काठमाडौं।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
प्याब्सनका महासचिव आरबी कटवाल र अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा बिहीबार (मंसिर ३ गते) जारी विज्ञप्तिमार्फत आलोचना गर्ने अधिकार लोकतन्त्रको आधार भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा उचित ठहर गर्न नसकिने स्पष्ट परिएको हो।
विज्ञप्तिमा नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना तथा दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौँदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ। राज्यको सीमित स्रोतसाधनका बीच निजी क्षेत्रले आफ्नै पुँजी, श्रम, जोखिम र जिम्मेवारी वहन गर्दै शिक्षा क्षेत्रमा लगानी गरेको भन्दै समग्र निजी विद्यालय क्षेत्रलाई पूर्वाग्रहपूर्ण टिप्पणीका आधारमा अवमूल्यन गर्नु न्यायोचित नहुने प्याब्सनको भनाइ छ।
प्याब्सनले विद्यालय सञ्चालकहरू शिक्षक तथा कर्मचारीका पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा थप जिम्मेवार, पारदर्शी तथा जवाफदेही हुनुपर्ने स्वीकार गरेको छ।
त्यस्ता विषयमा जायज गुनासाहरू भए निष्पक्ष रूपमा सम्बोधन गर्ने, कानुनको पालना गर्ने र आवश्यक सुधार अघि बढाउने दायित्व विद्यालयहरूको पनि भएको विज्ञप्तिमा उल्लेख छ। तर सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुपर्नेमा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाइनु समस्या समाधानको उचित बाटो नभएको प्याब्सनले जनाएको छ।
विशेषगरी शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले आफ्ना अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादा कायम गर्नुपर्नेमा प्याब्सनले जोड दिएको छ।
कुनै विद्यालय वा संस्थामा समस्या तथा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति र संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्ने चेतावनीसमेत प्याब्सनले दिएको छ।
प्याब्सनले संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासलाई प्राथमिकता दिने स्पष्ट पार्दै निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक विषय भएको जनाएको छ।
‘आलोचना तथ्यमा आधारित होस्, अभिव्यक्ति मर्यादित होस् र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित रहोस्’ भन्ने आग्रहसहित प्याब्सनले समग्र शिक्षा क्षेत्रको गरिमा, विश्वसनीयता र सम्मान कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ।

।








तपाईंको विचार लेख्नुहोस्