिसस प्रमुख राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राईको पद रिक्त भएको हो । यस्तै, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राईको पदसमेत रिक्त भएको छ । त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य वीरेन्द्र  दर्नालको पद पनि रिक्त भएको निर्वाचन आयोगको सूचनामा उल्लेख छ । जिसस प्रमुख राई हाल नेपाली कम्युनिस्ट पार्टीमा हुनुहुन्छ । गाउँपालिका उपाध्यक्ष राई र वडाध्यक्ष राई श्रम संस्कृति पार्टीमा प्रवेश गरिसक्नुभएको छ ।

नगर कार्यपालिका सदस्य दर्नाल अशोक राई नेतृत्वको समाजवार्दी पाटीमा, शहरमनी, कल्पना र गीता तत्कालीन नेकपा माओवादी केन्द्रवाट निर्वाचित हुनुभएको हो । तर, वडामा चुनावी तालमेल गर्दा तत्कालीन छाता चुनाव चिन्हवाट प्रतिस्पर्धा गरेका कारण  हाल सो पद गुमाउनुपरेको हो । यस्तै, तत्कालीन एकीकृत समाजवादी पार्टीका रामधन जनता समाजवादीका छाता चुनाव चिन्हवाटै चुनाव लडेका कारण अहिले पद गुमाउनुपरेको हो ।  

आयोगको निर्णयसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहिन बनेको छ । वडाध्यक्षसहित वडाका पाँचै जना निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि वडा जनप्रतिनिधिविहिन बनेको हो । यसले वडाको स्थानीय सरकार सञ्चालन तथा सेवा प्रवाहमा प्रभाव पर्ने देखिएको छ ।

जनप्रतिनिधि नभएको र उपनिर्वाचन गर्ने सम्भावना नभएको विशिष्ट अवस्थामा कर्मचारीबाटै वडाका सम्पूर्ण कामकाज सञ्चालन गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जनाउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।